१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ श्रावण ९ शनिबार ०७:३३:००
Read Time : > 7 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विनादर्शक टोकियो ओलम्पिक सुरु

Read Time : > 7 मिनेट
२०७८ श्रावण ९ शनिबार ०७:३३:००

टोकियोमा अहिलेसम्मकै बढी कोरोना संक्रमित भएकै दिन ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको भव्य उद्घाटन 

३२औँ संस्करणको गृष्मकालीन टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता शुक्रबार सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण निर्धारित समयभन्दा एक वर्षपछि टोकियो ओलम्पिक सुरु भएको हो । ६८ हजार क्षमता भएको टोकियोस्थित मुख्य रंगशालामा विनादर्शक नै ओलम्पिकको उद्घाटन भएको छ । उद्घाटन समारोहमा भिआइपीसमेत गरी ९ सय ५० जना उपस्थिति भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । खेलकै महाकुम्भको मेलामा विश्वका २०६ देशका ११ हजार दुई सय ३८ खेलाडी सहभागी हुँदै छन् । 

टोकियो ओलम्पिकमा संयुक्त राष्ट्रसंघमा आबद्ध एक सय ९३ सदस्य देशका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार ४ः४५ बजे सुरु भएको उद्घाटन समारोहमा आयोजक जापानले उत्कृष्ट टेक्नोलोजी प्रस्तुत गरेको थियो । विशिष्ट पाहुनाहरूलाई अनिवार्य सामाजिक दूरी कायम गरिएको थियो । रंगशालाबाट सयौँ जापानिज परपम्परागत वेशभूषामा सजिएका खेलप्रेमीहरूले ठूलो टेलिभिजन डिस्प्रेमा उद्घाटन समारोहको मनोरञ्जन लिएका थिए । 

करिब तीन घन्टासम्म चलेको समारोहमा जापानले आफ्नो परम्परा झल्को दिने प्रस्तुति संगीतिक कार्यक्रम देखाएको थियो । उद्घाटनको अन्तिममा भव्य आतिशबाजी भएको थियो । टोकियो ओलम्पिक शीर्षकमा जापान सरकारले १३ अर्ब पाउन्ड छुट्याइएको छ । उद्घाटनको अवसरमा कोभिड– १९ का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिइएको थियो ।

योपटक सहभागी देशका पुरुष तथा महिला खेलाडीले संयुक्त रूपमा राष्ट्रको झन्डा बोकेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले पुरुष र महिलालाई समान अधिकार प्रदान गर्न टोकियो ओलम्पिकमा पुरुष र महिला खेलाडीलाई संयुक्त रूपमा देशको झन्डा बोक्ने अवसर दिएको हो । यसअघिका संस्करणमा केवल एक खेलाडीले मात्र उद्घाटन समारोहमा देशका झन्डा बोक्थे । 

कोभिडकै भय
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले टोकियो सहरलाई कोरोनाको अवस्था खराब रहेको जनाएको छ । शुक्रबार मात्रै टोकियोमा एक हजार तीन सय ५९ जना संक्रमित भएका छन् । यस वर्षको जनवरी महिनायता नै शुक्रबार देखिएको संक्रमित संख्या अहिलेसम्मकै ठूलो हो । कोरोनाविरुद्ध खोप अभियान ढिलो गरेका कारण नै टोकियोलगायत अन्य ठूला सहरमा संक्रमित संख्या बढेको आरोप स्थानीयहरूले सरकारमाथि आरोप लगाएका छन् । जापानमा २० प्रतिशत जनताहरूले मात्र कोरोनाको खोप लगाएका छन् । 

केही समूह तथा स्थानीयहरूले कोरोना महामारीका वेलामा ओलम्पिक खेलकुद प्रतियोगिता नगर्न नहुने भनी विरोध गरिरहेका छन् । उद्घाटन दिनमा पनि रंगशालाबाहिर ‘ओलम्पिक स्थगित’ गर्नुपर्ने भनी विरोध कार्यक्रम सञ्चालन भएको थियो । आयोजकले सहभागी खेलाडी, अफिसियल तथा पदाधिकारीहरूलाई अनिवार्य रूपमा कोरोनाविरुद्धको दुवै खोप लगाउनुपर्ने बताएको छ । 

दुवै खोप लगाएका खेलकर्मी मात्र टोकियो ओलम्पिकमा सहभागी हुन पाउनेछन् । यद्यपि एथलेटिक्स भिलेजमा रहेका खेलाडी संक्रमित भइरहेको समाचारले आयोजकको टाउको दुखाइ बनेको छ । 

धेरै पदक जित्ने अमेरिका
ओलम्पिक खेलकुदमा अमेरिकाले नै सर्वाधिक पदक जितेको छ । अहिलेसम्म अमेरिकाले स्वर्ण, रजत तथा कांस्य गरी दुई हजार आठ सय २७ पदक जितेको छ । अमेरिकाले सर्वाधिक ११ सय २७ स्वर्ण, नौ सय सात रजत तथा सात सय ९३ कांस्यपदक हात पारेको छ । अमेरिकापछि बेलायत दोस्रो स्थानमा छ । बेलायतले दुई सय ७४ स्वर्ण, २ सय ९९ रजत तथा २ सय ९० कांस्य हात पारेको छ । तेस्रो स्थानमा जर्मनी छ । जर्मनीले दुई सय ८३ स्वर्ण, २ सय ८२ रजत तथा २ सय ९० कांस्य कुम्ल्याएको छ । 

फ्रान्स समग्रमा आठ सय ४० पदकका साथ चौथो तथा इटाली कुल सात सय एक पदकका साथ पाँचौँ स्थानमा छन् । एसियन राष्ट्र चीनले अहिलेसम्म ६ सय आठ पदक जितेको रेकर्ड छ । चीनले दुई सय ३७ स्वर्ण, एक सय ९५ रजत तथा एक सय ७६ कांस्य हात पारेको छ । सर्वाधिक पदक जित्ने लिस्टमा चीन सातौँ स्थानमा छ । 

ओलम्पिकमा २९ शरणार्थी खेलाडी

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले दोस्रोपटक ओलम्पिक स्पर्धामा शरणार्थी टोली समावेश गरेको छ । टोकियो ओलम्पिकमा २९ जना शरणार्थी खेलाडीको एक टोलीले प्रतिस्पर्धा गर्नेछ । आइओसीले रियो ओलम्पिकमा पहिलोपटक शरणार्थी खेलाडीलाई अवसर दिएको थियो । रियोमा पाँच शरणार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । आइओसीले शरणार्थी खेलाडीहरूको संख्या वृद्धि गरेको छ । 

शरणार्थी खेलाडीहरू ओलम्पिकको झन्डामुनि रहेर प्रतिस्पर्धा गर्ने आइओसीले जनाएको छ । शुक्रबारको उद्घाटनमा शरणार्थी खेलाडीले ओलम्पिककै झन्डा बोकेर मार्चपास गरेका थिए । उनीहरूले विभिन्न १२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । आइओसीले शरणार्थी खेलाडी कार्यक्रमअन्तर्गत नै ओलम्पिकमा सहभागी गराएको हो । आइओसीको छात्रवृत्तिमै ती शरणार्थी खेलाडीले टोकियो ओलम्पिककै लागि प्रशिक्षण गरेका छन् । 

ओलम्पिकको झन्डामुनि विभिन्न देशका २९ शरणार्थी खेलाडीले टोकियो ओलम्पिक खेलकुदका १२ खेलमा प्रतिस्पर्धा गर्नेछन्, पाँच वर्षअघि रियो ओलम्पिकमा आइओसीले पहिलोपटक शरणार्थी खेलाडी समावेश गरेको थियो ।

आइओसीले सुरुमा टोकियो ओलम्पिकका लागि ५५ शरणार्थी खेलाडी छनोट गरेको थियो । विभिन्न चरणको छनोट प्रतियोगिताबाट अन्तिम २९ खेलाडीको खाका दिइएको हो । शरणार्थी खेलाडीहरूले एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्यानोइन, साइक्लिङ, जुडो, कराते, तेक्वान्दो, सुटिङ, स्विमिङ, भारोत्तोलन तथा कुस्तीमा प्रतिस्पर्धा गर्नेछन् । आइओसीले उत्कृष्ट शरणार्थी खेलाडी संकलन गरी ओलम्पिकका लागि टोली तयार गरेको जनाएको छ । 

आइओसीका अध्यक्ष थोमस बाकले शरणार्थी खेलाडीहरूले यसपटक टोकियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखेको बताएका छन् । ‘रियो ओलम्पिकभन्दा यसपटक शरणार्थी ओलम्पिक खेलाडी धेरै छन्, विश्वास छ, उनीहरूको प्रदर्शन निकै राम्रो हुनेछ,’ आइओसी अध्यक्ष वाकले भनेका छन्, ‘रियो ओलम्पिकमा दश खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।’ 

उद्घाटनमा शरणार्थी खेलाडीहरूको टोली दोस्रो स्थानमा रही मार्चपास गरेको थियो । यस शरणार्थी ओलम्पिक टोलीको नेतृत्व टेग्ला लारोउपेले गरेका छन् । उनले विश्व म्याराथनमा विश्व रेकर्ड राखेका छन् । टेग्लाले टोकियो ओलम्पिकमा शरणार्थी ओलम्पिक खेलाडीहरूले विश्वलाई राम्रो सन्देश दिने बताएका छन् । ‘खेलमैदान तथा बाहिर शरणार्थी खेलाडीहरूले शान्तिको सन्देश दिनेछन्,’ उनले भने, ‘यसले विश्वको विभिन्न देशमा देखिएको शरणार्थी समस्या समाधान गर्न सहयोग गर्नेछ ।’

पाँच वर्षअघि रियो ओलम्पिकमा सहभागी भएका खेलाडी पनि यसपटक छनोट भएका छन् । पौडीका युर्सा मार्दिनी, जुडोका पोपोलो, ट्याक्ट एन्ड फिल्डका अन्जेलिना नाडाल, जेम्स नायङ, पालो अमोटुन तथा रोसे नाथिनले रियो ओलम्पिकमा भाग लिएका थिए । रियो ओलम्पिकमा अन्जेलिनाले कांस्यपदक जितेकी थिइन् । 

‘हामीले ओलम्पिक मुभ मेन्टअन्तर्गत नै शरणार्थी खेलाडीहरूलाई ओलम्पिकमा मौका दिएका हौँ,’ आइओसीका अध्यक्ष बाकले भने, ‘यी खेलाडीको प्रदर्शन तथा नतिजा हेर्न हामी सबै इच्छुक छौँ ।’ आइओसीमा आबद्ध भएका १३ राष्ट्रिय ओलम्पिक कमिटीबाट रिफर भएका खेलाडीले नै प्रतिस्पर्धा गर्ने उनले बताएका छन् । ‘यी सबै खेलाडी विभिन्न ओलम्पिक कमिटीबाटै रिफर भएका हुन्,’ उनले भने, ‘विश्व खेलकुदमा शरणार्थी खेलाडीहरूको शक्ति पनि देख्नेछ ।’ 

अध्यक्ष वाकले शरणार्थी खेलाडीहरूलाई ओलम्पिककै एक महत्वपूर्ण अंगका रूपमा विश्लेषण गरेका छन् । ‘तपाईं शरणार्थी खेलाडीहरू ओलम्पिककै एक अंग हुनुहुन्छ, विश्व खेल जगत्मा स्वागत छ र तपाईंहरू आफ्नो पाखुरा फैलाउन सक्नुहुन्छ,’ आइओसी अध्यक्ष वाचले भने । ओलम्पिकमा सहभागी शरणार्थी खेलाडीहरूले दोहाको वासेदा विश्वविद्यालयमा अभ्यास गरेका थिए । उनीहरू दोहाबाट टोकियोमा पुगेका हुन् । 

टोकियो ओलम्पिक आयोजक कमिटीकी अध्यक्ष सेइको हासिमोतोले शरणार्थी खेलाडीले पनि ओलम्पिकमा आफ्नो शक्ति प्रदर्शन गर्ने स्थानका रूपमा लिनुपर्ने बताएकी छिन् । ‘केवल झगडा तथा वादविवादले समस्या हल हुँदैन, शरणार्थी खेलाडीहरूले ओलम्पिकबाटै आफ्नो शक्ति देखाउनेछन्,’ हासिमोतोले भनिन्, ‘मलाई विश्वास छ, यी सबै खेलाडीले टोकियोमा कीर्तिमान राख्नेछन्, उनीहरूलाई पछिसम्म सबैले सम्झनेछन् ।’

ओलम्पिककै कान्छी खेलाडी जाजा

युद्धग्रस्त सिरियाकी टेबल टेनिस खेलाडी हेन्ड जाजा टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताकै कान्छी खेलाडी बनेकी छिन् । ओलम्पिकमा पहिलोपटक खेल्न गइरहेकी जाजाको उमेर १२ वर्ष मात्र छ । टोकियो ओलम्पिकमा ११ हजार दुई सय २८ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । गत वर्ष जोर्डनमा सम्पन्न ओलम्पिक छनोटमा जाजाले स्थान सुरक्षित गर्दा ११ वर्ष मात्र थिइन् । सन् २००९ मा जन्मेकी जाजा विश्व टेबल टेनिस वरीयतामा एक सय ५५औँ स्थानमा छिन् । छनोट प्रतियोगितामा उनले लेबनानकी लेवानोन मारियालाई ४–३ ले हराएकी थिइन् । सिरियाको टेबल टेनिस इतिहासमा छनोट चरण पार गरी ओलम्पिकमा स्थान बनाउने उनी पहिलो खेलाडी हुन् ।

सिरियाकी १२ वर्षीया हेन्ड जाजा टोकियो ओलम्पिकमा सहभागी ११ हजार दुई सय २८ मध्ये सबैभन्दा कान्छी खेलाडी बनिन्

जाजाले ओलम्पिक छनोटमा हराएकी मारियिनाको उमेर ३१ वर्ष थियो । टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा मार्चपासमा सहभागी भएकी जाजालाई सिरिया ओलम्पिक कमिटीले बधाई दिएको छ । ‘बधाई छ हाम्री च्याम्पियन खेलाडी, टोकियो ओलम्पिक २०२० कै सबैभन्दा कान्छी खेलाडी बनेकी छिन्,’ सिरिया ओलम्पिक कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनी सिरियामा कम उमेरमै सबै राष्ट्रिय टेबल टेनिस उपाधि जित्ने पहिलो खेलाडी हुन् ।

एक दशकदेखि द्वन्द्वग्रस्त सिरियामा राम्रोसँग अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता भएका छैनन् । जाजाले निकै कठिन अवस्थामा ओलम्पिकमा स्थान बनाएको बताएकी छिन् । ‘मैले टोकियो ओलम्पिकका लागि राम्रोसँग प्रशिक्षण लिन पाइनँ, तर सबैका सहयोगले यहाँसम्म आउन सफल भएँ,’ सिएनएनलाई जाजाले भनेकी छिन्, ‘यो ओलम्पिक यात्रामा मलाई परिवारबाट धेरै सहयोग प्राप्त भएको छ ।’ 

जाजाले शनिबारै आफ्नो पहिलो ओलम्पिक डेब्यू खेलमा अनुभवी अस्ट्रियाकी लिउ जियासँग प्रतिस्पर्धा गर्नेछिन् । जाजाले ओलम्पिकसँगै विश्व च्याम्पियनसिप उपाधि जित्ने लक्ष्य रहेको बताएकी छिन् । ‘ओलम्पिक खेल्ने मेरो सपना पूरा भएको छ अब कम उमेरमै विश्व च्याम्पियन बन्ने हो,’ जाजा भन्छिन् । 

यसैगरी, टोकियो ओलम्पिकमा सबैभन्दा पाका खेलाडी अस्ट्रियन घोडचढी खेलाडी म्यारी हाना हुन् । हानाले छैँटौँपटक ओलम्पिक खेल्दै छिन् । ६६ वर्षीया हानाले टोकियो ओलम्पिकलाई अन्तिम सहभागिताका रूपमा लिएकी छिन् । ओलम्पिक इतिहासमा हान दोस्रो पाका खेलाडीका रूपमा रहेकी छिन् । 

रेकर्ड सुधार गर्ने लक्ष्य 

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । पाँच खेलाडीलाई चार प्रशिक्षकले सहयोग गरिरहेका छन् । नेपाली टोलीमा खेलाडी तथा प्रशिक्षकभन्दा पदाधिकारी संख्या धेरै छन् । नेपालले पौडी, एथलेटिक्स, जुडो तथा सुटिङमा भाग लिने छन् । युनिभर्सियालिटी प्लेसअन्तर्गत पौडीबाट गौरिका सिंह, एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरी टोकियो ओलम्पिकमा छनोट भएका हुन् । आइओसीले प्रदान गरेको वाइल्ड कार्डमार्फत सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्टले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

सहभागी खेलाडीमध्ये पौडीकी गौरिका सबैभन्दा सिनियर खेलाडीका रूपमा छिन् । उनको यो दोस्रो ओलम्पिक सहभागिता हो । अन्य खेलाडीले पहिलोपटक ओलम्पिकको अनुभव बटुल्नेछन् । यी चारैजना आआफ्नो इभेन्ट्समा खेल्दा ओलम्पियन खेलाडी बन्नेछन् । शनिबार एथलेटिक्सकी खेलाडी सरस्वती टोकियो प्रस्थान गर्नेछिन् । शुक्रबार सम्पन्न उद्घाटन समारोहमा नेपालबाट गौरिका र एलेक्सले संयुक्त रूपमा देशको झन्डा बोकेका थिए । 

सहभागी नेपाली खेलाडीका एउटै लक्ष्य व्यक्तिगत प्रदर्शन सुधार गर्ने नै देखिन्छन् । करिब दुई वर्षदेखि आइओसीको छात्रवृत्तिमा ओलम्पिकको तयारीमा रहेका यी खेलाडीले टोकियोमा व्यक्तिगत प्रदर्शन, राष्ट्रिय रेकर्ड बनाउने र ओलम्पिक अनुभव लिने नै ठूलो मानेका छन् । शनिबार जुडोको खेल प्रारम्भिक हुँदा नेपालकी सोनियाले विश्व वरीयताको शीर्ष दशभित्र रहेकी रसियन खेलाडी डोल्गोभा इरिनाविरुद्ध खेल्नेछिन् । 

१३औँ दक्षिण एसियाली खेलकुदमा कांस्य जितेकी सोनियाले इरिनाविरुद्ध पहिलो बाउट जित्ने प्रयासमा हुनेछिन् । आफूभन्दा धेरै राम्रा खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने उनले बताइन् । १३औँ सागमा कीर्तिमानी रूपमा चार स्वर्ण जितेकी गौरिकाले बेलायतमै प्रशिक्षण गर्दै आइरहेकी छिन् । गौरिकाले यसपटकको ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार हुने जनाएकी छिन् । 

गौरिकाले महिला सय मिटर फ्रिस्टाइलको हिटमा खेल्नेछिन् । पौडीको सय मिटर फ्रिस्टाइलको हिटमा एलेक्सले प्रतिस्पर्धा गर्नेछन् । वाइल्ड कार्डबाट ओलम्पिक खेल्ने पक्का गरेकी कल्पनाले महिला दश मिटर एयर राइफलमा प्रतिस्धर्पा गर्नेछिन् । ‘ओलम्पिक खेल्ने सपना सबैका पूरा हुँदैनन्, यसमा म भाग्यमानी भएँ, अब मेरो लक्ष्य नै व्यक्तिगत रेकर्ड सुधार गर्नु हो,’ वाइल्ड कार्ड पाएपछि कल्पनाले भनेकी थिइन् । यता भाग्यमानी खेलाडी एथलेटिक्सकी सरस्वतीले सय मिटर दौडमा आफ्नो प्रतिभा देखाउनेछिन् ।

 नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघको कमजोरीका कारण धावक गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिक गुमाएका हुन् । ओलम्पिककै लागि भनी पार्कीले डेढ वर्षदेखि अभ्यास गरेका थिए । अन्तिम समयमा उनी प्रावधिक कारण सहभागी हुन पाएनन् । ओलम्पिक कमिटीले पार्कीको स्थानमा सरस्वतीलाई टोकियो पठाएको हो । सरस्वतीले सय मिटर दौडमा भाग लिनेछिन् ।  

सुन्दरताले भरिएको खेलकुद शक्तिशाली : गौरिका

उद्घाटन समारोहको मार्च पासमा नेपालको झन्डा बोकेकी गौरिकाले राष्ट्रको प्रतिनिधित्व गर्दै ओलम्पिकमा सहभागी हुन पाउँदा गौरवान्वित भएको बताएकी छिन् । सन् २०१६ को रियो ओलम्पिकमा उनले सहभागीमध्ये कान्छी खेलाडीकी रूपमा रेकर्ड बनाएकी थिइन् । नेपालको पौडी इतिहासकै सर्वाधिक सफल खेलाडी गौरिकाले उद्घाटन समारोहमा जानुअघि भनिन्, ‘सबैलाई धन्यवाद छ, तपाईहरूको माया र समर्थनका कारण यहाँ पुगेकी हुँ ।’

गौरिकाले टोकियो ओलम्पिककै लागि कडा मिहिनेत गरेकाले यसपटक राम्रो नतिजा ल्याउने बताइन् । ‘यस प्रतियोगिताका लागि मैले सम्भव भएसम्म सबै किसिमका अभ्यास गरेकी छु, ओलम्पिकमा राम्रो नतिजा निकाल्ने प्रतीक्षाको घडी नजिक आइरहेको छ,’ सामाजिक सञ्जाल फेसबुकमा गौरिकाले भनिन् । 

टोकियो ओलम्पिकले सबैलाई एकता बनाउने माध्यम भएको उनले जनाइन् । कोरोना भाइरसका कारण गत वर्ष अत्यन्तै कठिन समयबाट गुज्रिएको उनको भनाइ छ । ‘गत वर्ष हामी सबैले चुनौती सामना गर्‍यौँ, सबै किसिमका बाधा पछ्याउँदै टोकियो आएकी छु,’ उनी भन्छिन्, ‘धेरै सुन्दरताले भरिएको खेलकुद शक्तिशाली छ ।’