१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १३ बुधबार ०७:४६:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

फेरि भेटियो डेल्टा प्लस : कोरोना संक्रमण दर २२ प्रतिशतकै वरिपरि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १३ बुधबार ०७:४६:००

नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन भएका संक्रमित फेरि फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार परीक्षण गरिएका ४७ वटा नमुनामध्ये तीनजनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो । उत्परिवर्तन भएको यो भेरियन्टलाई ‘डेल्टा प्लस’ भनिएको छ, जुन यसअघि पनि भेटिएको थियो ।

मन्त्रालयले गत जेठमध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागका फरक–फरक उमेर समूहका ४७ वटा नमुना संकलन गरेर विश्व स्वास्थ्य संगठनको सहयोग र समन्वयमा नयाँदिल्लीस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङ गरेको थियो । तीमध्ये सबैमा ‘डेल्टा भेरियन्ट’ भेटिएको र तीनवटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको मन्त्रालयले जनाएको छ, जसलाई एवाई वान (A.Y1) नाम दिइएको छ । 

यीसहित नेपालमा अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) भेरियन्ट तथा ‘भेरियन्ट अफ इन्ट्रेस्ट’का रूपमा कप्पा भेरियन्ट (B.1.617.1) पुष्टि भएको मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि पनि नेपालमा ४८ वटा नमुना परीक्षण गर्दा नौवटामा ‘डेल्टा प्लस’ पुष्टि भएको थियो । 

‘यी भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ । त्यसैले संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डको पालना गर्न, गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न स्वास्थ्य मन्त्रालय सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

हालसम्म यो म्युटेसन नेपालसहित भारत, रसिया, अमेरिका, बेलायत, जापान, पोल्यान्ड, पोर्चुगल, स्विट्जरल्यान्ड र क्यानडामा देखिएको छ । अधिकारीहरूका अनुसार डेल्टा भेरियन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ भने अल्फा भेरियन्ट एक सय ६४ देशमा देखिएको छ । 

कोरोनाको संक्रमण अझै घट्न सकेको छैन । दोस्रो छालको उच्च बिन्दु ५०.५ प्रतिशत पुगेर घट्न थालेको संक्रमण दर एक महिनादेखि २०–२२ प्रतिशतको वरिपरि छ । स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो छालमा दैनिक १६ प्रतिशतसम्म संक्रमण दर पुगेको थियो । १० साउनमा दैनिक संक्रमण दर १६ प्रतिशतमा थियो । तर, फेरि मंगलबार २२ प्रतिशत पुगेको छ । 

मन्त्रालयका अनुसार मंगलबार पनि परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १७ हजार पाँच सय १८ जनाको नमुना परीक्षण गर्दा तीन हजार आठ ९९ जनामा संक्रमण पुष्टि भएको हो । यसबीचमा २० जनाको मृत्यु भएको छ ।

५० भन्दा बढी संक्रमित पुष्टि भएका जिल्ला

- काठमाडौंमा ४७५
- कास्कीमा २७८
- झापामा २६१
- मोरङमा २४९
- चितवन १९३
- सुनसरी १८९
- ललितपुर १६७
- भक्तपुर १३२
- मकवानपुरमा ७९
- नवलपरासी पूर्व ६६
- दोलखा ५५
सबैभन्दा धेरै २१–३० वर्ष उमेर समूहका ७३८ र ३१–४० वर्ष उमेर समूहका ६४३ जनामा संक्रमण