१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण ७ बिहीबार ११:३६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भुटानसँग समेत नेपालको व्यापार घाटा बढ्दो निर्यातभन्दा आयात दोब्बर

Read Time : > 1 मिनेट
२०७८ श्रावण ७ बिहीबार ११:३६:००

भूगोल र जनसंख्याको हिसाबले सानो देश भुटानसँग पनि नेपालको व्यापार घाटा निरन्तर बढ्दो छ । नेपालले भुटानबाट निर्यातको तुलनामा दोब्बरभन्दा बढी आयात गर्न थालेको छ । आर्थिक वर्ष २०७७/०७८ मा भुटानसँगको व्यापारमा नेपालले ६१ करोड २० लाख ३७ हजार घाटा व्यहोर्नुपरेको छ । गत आवमा ५८ करोड ७२ लाखको निर्यात हुँदा १ अर्ब १९ करोड ९२ लाखको सामान भुटानबाट आयात भएको मेची भन्सार कार्यालले जनाएको छ ।

भुटानसँग पूर्वी नाका काँकडभिट्टा भएर मात्र नेपालको व्यापार हुँदै आएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार  भुटानबाट नेपालमा जिप्सन, कोइला, वालपट्टीलगायतका सामाग्री आउँछ । भुटानबाट सबैभन्दा बढी जिप्सन दैनिक २०–३० गाडी आयात हुने मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए । यस्तै, नेपालबाट स्टिलका पोल, बुद्धको मूर्ति, चिजबल र जुत्ताचप्पल भुटान निर्यात हुने उनले जानकारी दिए । 

 भुटानसँग यस वर्ष मात्र होइन प्रत्येक वर्ष व्यापार घाटा हुँदै आएको छ । भन्सार प्रमुख विश्वकर्माका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा भुटानसँग १० करोड १६ लाख ५८ हजारको व्यापार घाटा थियो । त्यो समयमा २० करोड ७५ लाख ५१ हजारको भुटानी सामाग्री आयात हुँदा ९ करोड ७२ लाख ९३ हजारको मात्र नेपाली सामाग्री भुटान गएको थियो । 

यस्तै, आर्थिक वर्ष ०७४/०७५ मा १० करोड २४ लाखको निर्यात हुँदा १ अर्ब २२ करोड ४० लाखको भुटानी सामाग्री आयात भएको थियो । आर्थिक वर्ष ०७५/०७६ मा भुटानबाट एक अर्ब ५५ करोड ९६ लाखको आयात हुँदा १२ करोड ९९ लाखको सामान भुटान निर्यात भएको थियो । आर्थिक वर्ष ०७६/०७७ मा भने भुटानसँगको व्यापारमा नेपाललाई ९६ करोड ६२ लाख १५ हजार घाटा भयो । सो अवधिमा ११ करोड ९ लाखको निर्यात हुँदा १ अर्ब ८ करोडको आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । 

पूर्वीनाकाबाट हुने वैदेशिक व्यापारमा ३५ अर्बको व्यापार घाटा
आर्थिक वर्ष ०७७/७८ मा पूर्वीनाका काँकडभिट्टाबाट हुने वैदेशिक व्यापारमा नेपाललाई ३५ अर्ब चार करोडको व्यापार घाटा भएको छ । आर्थिक वर्ष ०७६/०७७ पूर्वीनाकाबाट हुने वैदेशिक व्यापारमा नेपाललाई ३१ अर्ब ८ करोडको व्यापार घाटा थियो । पूर्वीनाकाबाट आर्थिक वर्ष ०७७/७८ मा ४८ अर्ब पाँच करोडको सामान नेपाल भित्रिएको छ । यस्तै, १२ अर्ब ६५ करोडको नेपाली सामान विदेश निर्यात भएको हो । आर्थिक वर्ष ०७६/७७ मा ३९ अर्ब ७३ करोडको सामान विदेशबाट आयात हुँदा आठ अर्ब ६५ करोडको नेपाली सामान बिदेसिएको थियो । मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माका अनुसार निर्यातको आधाभन्दा बढी हिस्सा अलैँचीले ओगटेको छ । 

यसपटक भने मेची भन्सार कार्यालय काँकडभिट्टाले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कोरोना महामारीका समयमा पनि मेची भन्सार कार्यालयले १३ अर्ब ३ करोड राजस्व संकलन गरेको हो । आर्थिक वर्ष ०७७/७८ भन्सार कार्यालयले १२ अर्ब ९ करोडको राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, लक्ष्यभन्दा ८ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको प्रमुख विश्वकर्माले बताए । आर्थिक वर्ष ०७६/७७ मेची भन्सार कार्यालयले ८ अर्ब ४५ करोड मात्र राजस्व संकलन गरेको थियो । ‘गत साल पनि कोरोना महामारी थियो । तर, कम राजस्व संकलन भयो,’ उनले भने, ‘यसपटक हामीले महामारीमा पनि खटेर काम गर्‍यौँ । राजस्व सन्तोषजनक नै संकलन भएको छ ।’