Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ११ सोमबार ०८:२३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

५४ अंकले बढ्यो नेप्से

वाणिज्य बैंकहरूमा उछाल आउँदा कारोबार रकम १४ अर्ब नाघ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ११ सोमबार ०८:२३:००

धितोपत्र बजार परिसुचक नेप्से नयाँ उच्च विन्दुमा प्रवेश गरेको छ । यसअघि जेठ ३१ गतेको ३ हजार २५ दशमलव ८३ बिन्दुको रेकर्डलाई ब्रेक गर्दै नेप्से आइतबार ४५ दशमलव ३१ अंकले बढेर ३ हजार ५८ बिन्दुमा पुगेको हो । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ७४ अंकले बढेर ५ सय ७४ बिन्दुमा पुगेको छ ।

करेक्सनलाई पार गरेको तथा अब कम्पनीहरूले लाभांश घोषणा गर्ने हुँदा बजारले सही दिशा समातेको लगानीकर्ता बताउँछन् । असार–साउन सेयर बजारको ब्रेक सिजन पनि हो, लगानीकर्ता लाभांशको प्रतीक्षामा सेयर होल्ड गरेर बसेका छन् । यसै कारण बजारले नयाँ उचाइ कायम गर्ने लगानीकर्ता विजयराज रानाभाट बताउँछन् ।

कारोबारमा आएका १३ सूचकमध्ये ११ वटा समूहका सूचकमा हरियाली छाएको छ भने होटेल तथा पर्यटन समूह र म्युचुअल फन्डका लगानीकर्ता भने निराश बनेका छन् । सबैभन्दा धेरै बढ्ने समूहको सूचकमा वाणिज्य बैंक समूह परेको छ । वाणिज्य बैंक समूहको सूचक ३ दशमलव ४३ प्रतिशतले बढेको छ भने जलविद्युत्, माइक्रो फाइनान्स समूहमा पनि लगानीकर्ताको आकर्षण बढेको छ । 

 ९ कम्पनीको सेयरसर्किट मूल्यमा कारोबार 
९ कम्पनीको सेयर मूल्य बढेर सर्किट मूल्यमा कारोबार भएको छ । विशाल बजार कम्पनी, न्यादी ग्रुप पावर लिमिटेड, सपोर्ट माइक्रो फाइनान्स, राधी विद्युत् कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर कम्पनी, जोसी हाइड्रोपावर, युनिभर्सल हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढेका हुन् ।

त्यस्तै, अरुण काबेली, दिव्यश्वरी कम्पनीको सेयर मूल्यमा पनि लगानीकर्ताको आकर्षण बढेको छ । आइतबार सेयर मूल्य घट्ने कम्पनीहरूमा लक्ष्मी उन्नति कोष, कुमारी इक्विटी फन्ड, ओरिएन्टल होटेलका सेयर परेका छन् । 

कारोबार रकममा सुधार
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्ला हप्ताका कारोबारहरूमा करिब ११ अर्बको कारोबार हुँदै आएकोमा सो दिन सेयर खरिद–बिक्री रकम पनि बढेको हो । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २३ कम्पनीको ४ करोड ३९ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा १४ अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै कारोबार नेपाल बैंकको भएको छ । बैंकको ४९ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको ४९ करोड ४४ लाख रुपैयाँ, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक (एनसिसी)को ३४ करोड ७८ लाख रुपैयाँ, अरुण काबेली पावर कम्पनीको ३४ करोड रुपैयाँ तथा एनआइसी एसिया बैंकको ३३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।