१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दशगजामा भारतीयले बनाएका घरटहरा । दशगजा क्षेत्रमा अवैध बसोवासकै कारण सीमास्तम्भ हराउँदै गएका छन् ।
गणेश लम्साल विराटनगर
२०७८ श्रावण ८ शुक्रबार ११:५४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दशगजामा भारतीयका चार सयभन्दा बढी टहरा,  मोरङका ३८ वटा सीमा स्तम्भ गायब

Read Time : > 3 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ श्रावण ८ शुक्रबार ११:५४:००

भारतीय नागरिकले दशगजामा फालेका फोहोरको दुर्गन्ध र प्रदूषणका कारण सास्ती खेप्दै नेपाली, आफ्नै भूमिमा नाला बनाउन नेपालीलाई भारतीयले रोके

अन्तर्राष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न कसैले पनि पाउँदैन । तर, नेपाल–भारत सिमानामा पर्ने दशगजा क्षेत्रमा भारतीयले निर्वाध रूपमा घरटहरा बनाएका छन् । 

मोरङको विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा पर्ने दशगजा क्षेत्रमा भारत विहार राज्यको जोगबनी नगर क्षेत्रका भारतीय नागरिकले घरटहरा, शौचालयजस्ता संरचना निर्माण गरेका छन् । जोगबनीसँग जोडिएको दशगजा क्षेत्रमा भारतीयका एक सयभन्दा बढी घरटहरा छन् । धेरैले घेराबारसहितको घरभित्रै शौचालय निर्माण गरेका छन् भने केहीले कपडाले बेरेर अस्थायी शौचालय बनाएका छन् ।

 कोषहरि निरौला : प्रमुख जिल्ला अधिकारी, मोरङ

भारत पक्षले छलफल गरौँला भनेका छन्, तर अहिलेसम्म कुनै जानकारी आएको छैन । वार्ता सुरु भएपछि एउटा समाधान निकाल्नेछौँ ।

दशगजा क्षेत्रमा बनाइएका संरचनाका कारण नेपाल भारत सीमा सम्झौता उल्लंघन भएको र असुरक्षासमेत बढाएको भन्दै हटाउन नेपाल र भारत दुवै देशका अधिकारहीहरूबीच पटकपटक सहमति भए पनि अझैसम्म घरटहरा हटाइएका छैनन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बलको प्रतिवेदनअनुसार मोरङमा दशगजा क्षेत्रमा चार सयजति भारतीय नागरिकले घरटहरा बनाएका छन् । दशगजा क्षेत्रमा अवैध बसोवासकै कारण मोरङमा ३८ वटा सीमास्तम्भ हराइरहेका छन् । 

विराटनगर जोगबनी नाकाआसपासको दशगजा क्षेत्रमा भारतीयहरूले जबर्जस्ती रूपमा फोहोर फालेर बाँध निर्माण गरिरहेका छन् । जसले गर्दा नेपाली सिमानासमेत मिचिरहेको छ । भारतीय जोगबनी बजारमा दैनिक उत्पादन हुने सयौँ टन फोहोर भारतीयहरूले विराटनगर महानगरपालिकाको १६, १७ र १८ नम्बर वडासँग जोडिएको दशगजा क्षेत्रमा ववर्षौंदेखि फाल्दै आएका छन् । दैनिक रूपमा फालिने फोहोरले गर्दा दशगजा क्षेत्र पुरिँदै गएको छ भने नेपालतर्फको सिमाना मिचिने जोखिम बढेको छ । स्थानीयका अनुसार जोगबनी बजारमा उत्पादन भएको सबैखाले फोहोर खुला रूपले फाल्दा इस्लामपुर, राइसमिल टोल, रामसेवी टोल, दरैया र जुुटमिल क्वार्टरमा बसोवास गर्ने सयौँ नेपालीले दुर्गन्धका कारण सास्ती पाइरहेका छन् । फोहोरेको दुर्गन्धले र त्यहाँबाट उत्पन्न हुने प्रदूषणले गर्दा उनीहरू खाना खाँदा पनि नाक थुन्न बाध्य छन् । 

नेपाली प्रशासन र स्थानीयवासीले पटक–पटक दशगजामा फोहोर नफ्याँक्न जोगबनी नगरपञ्चायतलाई आग्रह गर्दै आएको छ । तर, पनि कुुनै सुनुवाइ भएको छैन । भारतीयहरूले रेलबाट ल्याएको फोहोरसमेत कसैलाई नसोधी दशगजामा ल्याएर फालिदिने गरेको स्थानीयको गुनासो छ । हेपाहा व्यवहार गर्दै असुरक्षित रूपले फ्याँकेको फोहोरले गर्दा गर्मीमा हैजा फैलने भयले स्थानीय नेपाली सधैँ त्रासमा बस्न बाध्य छन् ।

सीमा क्षेत्रमा भारतले दशगजा मिचेर आफ्नोतर्फ सडकको बहानामा अग्लो बाँध बनाएको छ । त्यही बाँधमुन्तिर दशगजा क्षेत्रमा भारतीयहरूले दैनिक ठेला, रिक्सा अनि ट्याक्टरमा दैनिक सयौँ टन फोहोर फाल्ने गर्छन् । कहिलेकाहीँ मरेका जनावरको सिनोसमेत फालेर नेपालीलाई सास्ती दिने गरेका छन् ।

‘हामीले पटक–पटक दशगजा क्षेत्रमा यसरी फोहोर नफ्याँक्न भारतको जोगबनी नगरपञ्चायतलाई आग्रह गर्‍यौँ, तर उनीहरूले हामीलाई हेपेर वास्तै गरेका छैनन्,’ विराटनगर–१६ जुटमिल दक्षिण गेटमा बसोवास गर्दै आएका युवा मोहम्मद मुक्तार हुसैनले भने । उनका अनुसार सुरक्षाकर्मीहरूले पनि दशगजामा फोहोर नफ्याँक्न पटक–पटक आग्रह गर्ने गरेका छन् । विराटनगर जोगबनी नाकामा पर्ने दशगजा क्षेत्रको नेपालतर्फ विराटनगर जुटमिल एरियामा बाक्लो बस्ती छ । तर, भारतको जोगबनीतर्फ भने नजिकै बस्ती छैन । यसैले भारतीयहरूले हेपेर फोहोर फालिरहेको स्थानीयहरू बताउँछन् । भारतले फोहोर फ्याँकेर दशगजा क्षेत्रको जमिनमा बनाएको बाँधलाई अग्लो पार्दै लगेको छ । 

एसएसबीले नेपाली भूमिमा नाला निर्माण गर्नसमेत दिएनन्

इस्लामपुरमा भारतीयले निर्माण रोक लगाएको नाला । 

भारतीय बजार जोगबनीबाट बगेर आएको पानी निकास गर्न नेपाली भूमिमा नाला निर्माण गर्नसमेत भारतले रोक लगाएको छ । भारत विहार राज्यको अररिया जिल्लाको जोगबनी बजारसँग सीमा जोडिएको विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा नेपाली भूमिभित्रै पानी निकास गराउन निर्माण भइरहेको पक्की नाला निर्माणमा भारतीय सीमा सुरक्षा बलले जबर्जस्ती रोक लगाएको हो । वर्षात्को समयमा जोगबनीबाट नेपालतर्फ दशगजामा नाला निर्माण गरेर भारतले पठाएको पानीको डुबानबाट जोगिन विराटनगर महानगरपालिकाले इस्लामपुर बस्तीमा नाला निर्माण थालेको थियो । वडाध्यक्ष समिम कमरले नेपाली भूमिमै पानी बग्नेगरी नाला निर्माण गरिए पनि भारतीय सीमा सुरक्षा बल र प्रशासनका अधिकारीहरूले निर्माणमा रोक लगाएको जानकारी दिए ।

‘नेपालबाट बाढीको पानी निकास गरेर भारतीय भूमि र बस्ती डुबानमा पार्न खोजेको भन्दै एसएसबीले गालीगलौज गर्दै हाम्रो भूमिभित्रै बन्दुक तेस्र्याएर नाला निर्माण गर्न दिएन,’ स्थानीय कैलाशप्रसाद साहले भने । उनका अनुसार हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले नाला निर्माण नगर्न चेतावनी दिएपछि दश दिनदेखि नाला निर्माण ठप्प छ । भारतीय सुरक्षाकर्मीको डरले डकर्मीहरू आउन मानेका छैनन् । 

इस्लामपुर बस्तीमा एक सयभन्दा बढी घरपरिवार बसोवास गर्दै आएका छन् । उनीहरूले निकासा गरेको पानी दशगजा क्षेत्रसँग जोडिएको नेपाली भूमिको पैनीमा पुग्छ । निकासको पानीले भारतीय बस्ती र भूमि डुबानमा पर्दैन । स्थानीय शिक्षक रासुल हुदाका अनुसार नेपालीहरूले आफ्नो पानी भारततर्फ नपठाएको बरु भारतबाटै निकास भएर आएको पानी नेपाली भूमिको पैनीमा बग्ने गरेको छ । । त्यसैले सोही पानी निकासा गर्न नाला निर्माण गरेको भन्दै सम्झाउँदा पनि भारतीयले नमानेको उनले बताए ।

तर, भारतीय बजार जोगबनीको पानी दशगजा क्षेत्रमा नाला निर्माण गरेर भारतले मटेर्वा नाका, राइसमिल, रामसेवी र इस्लामपुर टोलमा पठाइरहेको छ । भारतबाट आएको पानीकै कारण सीमा क्षेत्रका नेपाली बस्ती डुबानमा पर्दै आएका छन् । सीमा क्षेत्रमा बसोवास गर्ने स्थानीयले जोगबनी बजारको पानी नेपालतर्फ पठाउने कार्य तुरुन्त रोक लगाउनुपर्ने र नेपाली भूमिभित्र नाला निर्माण कार्य खुला गराउन प्रशासनले पहल गर्नुपर्ने माग गरेका छन् । विराटनगर वडा नम्बर १७ र १८ मा पर्ने जोगबनी बजारसँग जोडिएको सीमावर्ती बस्तीहरू इस्लामपुर, राइसमिल र रामसेवी टोलमा तीन सय बढी घरपरिवार बस्छन् ।

नेपाली भूमिभित्रै नाला निर्माणमा भारतीयले रोक लगाएको गुनासो आएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले हालै सो क्षेत्रको निरीक्षण गरेका थिए । उनले चाँडै भारतीयहरूसँग वार्ता गरेर निर्माण कार्य सुचारु गराउन पहल गर्ने बताउँदै त्यसवेलासम्म नाला निर्माण रोक्न निर्देशन दिएका छन् । तर, दश दिन बितिसक्दा पनि भारतीयसँग कुनै वार्ता हुन सकेको छैन । भारत पक्षले अझै वार्ता गर्न चाहेका छैनन् । ‘भारत पक्षले छलफल गरौँला भनेका छन्, तर अहिलेसम्म कुनै जानकारी आएको छैन । वार्ता सुरु भएपछि एउटा समाधान निकाल्ने छौँ,’ उनले भने ।