१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १० आइतबार ०८:५०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थमन्त्रीलाई पुँजी बजारका लगानीकर्ताको सातबुँदे ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १० आइतबार ०८:५०:००

अर्थमन्त्री जनार्दन शर्मालाई पुँजी बजार क्षेत्रका लगानीकर्ताले सातबुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । अर्थमन्त्री शर्मालाई शुभकामना सन्देशसहित पुँजी बजारका आवश्यक योजना, समस्या र मागसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

ध्यानाकर्षण पत्रमा साधारण सेयरलाई झैँ दोस्रो बजार कारोबारलाई पनि ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय निकायसम्म सर्वसाधारणले सहज रूपमा सेयर खरिद–बिक्री गर्न पाउने संवैधानिक हक–अधिकारलाई सुनिश्चित गर्न आग्रह गरिएको छ । त्यस्तै, इ–आस्बा प्रणालीको ढाँचामा वाणिज्य बैंक वा बैंकका सहायक कम्पनीहरूका निश्चित मापदण्ड पूरा गर्नुका साथै प्राकृतिक व्यक्ति वा संस्थाहरूमार्फत समेत सेवा प्रवाह गर्नुपर्ने सुझाब लगानीकर्ताले दिएका छन् ।

हाल दोहोरो ब्रोकर कमिसन तिर्दै आएकोमा एकतर्फी रूपमा मात्र ० दशमलव १५ प्रतिशतभन्दा नबढ्ने गरी विद्यमान कमिसन दर तत्काल पुनरावलोकन गर्नसमेत आग्रह गरिएको छ । पुँजीगत लाभकरलाई वृद्धि गरी ७ दशमलव ५ प्रतिशत राख्दा लगानीकर्तामा निराशा उत्पन्न भएको भन्दै मन्त्री शर्मालार्ई आर्थिक वर्ष ०७७/७८ सम्म कायम पुँजीगत लाभकरलाई नै निरन्तरता दिन आग्रह गरिएको छ । दीर्घकालीन लगानीकर्तालाई पुँजीगत लाभकर २ दशमलव ५ प्रतिशत कायम गरी लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने सुझाब पत्रमा उल्लेख छ । 

त्यसैगरी, लगानीकर्ताले गैर–आवासीय नेपालीहरू तथा विदेशमा रोजगारीमा गएका नेपालीहरूका लागि पनि सेयर बजार कारोबार गर्नका लागि सहज रूपमा व्यवस्थापन मिलाउन सुझाब दिइएको छ । ठूला उद्योगहरूले साधारण सेयर जारी गरी मजदुर, कर्मचारीहरूलाई त्यसको हिस्सा बाँड्न र पुँजी बजारलाई आमरूपमा सकारात्मक दृष्टिकोणबाट हेर्ने बनाउनसमेत सुझाब दिइएको छ । 

पुँजी बजारप्रति आकर्षण बढाउन र आवेदकहरूले १० कित्ता सेयर पाउने समावेशी वितरण प्रणाली र आस्बा व्यवस्था ०७३ सालदेखि लागू भएपश्चात् काठमाडौंबाहिर सहित देशैभर साना तथा आमलगानीकर्ताको सहभागिता बढाउन अहिले पनि ३७ लाख ५० हजारभन्दा माथि नागरिकहरूले पुँजी बजारमा प्रत्यक्ष सहभागिता जनाइरहेको अवस्थामा न्यूनतम १० कित्ता सेयर पाउने सार्वजनिक निष्कासन प्रणालीलाई नै निरन्तरता दिन मन्त्री शर्मालाई ध्यानाकर्षण गराइएको छ । त्यस्तै, पुँजी बजारका लगानीकर्तासँग गरिएको ५८ बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउन पनि सुझाब दिइएको लगानीकर्ताले जनाएका छन् ।