१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण १० आइतबार ०९:०८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

झन्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई समस्यैसमस्या

Read Time : > 2 मिनेट
२०७८ श्रावण १० आइतबार ०९:०८:००

परीक्षाको अघिल्लो दिनसम्म प्रवेश पत्र र विषय नमिलेर स्नातक प्रथम वर्षका विद्यार्थी तनावमा

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्नातक प्रथम वर्षमा प्रिन्सिपल अफ म्यानेजमेन्ट र अकाउन्ट गरी दुई विषयको अनलाइन परीक्षा फारम भरेका अजयप्रसाद गुप्ताको प्रवेशपत्रमा अकाउन्ट विषय मात्रै प्रिन्ट भएको छ । झन्डै दुई वर्षमा प्रथम वर्षको परीक्षा हुन लागेको छ, तर उनी अहिले अर्को विषयको परीक्षा दिन नपाउने हो कि भन्ने चिन्तामा छन् । भन्छन्, ‘मैले दुई विषयको फारम भरेको थिएँ, आज बल्लतल्ल डाउनलोड भएको थियो, एक विषय मात्रै आयो, फेरि अर्को वर्ष पर्खिनुपर्ने हो कि भन्ने चिन्ता लागेको छ ।’ 

स्नातक प्रथम वर्षको परीक्षाको तयारी गरिरहेकी अप्सरा उप्रेतीले अनलाइन फारम भरेकी थिइन् । तर, प्रवेशपत्र डाउनलोड नहुँदा चिन्तामा छिन् । ‘शुक्रबारदेखि डाउनलोडको प्रयास गरेको शनिबार रातिसम्म भएको छैन,’ उनले भनिन्, ‘आफूसँग प्रवेशपत्र नहुँदासम्म ढुक्क नहुने रहेछ ।’

अजय र अप्सरा प्रतिनिधि पात्र मात्रै हुन् । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १० साउनदेखि सुरु गर्न लागेको परीक्षामा विद्यार्थीले निकै सास्ती भोगेका छन् । त्रिविले १० साउनदेखि बिएस्सी, बिएड र बिए प्रथम वर्षको परीक्षा सञ्चालन गर्दै छ । ११ साउनदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदै छ । कोभिडका कारण धेरै विद्यार्थी संख्या भएका विषयमा समेत पनिकाले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्न सुरु गरेको थियो । तर, परीक्षाको अघिल्लो दिनसम्म कतिपय विद्यार्थीले प्रवेशपत्र प्रिन्ट गर्न नपाएर, कतिपयको सबै विषय प्रिन्ट नभएर र कतिपय विद्यार्थीको फरक–फरक विषय भरेकाको पनि एउटै विषय दुईपटक प्रिन्ट भएको छ । प्रथम वर्षकै विद्यार्थी प्रज्वल अधिकारीले इकोनोमिक्स र इंग्लिस विषय भरेकामा दुईवटै इकोनोमिक्स भएर आएको छ । 

 दीपक पाण्डे, सूचना अधिकारी त्रिवि परीक्षा नियन्त्रण कार्यालय
विश्वविद्यालयकै इतिहासमा पहिलोपटक अनलाइनबाट परीक्षा फारम भरेर परीक्षा हुन लागेको छ, कतिपय सिस्टममा इरर भयो, कतिपय विद्यार्थीको बदमासीले पनि समस्या भयो ।

परीक्षाको अघिल्लो दिन शनिबार बल्खुमा भिड लागेको थियो । सयौँ विद्यार्थी यस्तै समस्या लिएर पनिका पुगेका थिए । परीक्षा नियन्त्रण कार्यालयका सूचना अधिकारी दीपक पाण्डेले दुई सयभन्दा बढी विद्यार्थीको समस्या समाधान गरेको बताए । ‘विश्वविद्यालयकै इतिहासमा पहिलोपटक अनलाइनबाट परीक्षा फारम भरेर परीक्षा हुन लागेको छ, कतिपय सिस्टममा इरर भयो, कतिपय विद्यार्थीको बदमासीले पनि समस्या भयो,’ उनले भने । पाण्डेले लाखौँ विद्यार्थीले एकैपटक अनलाइनमा प्रवेश गर्दा ओभरलोड भएर पनि समस्या आएको दाबी गरे । नयाँ प्रणाली कार्यान्वयन गर्दा केही समस्या आएको उनले बताए । 

स्नातक तहका पुरानो प्रथम वर्षका विद्यार्थी ०७६ मा भर्ना भएका थिए । कोभिडका कारण उनीहरूको परीक्षा पछि धकेलिँदै आएको थियो । कतिपय विद्यार्थीले हार्डकपीमा परीक्षा फारम भरेका थिए भने कोभिडको संक्रमण बढेपछि कतिपयले अनलाइनबाट परीक्षा फारम भरेका थिए । पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले धेरै विद्यार्थीले समस्या भएको गुनासो गरेको र समाधानको प्रयाससमेत भइरहेको बताए । ‘कतै पाँच विषय भरेकामा एक विषय प्रिन्ट भएको छ, कतिपय विद्यार्थीले प्रवेशपत्र डाउनलोड गर्न खोज्दा इरर देखाएको छ,’ उनले भने । पनिकाले विद्यार्थीको फारम भरेको विवरण पठाएको र त्यसबाट समाधान निकाल्ने प्रयास गरेको उनले बताए । 

साढे दुई लाखले परीक्षा दिँदै
त्रिविले धेरै विद्यार्थी संख्या रहेको तीन र चार वर्षे बिएस्सी, बिबिएस, बिएड र बिए प्रथम वर्षको परीक्षा ११ साउनदेखि लिने तालिका सार्वजनिक गरेको छ । फारम भरेको झन्डै दुई वर्षसम्म पनि प्रथम वर्षको परीक्षा दिन नपाएका साढे दुई लाख विद्यार्थी छन् ।

स्नातक दोस्रो वर्षको परीक्षा भइरहेको अवस्थामा कोभिड संक्रमण बढेपछि परीक्षा स्थगित भएको थियो । त्यसैगरी, कोभिडका कारण गत १३ वैशाखपछि स्थगित भएका परीक्षा ५ साउनदेखि सञ्चालन गरेको छ । त्रिविले १७ वैशाखदेखि स्नातकोत्तर तह तेस्रो सेमेस्टरका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, सिसिएमसीको १२ वैशाखको निर्णयअनुसार परीक्षा स्थगित भएका थिए । कोरोना भाइरस तीव्र रूपमा फैलिएपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । 

एमबिबिएसमा पहिलोपटक एकीकृत प्रवेश परीक्षा
चिकित्सा शिक्षा आयोग गठन भएपछि स्नातक तहका चिकित्सा शिक्षाका कार्यक्रममा पहिलोपटक एकीकृत प्रवेश परीक्षा सुरु भएको छ । शनिबार आयोगले एमबिबिएसको एकीकृत प्रवेश परीक्षा लिएको हो । आयोगका सदस्य–सचिव डिल्ली लुइँटेलले पहिलोपटक एमबिबिएसको एकीकृत प्रवेश परीक्षा भएको र सबै परीक्षा केन्द्रमा सहज रूपमा परीक्षा सञ्चालन भएको बताए । आयोगले काठमाडौं उपत्यकासहित धरान, चितवन, पोखरा र नेपालगन्जमा समेत एकीकृत प्रवेश परीक्षा केन्द्र राखेको छ ।

कोभिडका कारण जोखिम कम गर्ने उद्देश्यले आयोगले यस वर्ष उपत्यकाबाहिर समेत परीक्षा केन्द्र कायम गरेको छ । जेठ दोस्रो सातादेखि एकीकृत प्रवेश परीक्षा लिने तयारी गरे पनि कोभिडको संक्रमण उच्च दरले फैलिएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो । स्थगित प्रवेश परीक्षा ९ देखि १३ साउनसम्म सञ्चालन हुँदै छ । चिकित्सा शिक्षाका कार्यक्रममा भर्ना पाउन ३२ हजारभन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुँदै छन् ।