मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७८ श्रावण १३ बुधबार १०:३३:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकारको लगानीमा चलेका त्रिविका आंगिक क्याम्पसमा ‘प्राइभेट’ कार्यक्रम : आकर्षक विषय विपन्न विद्यार्थीको पहुँचबाहिर

Read Time : > 5 मिनेट
२०७८ श्रावण १३ बुधबार १०:३३:००

एउटै क्याम्पसमा एउटै तहको एउटा कार्यक्रमको चार वर्षको ४० हजार, अर्को कार्यक्रमको चार लाख शुल्क

त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेका ‘अप्लाइड’ कोर्समा विद्यार्थीको आकर्षण छ, तर आंगिक क्याम्पसमै विपन्न विद्यार्थी यस्ता कोर्सको पहुँचबाहिर छन् । त्रिविको भौतिक पूर्वाधार र अधिकांश त्यहीँकै जनशक्तिमा चलेका कार्यक्रम पनि महँगा हुँदा विपन्न विद्यार्थी ती कोर्स अध्ययनबाट वञ्चित छन् । 

लक्ष्मण कुँवर : क्याम्पसप्रमुख पाटन संयुक्त क्याम्पस

आन्तरिक र नियमित स्रोतका दुईथरी विद्यार्थी जन्मिएका छन् । सरकारीमा एकै किसिमको व्यवस्था हुनुपर्छ । आन्तरिक स्रोतमा चलेका कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्छ । अहिलेको व्यवस्थाले दीर्घकालीन रूपमा विभेद सिर्जना हुन्छ । 

सरकारको अनुदानबाट सञ्चालन भइरहेको त्रिविले आफ्नै आंगिक क्याम्पसमा विभेद जन्माएको छ । एकातिर आंगिक क्याम्पसमा विपन्नको पहुँच छैन, अर्कोतर्फ उस्तै प्रकृतिका कार्यक्रममा एउटै क्याम्पसभित्रसमेत विभेद छ । विपन्न भएका कारण रोजेको विषय अध्ययनबाट वञ्चित भएका विद्यार्थी अध्ययनपछि रोजगारी वा स्वरोजगारीमा असर पर्ने र त्यसले जीवन शैलीसमेत प्रभावित भइरहेको छ । 

त्रिविका मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतको बिसिए, व्यवस्थापन संकायका बिबिए, बिबिएम, बिआइटी, बिआइएम, बिएचएमलगायत सेमेस्टर प्रणालीमा सञ्चालित यी ‘प्राइभेट’ कार्यक्रम हुन् । आंगिक क्याम्पसमा यी कार्यक्रमका लागि विद्यार्थीले साढे तीन लाखको हाराहारीमा शुल्क बुझाउनुपर्छ । जब कि त्रिविका आंगिक क्याम्पसमै चारवर्षे व्यवस्थापनको बिबिएस र मानविकी तथा सामाजिकशास्त्र संकायका नियमित कार्यक्रम ४० हजार शुल्क तिरेर पढ्न सकिन्छ । 
कार्यक्रम राम्रा भए पनि त्रिविको यस्तो प्रणालीले दुईथरी विद्यार्थी जन्माएको छ । पाटन संयुक्त क्याम्पसका क्याम्पसप्रमुख लक्ष्मण कुँवरले अहिलेको व्यवस्थाले दीर्घकालीन रूपमा विभेद सिर्जना हुने बताए । ‘आन्तरिक र नियमित स्रोतका दुईथरी विद्यार्थी जन्मिएका छन्,’ उनले भने, ‘सरकारीमा एकै किसिमको व्यवस्था हुनुपर्छ, आन्तरिक स्रोतमा चलेका कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्छ ।’

पब्लिक युथ क्याम्पसका क्याम्पसप्रमुख बलराम थापाले एउटै विश्वविद्यालयमा एउटै तहमा सेमेस्टर तथा वार्षिक प्रणाली कार्यक्रम हुने र धनी तथा गरिबले पढ्ने कार्यक्रम छुट्टिनु राम्रो नभएको बताए । ‘एउटै युनिभर्सिटीले एउटै तहमा, एउटै संकायमा एउटा सेमेस्टर र अर्को वार्षिक प्रणाली गर्नु राम्रो होइन,’ क्याम्पसप्रमुख थापाले भने, ‘विपन्न परिवारका जसलाई राम्रो शिक्षा चाहिएको छ, उसले शुल्कका कारण अप्लाइड कोर्स पढ्न सकेको छैन, पैसा नहुनेले वार्षिक प्रणालीको कोर्स पढ्नुपर्छ भन्ने हुनुहुँदैन ।’ 

बलराम थापा :  क्याम्पसप्रमुख पब्लिक युथ क्याम्पस

एउटै युनिभर्सिटीले एउटै तह र संकायमा एउटा सेमेस्टर र अर्को वार्षिक प्रणाली गर्नु राम्रो होइन । विपन्न परिवारका जसलाई राम्रो शिक्षा चाहिएको छ, उसले शुल्कका कारण अप्लाइड कोर्स पढ्न सकेको छैन, पैसा नहुनेले वार्षिक प्रणालीको कोर्स पढ्नुपर्छ भन्ने हुनुहुँदैन । 

स्नातक तहमा सबैभन्दा बढी व्यवस्थापन संकायको बिबिएसमा अध्ययनरत छन् । सेमेस्टरमा सीमित कोटा र चर्को शुल्कलगायतका कारण अधिकांश विद्यार्थीको बाध्यताले बिबिएस नै रोजाइमा परेको छ । सेमेस्टरमा ३३ जना एउटा सेक्सनमा राख्ने व्यवस्था छ । एउटा क्याम्पसलाई तीन सेक्सनसम्म सञ्चालन गर्न स्वीकृति दिइएको छ । 

बिसिए वा बिबिए एउटा कार्यक्रम तीन सेक्सनसम्म सञ्चालनको स्वीकृति पाएको क्याम्पसले एउटा ब्याचका विद्यार्थीबाट करिब साढे तीन करोड रुपैयाँ असुल गर्दछ । कतिपय एउटै क्याम्पसमा बिसिए, बिबिए, बिटिटिएम, बिएस्सी सिएसआइटीलगायतका कार्यक्रम सञ्चालनको स्वीकृति पाएका छन् । यस्ता क्याम्पसमा शिक्षकले समेत राम्रो आम्दानी गरिरहेका छन् । 

क्याम्पस स्रोतका अनुसार विद्यार्थीबाट असुलेको शुल्कबाट त्रिवि केन्द्रलाई १० प्रतिशत, शिक्षक तलब तथा अतिरिक्त कामका लागि भुक्तानी, भौतिक पूर्वाधारलगायतमा करिब ४० देखि ५० प्रतिशत लगानी हुने गर्दछ । नाफाको रकम कतिपय क्याम्पसले मनलाग्दी खर्च गरेका छन् भने केहीले खातामा राखेका छन् । चर्को शुल्क असुलेर क्याम्पसमा शिक्षक, कोअर्डिनेटर र प्रशासनले आर्थिक लाभ लिइरहेका छन् । तर, पाटन संयुक्त क्याम्पसका क्याम्पसप्रमुख कुँवरले त्रिविले आर्थिक र जनशक्ति लगानी नगरेका विषयमा आंगिक क्याम्पसमै पनि शुल्क महँगो भएको बताए । 

आंगिक क्याम्पसमा प्राइभेटका नाममा विद्यार्थी शोषण भएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले बताए । ‘अप्लाइड विषयमा प्राइभेटका नाममा चर्को शुल्क असुलिएको छ । आंगिक क्याम्पसमा प्राइभेटका नाममा विद्यार्थी शोषण बन्द गर्नुपर्छ, विपन्नले पनि पढ्न पाउनुपर्छ,’ अध्यक्ष महरले भने, ‘आंगिकमा प्राइभेट तत्काल खारेज गरेर सबैले अरू विषयसरह पढ्न पाउने बनाउनुपर्छ । हामीले यस विषयमा त्रिविका पदाधिकारीको ध्यानाकर्षण पनि गराएका छौँ । अब दबाब दिएर कार्यान्वयन गराउँछौँ ।’ 

प्राइभेट कार्यक्रमका नाममा सञ्चालित विषयलाई नियमित बनाउन सकेमा सबैका लागि सहज हुने सरोकारवालाको भनाइ छ । पब्लिक युथ क्याम्पसका क्याम्पसप्रमुख बलराम थापाले विपन्न विद्यार्थीले सेमेस्टर प्रणाली र अप्लाइड कोर्स पढ्न चाहे पनि धेरै रकम तिरेर पढ्न कठिन भएको गुनासो आउने गरेको बताए । उनले भने, ‘बिबिए, बिआइएम, बिबिएम बिएचएमजस्ता सेमेस्टर कार्यक्रमलाई नियमित बनाउन सकेमा विपन्नका लागि अध्ययनमा सहज हुनेछ ।’

बिबिए, बिसिएलगायतका कार्यक्रमलाई सुरुदेखि नै ‘सेल्फ सस्टेन’ भनेर स्वीकृति दिइएकाले आंगिक क्याम्पसमा पनि बढी महँगो परेको त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले बताए । ‘नयाँ कार्यक्रममा दरबन्दी थपेर सबैले पढ्न सक्ने बनाउन सकिन्थ्यो, तर सरकारले थप अनुदान माग्दा दिँदैन । नयाँ कार्यक्रमबाट क्याम्पस पनि आर्थिक पक्षमा सबल भएका छन्,’ उपकुलपति बाँस्कोटाले भने, ‘हाम्रा स्थायी शिक्षकले पनि पढाएका छन् । शिक्षकले नियमित कार्यक्रममा ‘वर्क लोड’ पूरा गरेर नयाँ कार्यक्रम पढाएका छन् कि छैनन् भन्ने अनुगमन गर्नुपर्नेछ ।’ एकातिर ‘वर्क लोड’ नहुने र अर्कोतिर पढाएर छुट्टै रकम लिन नमिल्ने उनले बताए । 

डा. धर्मकान्त बाँस्कोटा  : उपकुलपति, त्रिवि

विपन्नले आंगिकमा रोजेको विषय पढ्न पाएनन् भन्ने विषयले हामीलाई पनि छोएको छ । परम्परागत कोर्सलाई परिमार्जन गर्दै धेरै माग भएका नयाँ विषयलाई प्राथमिकता दिनुपर्छ । पुराना कोर्सको स्रोत राज्य हो, नयाँ कोर्सका लागि आम्दानीका स्रोत विद्यार्थी हुन् । बिस्तारै सबैले पढ्न सक्ने बनाउँछौँ । त्यसका लागि त्रिविले स्रोत जुटाउनुपर्छ ।

एमफिल, पिएचडीमा ‘फेलोसिप’मा पढाउन सुझाब
त्रिविले एमफिल तथा पिएचडी कार्यक्रममा पनि चर्को शुल्क असुलेको छ । विदेशका विश्वविद्यालयमा प्रायः ‘फेलोसिप’ उपलब्ध गराएर एमफिल र पिएचडी गराउने चलन भए पनि नेपालमा चर्को शुल्क र एकैपटक धेरै मागेको भन्दै विद्यार्थी विरोधमा समेत उत्रिएका थिए । 

त्रिविको मानविकी तथा सामाजिक संकायमा एमफिलका लागि एक लाख ७० हजारभन्दा बढी शुल्क लाग्छ । यो वर्ष डिन कार्यालयले शुल्क वृद्धि गरेको हो । यसअघि एक लाख ३५ हजारको हाराहारीमा शुल्क कायम गरेको थियो । एमफिलमा भर्ना भएका विद्यार्थी पिएचडीसम्म अध्ययन गर्न पाउने व्यवस्था छ । पिएचडी गर्न नचाहनेले एमफिलको सर्टिफिकेट मात्रै लिन सक्छन् । मानविकी तथा सामाजिकशास्त्र संकायकी डिन प्रा.डा. कुसुम शाक्यले एमफिल, पिएचडीको शुल्क सबै संकायको लगभग उस्तै रहेको बताइन् । 

एमफिल, पिएचडीमा शुल्कको विषयमा मानविकीका डिन र केन्द्रीय विभाग प्रमुखहरूबीचमा समेत छलफल भएको थियो । केही विभागीय प्रमुखहरूले विदेशी विश्वविद्यालयमा एमफिल र पिएचडीमा फेलोसिप दिएर भर्ना गर्ने प्रचलन भएकाले त्रिविले पनि गरिब तथा जेहेनदारलाई यस्तो अवसर दिएर पढाउनुपर्ने धारणा राखेका थिए । विद्यार्थीबाट शुल्क उठाएर सञ्चालन भएको काठमाडौं विश्वविद्यालयले समेत मास्टर्स, एमफिल र पिएचडीमा रिसर्च फेलोसिप दिन थालेको छ, तर सरकारको अनुदानबाट चलेको त्रिविले भने चर्को शुल्क लिने गरेको छ । एमफिल र पिएचडीलाई त्रिविको नियमित कार्यक्रमको रूपमा सञ्चालन गर्न विद्यार्थीको माग छ । अहिले यी कार्यक्रम आन्तरिक कार्यक्रमका रूपमा विद्यार्थीबाट शुल्क उठाएर सञ्चालन भएका छन् । 

काठमाडौं विश्वविद्यालय (केयू)ले एक सय पचास विद्यार्थीलाई अनुसन्धान गर्न ‘फेलोसिप’ दिने कार्यक्रम सुरु गरेको छ । अनुसन्धानको दायरा फरक बनाउन केयूले एक प्राध्यापक तथा सहप्राध्यापकले मास्टर्स, एमफिल, पिएचडीका कार्यक्रममा एक विद्यार्थीलाई निःशुल्क अनुसन्धान गराउनुपर्ने व्यवस्था गरेको हो । 

काठमाडौं विश्वविद्यालयमा मास्टर्स, एमफिल र पिएचडीमा अनुसन्धान गर्न भर्ना भएकाले फेलोसिप प्राप्त गर्न सक्नेछन् । यसरी प्राध्यापकबाट छनोटमा परेका ‘रिसर्च फेलो’ले केयूले मास्टर्सदेखि पिएचडीसम्मको निर्धारण गरेको शुल्क तिर्नुपर्ने छैन । केयूमा सबैभन्दा कम एमएसबाई रिसर्चमा तीन लाख ९५ हजार र सबैभन्दा महँगो पिएचडी बायोटेकमा सात लाख ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । फेलोसिप पाउनेहरूका लागि त्यो निःशुल्क हुनेछ ।

विद्यार्थीको पोसाक नै फरक, विद्यार्थीमाथि मनोवैज्ञानिक असर

सरकारी क्याम्पसमा ‘अप्लाइड कोर्स’ विपन्नले पढ्न नपाउने अवस्था मात्र होइन, मूल्यांकनदेखि पोसाकसम्ममा विभेद छ । शंकरदेव, पाटन संयुक्तलगायतका क्याम्पसमा बिबिए र बिबिएस अध्ययन गर्ने विद्यार्थीबीच पोसाक फरक छ । पोसाकले समेत मनोविज्ञानलाई असर गर्ने विद्यार्थी बताउँछन् । पोसाक हेरेर सस्तो वा महँगो विद्यार्थीले कुन कोर्स पढेकोसमेत क्याम्पस परिसरमै थाहा हुने गरेको एक शिक्षकले बताए । शंकरदेवलगायतका क्याम्पसमा प्राइभेट कार्यक्रम अध्ययन गर्ने विद्यार्थी निश्चित पोसाकमा आउँछन् भने साधारण विषय पढ्नेलाई पोसाकको व्यवस्था छैन । 

‘प्राइभेट’ र नियमित कार्यक्रमको शुल्कमा कति फरक छ ? 

त्रिविको सम्बन्धनप्राप्त क्याम्पस जया मल्टिपल कलेजमा बिसिएको शुल्क चार लाख निर्धारण गरिएको छ । कलेजबाट छुट पाउँदा प्रायः सबै विद्यार्थीले साढे तीन लाखमा अध्ययन गरिरहेका छन् । उता त्रिविको आंगिक पाटन संयुक्त क्याम्पसमा पनि बिसिएका लागि तीन लाख ४० हजार रुपैयाँ शुल्क लाग्छ । पाटन संयुक्त क्याम्पस होस् वा रत्नराज्य लक्ष्मी वा पद्मकन्यामा बिसिएको शुल्क साढे तीन लाखको हाराहारीमै रहेको छ । विज्ञान संकायको बिएस्सी र बिएस्सी–सिएसआइटीमा समेत यस्तै विभेद छ । व्यवस्थापन संकायको स्नातक तहमा धेरै कार्यक्रम सञ्चालन भइरहेका छन् । सबैभन्दा बढी विद्यार्थी बिबिएसमा अध्ययन गरेका छन् । अन्य कार्यक्रम सेमेस्टरमा सञ्चालन रहेको र महँगो भएका कारण बिबिएस नै अध्ययन गर्न बाध्य छन् । आंगिक क्याम्पसमा केही विद्यार्थीलाई निजी कलेजमा जस्तै छात्रवृत्ति दिने व्यवस्था छ ।