मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
किरण दहाल काठमाडाैं
२०७८ श्रावण ९ शनिबार ०७:५४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वसभामुख नेम्वाङलाई प्रधानमन्त्री देउवाको प्रश्न– संविधानमा ७६ (५) किन लेख्नुभयो ?

Read Time : > 3 मिनेट
किरण दहाल, काठमाडाैं
२०७८ श्रावण ९ शनिबार ०७:५४:००

शुभकामना बैठकमा प्रधानमन्त्रीमाथि प्रतिपक्षीको घोचपेच

नवनियुक्त प्रधानमन्त्रीलाई शुभकामना दिने कार्यसूची राखेर शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदले प्रधानमन्त्री शेरबहादुर देउवामाथि घोचपेच गरेका छन् । विपक्ष दलका सांसदले प्रधानमन्त्री नियुक्तिको प्रसंगलाई लिएर टिप्पणी गरेपछि देउवा आफैँले जवाफ दिएका छन् । 

सुवास नेम्वाङ

संविधानले निर्वाचनमार्फत प्रधानमन्त्री आउने भनेको छ । निर्वाचित प्रतिनिधि रहेको संसद्बाट देशले प्रधानमन्त्री पाउँछ । प्रधानमन्त्री पाउने थुप्रै धारा र उपधारा छन्, त्यो सबै व्याख्या गर्न चाहन्न । म यति जोड्न चाहन्छु– पहिलोपटक सम्मानित सर्वाेच्च अदालतको परमादेश (संसद्बाट होइन, जनताको जनादेशबाट होइन)बाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौँ । यो मेरो अन्यथा टिप्पणी होइन ।

संसद् पुनर्स्थापनापछि पहिलोपटक बोलेका एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले सर्वोच्चको फैसला र प्रधानमन्त्री नियुक्तिमा प्रश्न उठाएपछि प्रधानमन्त्री देउवा त्यसको प्रतिरक्षामा बोलेका थिए । बैठकमा नेम्वाङले देउवाको प्रधानमन्त्री बन्ने प्रक्रियामै आपत्ति प्रकट गरेका थिए । 

नेम्वाङले भने, ‘संविधानले निर्वाचनमार्फत प्रधानमन्त्री आउने भनेको छ । निर्वाचित प्रतिनिधि रहेको संसद्बाट देशले प्रधानमन्त्री पाउँछ । प्रधानमन्त्री पाउने थुप्रै धारा र उपधारा छन्, त्यो सबै व्याख्या गर्न चाहन्न । म यति जोड्न चाहन्छु– पहिलोपटक सम्मानित सर्वाेच्च अदालतको परमादेश (संसद्बाट होइन, जनताको जनादेशबाट होइन)बाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौँ । यो मेरो अन्यथा टिप्पणी होइन ।’ 

अन्त्यमा धन्यवाद व्यक्त गर्न रोस्ट्रममा गएका देउवाले प्रधानमन्त्री नियुक्तिको विषयलाई लिएर प्रश्न उठाएकोमा विपक्षी दलका उपनेतामाथि प्रतिप्रश्न गरे । ‘अहिले विपक्षी दलका उपनेता, पूर्वसभामुख हुनुहुन्न । आफूले बोलेको पनि नसुनी हिँड्नुभयो । उहाँ सभामुख हुनुहुन्थ्यो, यो संविधानमा ७६ (५) किन लेख्नुभयो भनेर प्रश्न सोध्न चाहन्थेँ,’ देउवाले आफ्नो भनाइको सुरुवातमै भने । देउवा बोल्दा नेम्वाङ भने बैठकबाट बाहिरिइसकेका थिए ।

नेम्वाङले ७६ (५)लाई जोड्दै अदालतको फैसलाले शक्ति सन्तुलन खलबलिएको बताएका थिए । जवाफमा देउवाले भने, ‘उहाँले यो संविधान भत्किने छैन, पार्लियामेन्ट भंग हुुने छैन भनेको म झल्झली सम्झन्छु । अर्काे कुरा राष्ट्रपति स्वयंले पनि ७६ (५)अनुसार कुनै पनि सांसदले बहुमत पुर्‍याउन सक्नुहुन्छ भने प्रधानमन्त्रीको दाबी गर्न आउनुहोस् भनेर आह्वान गर्नुभएको हो । आह्वान गरेअनुसार हामी गएका हौँ । बहुमत सदस्यको हस्ताक्षर लिएर पुग्यौँ । त्योअनुसार उहाँले प्रधानमन्त्री नियुक्त गरेर संसद्मा विश्वासको मत लेऊ भन्न सक्नुहुन्थ्यो । बहुमत सिद्ध गर्न भनेको भए हुन्थ्यो ।’ 

नेम्वाङलाई ७६ (५) लेखिनुको कारणबारे जानकारी भएको, तर सदनमा त्यसलाई स्पष्ट गर्नुको सट्टा अर्कै कुरा गरेको देउवाको भनाइ थियो । ‘यो किन लेखिएको थियो भन्ने कुरा पूर्वसभामुखलाई राम्ररी थाहा थियो, तर त्यसलाई स्पष्ट गर्नुको सट्टा ह्विप लगाएर बहुमत ल्यायो भन्नुभयो,’ प्रधानमन्त्री देउवाले भने, ‘हामीले जिल्लाबाहिर रहनुभएका सांसद साथीलाई काठमाडौं आउन र मतदान गर्न भनेका हौँ । त्यो अनुरोध अन्य दलका सांसदलाई पनि गर्‍यौँ । तर, हामीले मत दिने विषयमा ह्विप लगाएका होइनौँ । हामीले संविधानतः अनुरोध गर्न पनि पाउँदैनौँ ?’

संविधान लेखन र जारी गर्ने समयमा सभामुख रहेका नेम्वाङले अहिलेको सरकारको वैधानिकतामाथि नै प्रश्न गरेर भनाइ राखेपछि त्यसपछि बोल्ने अधिकांश सत्तापक्षका नेताहरूले उनीमाथि आक्रोश व्यक्त गरेका थिए । 

प्रधानमन्त्री देउवा

संविधान बनाउँदा उहाँ सभामुख हुनुहुन्थ्यो, यो संविधानमा ७६ (५) किन लेख्नुभयो ? उहाँले यो संविधान भत्किने छैन, पार्लियामेन्ट भंग हुुने छैन भनेको म झल्झली सम्झन्छु । राष्ट्रपति स्वयंले पनि ७६ (५)अनुसार कुनै पनि सांसदले बहुमत पुर्‍याउन सक्नुहुन्छ भने प्रधानमन्त्रीको दाबी गर्न आउनुहोस् भनेर आह्वान गरेअनुसार बहुमत सदस्यको हस्ताक्षर लिएर गएका हौँ । त्योअनुसार उहाँले प्रधानमन्त्री नियुक्त गरेर संसद्मा विश्वासको मत लेऊ भन्न सक्नुहुन्थ्यो । 

कांग्रेसका तर्फबाट बोलेका सांसद प्रकाशमान सिंहले देउवा परमादेशबाट नभएर संविधानको मर्मअनुसार निर्वाचित भएको बताए । उनले भने, ‘आफू सत्तामा बस्दाखेरि कार्यपालिकाले अपनाउनुपर्ने विधि–नियमहरूलाई पालना नगर्ने, अनि अहिले आएर जनादेश होइन कि परमादेशबाट प्रधानमन्त्री भयो भन्दै कराएर के पाउनुहुन्छ ? ७६ (५) बाट पार्टी सभापति प्रधानमन्त्री नियुक्त हुनुभएको छ । संविधानको भावना र मर्मअनुरूप उहाँ यो हाउसबाट निर्वाचित हुनुभएको छ ।’ उनले सत्तामा भइन्जेल विधि र संस्कारको ख्याल नगर्ने, तर विपक्षमा बस्दा मूल्य–मान्यताको कुरा उठाउनुको कुनै महत्व नहुने सुझाब नेम्वाङलाई दिएका थिए । 

त्यस्तै, माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले दुवै संविधानसभाको कार्यकालमा सभामुख रहेका नेम्वाङको दायित्व संविधानको रक्षा गर्ने पनि भएको याद दिलाए । गजुरेलले देउवालाई आफ्नो इतिहासको समीक्षा गरेर अघि बढ्नसमेत सुझाब दिए । गिरिजाप्रसाद कोइरालाको छवि बनाउन उनले सुझाब दिए । ‘शेरबहादुर देउवामाथि विभिन्न आशंका पनि व्यक्त भए । एउटा अवसर उहाँलाई आएको छ । उमेरका हिसाबले उहाँ पाको भइसक्नुभयो । उहाँले गिरिजाप्रसाद कोइरालाले जो छवि बनाएर जानुभयो, त्यो छवि उहाँले कायम गर्नुपर्छ,’ उनले भने । 

जनमोर्चा सांसद दुर्गा पौडेलले ७६ (५) लाई अपव्याख्या नगर्न आग्रह गरिन् । संसद्को विश्वासको मतका आधारमा देउवा प्रधानमन्त्री बनेकाले यसलाई परमादेश भन्न नमिल्ने उनको तर्क थियो । ‘सर्वाेच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेको भन्ने कुरा चौतर्फी उठेको छ । ७६ (५) अनुसार यो प्रधानमन्त्री नियुक्त गरिएको हो । विश्वासको मत लिएर बन्नुभएको प्रधानमन्त्री हो । त्यसकारण यो विषयलाई हामीले अपव्याख्या, कुतर्क नगरौँ । यदि संविधानमा केही त्रुटि छ भने त्यसलाई सच्याउन मिल्छ । संविधान बनाएको तपाईं–हामीले नै हो । अहिले सर्वाेच्च अदालतले गरेको संविधानको व्याख्या हो । त्यसकारण, त्यसलाई त्यही रूपमा लिनुपर्छ,’ उनले भनिन् ।

जनता समाजवादी पार्टीका सांसद महेन्द्र राय यादवले दोस्रोपटक प्रतिनिधिसभा विघटन हुनुमा आफ्नै पार्टीका सांसदहरूको दोष देखाए । दोस्रोपटक प्रतिनिधिसभा विघटन हुँदा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई साथ दिएको जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षप्रति उनको आक्रोश थियो । 

‘हाम्रो पार्टीको स्थिति निर्वाचन आयोगमा छ । यो देशमा ८ गते राति संसद् विघटन भयो । हाम्रो पार्टीका केही पात्रहरूले त्यहाँ हस्ताक्षर नगरेका भए दोस्रोपटक विघटन हुने थिएन । विगतको केपी ओलीभन्दा बढी हाम्रो पार्टीबाट जानुभएका केही पात्रहरू यसका लागि बढी जिम्मेवार हुनुहुन्छ । बढी दोषी हुनुहुन्छ,’ उनले भने ।