२०७५ पौष ५ बिहीबार १०:०१:००
तेजराज भट्ट

सिमानाको पूरै  बस्ती लालपुर्जाविहीन

भारतसँग सीमा जोडिएको कैलालीको कैलारी गाउँपालिका–३, शिवरत्नपुर गाउँवासी कसैसँग पनि आफू बसेको जमिनको लालपुर्जा छैन । करिब चार दशक पुरानो यो बस्तीका कुनै पनि बासिन्दाले हालसम्म लालपुर्जा पाएका छैनन् ।

नेपाल–भारत सीमाक्षेत्रमा बग्ने मोहना नदीपारि पर्ने शिवरत्नपुरमा थारू समुदायका ७६ परिवारको बसोवास छ । जग्गाको लालपुर्जा नभएपछि स्थानीय सरकारी सेवाबाट वञ्चित छन् । उनीहरूले जग्गा धितो राखेर बैंकिङ कारोबार पनि गर्न पाएका छैनन् । 

गाउँमा विद्यालय मात्रै

एउटा आधारभूत विद्यालयबाहेक गाउँमा कुनै पनि सरकारी निकाय छैन । ०४२ मा स्थापित विश्वेश्वर आधारभूत विद्यालय पनि ऐनाली जग्गामै छ । सीमाक्षेत्रमा भारतीय ज्यादती सहेर सीमाको रक्षा गर्दै बस्नुपरे पनि सरकारले जग्गाको लालपुर्जा नदिएको भन्दै स्थानीयले दुखेसो गरे । 

बस्तीका कारण नेपाली भूमि अतिक्रमण हुनबाट जोगिए पनि लालपुर्जा नहुँदा सरकारबाट हेपिएको महसुस हुने गरेको स्थानीयको भनाइ छ । ‘बस्ती भएकैले सीमाको संरक्षण भएको छ,’ स्थानीय सञ्जीवकुमार चौधरीले भने, ‘तर, सीमाको संरक्षण गरेर बसेकाहरूलाई सरकारले लालपुर्जासमेत दिन सकेको छैन ।’

गाउँमा हालसम्म भारतसँग सीमाविवाद भएको छैन । बस्ती नभए भारतले अतिक्रमण गर्ने चौधरीको बुझाइ छ । स्थानीय खेतबारी रहेको गाउँनजिकैको बड्किपलियामा भने नेपाली भूमिमाथि कहिलेकाहीँ सीमाक्षेत्रका भारतीयले आफ्नो भूमि भन्दै दाबी गर्ने गरेको चौधरीले बताए । गाउँमा कतिपयको घरको आँगनमै भारतीय क्षेत्र पर्छ । 

छैन सरकारी सुविधा  

स्थानीय जितबहादुर चौधरीले लालपुर्जा नहुँदा सरकारी सुविधाबाट वञ्चित हुनुपरेको दुखेसो गरे । लालपुर्जा नभएकै कारण सरकारी सहयोगमा गाउँमा पम्पसेटसमेत राख्न नपाइएको उनले सुनाए । ‘सरकारी निकायसँग पम्पसेट माग ग¥यौँ, तर पम्पसेट राख्न जग्गाको लालपुर्जा चाहिने रहेछ,’ जितबहादुरले भने, ‘सुविधा मात्र होइन, जग्गा धितो राखेर ऋण लिन पनि पाएका छैनौँ ।’

गाउँमा विद्युत्, खानेपानी, स्वास्थ्यचौकीजस्ता सुविधा छैनन् । स्थानीयका अनुसार सञ्चार सेवा पनि भरपर्दो छैन । नजिक पर्ने हसुलिया बजार आउन मोहना नदी पार गर्नुपर्छ, तर नदीमा पुल नभएकाले स्थानीयलाई नजिक पर्ने भारतीय बजार चन्दनचौकीमा कारोबार गर्नुपर्ने बाध्यता छ ।

सीमाक्षेत्रमा बग्ने मोहना नदीले नेपाल–भारत सीमा छुट्याएको छ । तर, शिवरत्नपुरसहित कैलारी गाउँपालिकाका ३ वटा बस्ती भने मोहना नदीपारि पर्छन् । स्थानीय रूपाशंकर चौधरीले नेपाली नागरिकताबाहेक आफूसँग केही नभएको बताए । उनले भूमिको पुर्जा नहुँदा आफूहरू सरकारी सुविधाबाट वञ्चित हुनुपरेको बताए । पटक–पटक लालपुर्जाका लागि माग गरिए पनि सुनुवाइ नभएको दुखेसो स्थानीयको छ । 

भारतीय सुरक्षाकर्मीको ज्यादती

सीमाक्षेत्रमा खटिएका भारतीय सीमासुरक्षा बल एसएसबी र वनरक्षकले वेलावेलामा दुःख दिने गरेको स्थानीयले बताए । सीमावर्ती भारतीय बजार चन्दनचौकीमा किनमेल गर्न जाँदा भारतीय सुरक्षाकर्मीले दुव्र्यवहार गर्ने, सामान ल्याउन नदिने, सीमा पोस्ट सफा गर्न लगाउने, दाउरा चिर्न लगाउने गरेको स्थानीय कमल चौधरीले बताए ।
‘गाउँमा आएर कुटपिट गर्छन्, महिलालाई नराम्रो नजरले हेर्न खोज्छन् ।

सीमाक्षेत्रमै बस्नुपर्ने र किनमेलका लागि भारतीय बजारमै जानुपर्ने भएकाले हामीले सहेर बस्नुपर्ने बाध्यता छ,’ चौधरीले भने । भारतीय वनरक्षकले वर्षमा एकपटक गाउँका सबै घरधुरीबाट प्रतिघरधुरी १ सय ५० रुपैयाँ भारु उठाउने र जंगलभित्रको बाटो सफा गर्न लगाउने गरेको स्थानीयले बताए । 

कानुन नबन्दा समस्या

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले    कानुन नबनेकाले स्थानीय तहले नै लालपुर्जा वितरण गर्न सक्ने अवस्था नरहेको बताए । प्रदेश सरकारले भूमि व्यवस्थासम्बन्धी कानुन बनाएपछि त्यही आधारमा लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाइने उनले बताए ।

‘सीमाक्षेत्रका बासिन्दालाई जग्गाको लालपुर्जा नहुँदा निकै समस्या छ । सीमापारिको बस्ती भएकाले उनीहरूमा नेपाली नै होइनौँ कि भन्ने पनि लाग्छ होला,’ अध्यक्ष चौधरीले भने, ‘त्यसैले सीमाका बस्तीमा सकेसम्म विकासका न्यूनतम पूर्वाधार पु-याउन खोजेका छौँ ।’

सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले गर्ने ज्यादती अन्त्यका लागि स्थानीयस्तरमा दुई देशका जनप्रतिनिधि सम्मिलित कार्यदल बनाइएको उनले जानकारी दिए ।