१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण ९ शनिबार १४:१३:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

रामचन्द्र पौडेलले ‘तपाईंमाथि अन्याय भयो, तिनीहरूलाई पाप लाग्छ’ भन्नुभयो : डोबाटे विश्वकर्मा

Read Time : > 3 मिनेट
२०७८ श्रावण ९ शनिबार १४:१३:००

उत्पीडित परिवारमा जन्मिनुभयो, राजनीतिमा स्थापित हुन कस्ता–कस्ता संघर्ष गर्नुभयो ?
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीका पिता गोबर्द्धन शर्माले ०३६ सालमा मलाई कांग्रेसको सदस्यता दिनुभएको हो । मेरो पिता चंखवीर विश्वकर्मा र उहाँले सँगसँगै राजनीति गर्नुभएको हो । मेरो पितालाई पनि उहाँले कांग्रेसको राजनीतिमा सँगै लिएर हिँड्नुभएको थियो ।

गोवर्द्धन सर आँखा देख्नुहुन्थेन, कृष्णचन्द्र सरले नै मलाई चिनाइदिनुभएको थियो । उहाँले मलाई ‘बुबाले हिँडेको बाटो हिँड्नुपर्छ, परिवर्तन हुन्छ, दलितको अधिकार सुनिश्चित हुन्छ । महिला, उत्पीडित क्षेत्र, जाति, वर्गको हित हुन्छ, हकअधिकार पाइन्छ’ भनेर सम्झाउनुभएको हो ।

म १५–१६ वर्षको हुँदादेखि नै मेरो पिताले पनि मलाई ‘प्रजातन्त्रका लागि लड्नुपर्छ, राजनीतिको बाटो हिँड्नुपर्छ’ भनेर भनिरहनुहुन्थ्यो । पछि म २०–२२ वर्षको बुझ्ने भएँ, अनि राजनीतिमा लागेँ । 

राजनीतिक जीवनमा अप्ठ्याराहरू त थुप्रै आएका छन् । सबै पचाउँदै हिँडेको छु । कहिल्यै पनि पद पाइयो भनेर मात्तिने र पाइएन भनेर आत्तिने बानी परिसकेको छ । ०५४ सालमा भने सामाजिक दुव्र्यवहारको अलि नमज्जाको घटना भयो । तनहुँमा नारायण पौडेल भन्ने व्यक्तिले लगाएको महायज्ञमा गएको थिएँ, त्यसक्रममा मलाई ठूलो अपमान भयो ।

पैसा संकलन गर्ने कार्यक्रम थियो, मैले आर्थिक सहयोग गरेँ, तर अपमान गरियो । त्यहाँको आयोजक समितिका प्रतिनिधिले आर्थिक सहयोग गरेपछि दिनको १२ बजे सम्मान गर्ने भने । मैले ‘किन दिनको १२ बजे गर्ने’ भनेर सोधेँ । उनीहरूले ‘१२ बजेको समयमा सबै बुढा मान्छेहरू भात खान बाहिर जान्छन् र मण्डप खाली हुन्छ, त्यही मौकामा तपाईंलाई सम्मान गर्ने’ भने । त्यसपछि मैले इन्कार गरेँ । त्यसपछि म ‘सम्मान चाहिँदैन आन्दोलनको तयारी गर्छु’ भनेर हिँडेँ । त्यो वेला मेरै नेतृत्वमा ठूलो आन्दोलन पनि गरियो । पछि आयोजक समितिका अध्यक्ष नारायण पौडेल, प्रतिनिधिलगायतले ‘गल्ती भयो’ भन्दै माफी मागेका थिए । 

अहिले पार्टीमा कुन जिम्मेवारीमा हुनुहुन्छ ?
महाधिवेशन प्रतिनिधि दुई कार्यकाल भएँ । ०५४ सालमा दलित संघ स्थापना भएपछि तीन कार्यकाल जिल्ला सभापति भएँ । अहिले पनि केन्द्रीय सदस्य छु । महाधिवेशन प्रतिनिधि छु । ०४९ देखि ०५९ सम्म दश वर्ष नगरपालिकाको वडा सदस्य भएँ । यहीबीचमा दलित विकास समितिको बोर्ड सदस्य पनि भएँ । ०६६ देखि ०६८ सम्म राष्ट्रिय दलित आयोगको सदस्य भएँ । ०७४ को निर्वाचनदेखि प्रदेश सभाको सदस्य छु । 

प्रदेश सरकारको मन्त्री बनाउने विषयमा पार्टीभित्र कहिलेदेखि छलफल भएको थियो ?
हाम्रो पार्टीबाट कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री भएपछि कुरा आएका हुन् । हाम्रो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिफारिस गर्नुभएको थियो । तनहुँ घर भएकै नेताहरू शंकर भण्डारी, प्रदीप पौडेल सबैको सहयोग थियो । व्यक्तिगत रूपमा पनि मैले कसैको चित्त दुखाउने काम गरेको थिइनँ । मैले पनि ‘एकपटक मलाई मौका दिनुहोस्, जनताका लागि काम गर्छु’ भनेको थिएँ । 

मुख्यमन्त्री पोखरेलले पनि आश्वासन दिनुभएको थियो । ‘गोवर्द्धन शर्माको छोरो कृष्णचन्द्र पोखरेल नेपाली यो प्रदेशको मुख्यमन्त्री भइरहँदा चंखवीर विश्वकर्माको छोरो मन्त्रिपरिषद्मा नहुँदा अपूरो हुन्छ’ भन्नुभएको थियो । हिजो ९बिहीबार० साँझ मात्रै पोखराबाट तनहुँ घर फर्किएको थिएँ । मलाई बिहान ७ बजेतिर मुख्यमन्त्रीको छोरीबाट फोन गरेर ‘केहीबेरमा शपथका लागि आउनुहोला, कुरा भइरहेको छ’ भनेर खबर आयो । त्यसपछि तयारीसाथ म पोखरा जाँदै थिएँ । बाटोमा नै अर्कैले शपथ खायो भनेर खबर आयो । 

कसले यस विषयमा जानकारी दियो ?
इमानदारीपूर्वक भन्दा मिडियाबाट यो कुरा थाहा पाएको हुँ । म दगनगौडा पुगेका वेला मुख्यमन्त्रीको छोरीले फोन गरेर ‘अंकल आउँदै हुनुहुन्छ नि, केही गडबड होलाजस्तो छ’ भनेर भनेकी थिइन् । तर, नभन्दै अर्कैलाई शपथ गराइयो । यस विषयमा मलाई अहिलेसम्म कुनै नेताले स्पष्ट जवाफ दिन सक्नुभएको छैन । केही कारण पनि खुलाइएको छैन । मन्त्री बनाउने सूचीमा राखेको कुरा त मलाई सबै जानकारी थियो । मुख्यमन्त्रीले नै आश्वासन दिइरहनुभएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलले सिफारिस गर्नुभएको र पारिवारिकजस्तै सम्बन्ध भएकाले कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री भएपछि त्यहाँभन्दा विश्वास गर्ने आधार अरू हुनै सक्दैन थियो । केन्द्रका नेताहरू सबैसँग पनि मैले ‘आशीर्वाद दिनुहोस्’ भनेर मागेकै थिएँ । तैपनि हुन सकिएन । 

पार्टीको यस्तो निर्णयपछि तपाईंले नेताहरूलाई केही सोध्नुभएन ?
मलाई एकाएक रोकिएपछि धेरैैलाई भनिनँ, वरिष्ठ नेता पौडेललाई जानकारी गराएँ । उहाँले ‘यो ठूलो अपराध गरे, पाप गरे । यस्तो पनि कहीँ हुन्छ रु’ भन्नुभयो । उहाँले दिउँसो निर्णय हुने वेलामा पनि ‘दोबाटेलाई नै बनाउनुपर्छ’ नै भन्नुभएको रहेछ । तर, उहाँले थाम्न सक्नुभएन वा के भयो थाहा छैन । मुख्यमन्त्री पोखरेललाई पनि सोधेको थिएँ । उहाँले ‘सरी १ मन्त्री बनाउन सकिनँ, पार्टी नेतृत्वबाटै दबाब आयो’ भन्नुभयो । त्यसपछि धेरै कुरा भएन । उहाँ पनि व्यस्त हुनुभयो । 

अन्तिम समयमा पार्टीको कुन नेताबाट यस्तो दबाब आयो र उत्पीडित वर्गको तपाईंलाई मन्त्री बन्नबाट रोकियो ?
यसको जवाफ मसँग छैन, मुख्यमन्त्री पोखरेल र पार्टीका मुख्य नेताहरूलाई नै थाहा होला । म पीडामा भएको मान्छेलाई तपाईंले सोध्नु पनि राम्रो भएन, उहाँहरूलाई नै सोध्नुहोस् । पार्टीका आन्तरिक विषयहरू धेरै होलान्, मैले कसैलाई दोष दिनु छैन । आलोचना गर्र्नु मेरो नैतिकताले दिँदैन । केही सूचनाहरू आएका छन् । तर, म फलानाले यस्तो गरे, त्यस्तो गरे भनेर भन्दिनँ । मेरा लागि यो धेरै ठूलो अपमानको विषय हो, तर जति अपमानको विषय भए पनि मैले पार्टीको आन्तरिक विषय भएकाले सहनुपर्ने हुन्छ । तर, देश र मिडियाले जसरी उत्पीडित समुदाय, महिला, छिडिएको क्षेत्र जसरी चासो राखेको छ, त्यसका लागि धन्यवाद भन्छु ।

पार्टीले गरेको निर्णयप्रति तपाईं के भन्नुहुन्छ ?
मलाई मन्त्री बन्नबाट रोकेकाले भनेको होइन, तर जसरी मन्त्रिपरिषद् गठन गरिएको छ त्यो अहिलेको संविधान तथा लोकतन्त्रले गरेको सुनिश्चितता र संवैधानिक व्यवस्थाकै अपमान हो । मेरो व्यक्तिगतभन्दा पनि संविधानमा भएको व्यवस्थाको अपमान भयो कि भन्ने मलाई अनुभूति भएको छ । म व्यक्ति भनेको केही होइन, तर संविधानले त समानुपातिक समावेशी सहभागिताको सुनिश्चितता गरेको छ । सबै वर्ग र समुदायलाई सहभागिता गराउने व्यवस्था गरेको छ । तर, मन्त्रिपरिषद् विस्तारले उठाएको प्रश्न भनेको त्यो संविधानमा उल्लेख भएका अधिकार प्राप्त भए कि भएनन् भन्ने हो । अस्ति, केही दिनअघिसम्म केपी ओलीले संविधान मिचे भनेर आवाज उठाइरहेका थियौँ । अहिले सामान्य एउटा पिछडिएको बोल्न नसक्ने वर्ग र समुदायको प्रतिनिधित्व गर्ने, जति पनि पीडा छन् सहेर बस्न सक्ने खालको व्यक्तिलाई चाहिँ ‘न्याक्ने’ भनेको कतिसम्म न्यायोचित छ भन्ने विषय त सबैले बुझेकै छन् ।

अब अगाडि कसरी बढ्नुहुन्छ ?
कार्यकर्ताका नाताले पार्टीले गरेका निर्णय स्वीकार गर्ने मेरो कर्तव्य र बाध्यता हुन्छ । म पार्टीभन्दा माथि छैन । मेरो परिवार भने पनि, बाउ भने पनि, आमा भने पनि, सम्पत्ति भने पनि यही पार्टी हो । पार्टीले न्याय गरे पनि गर्‍यो, अन्याय गरे पनि गर्‍यो, मैले त्यो स्वीकार गर्नुपर्छ । मेरो कर्तव्य यही हो भन्ने लाग्छ ।