मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण ७ बिहीबार १०:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विभाजित मानसिकताबाट मुक्त भए मात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छ : मुख्यमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण ७ बिहीबार १०:१३:००

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभाजित मानसिकताबाट नभई कम्युनिस्ट आन्दोलनको मूल प्रवाहीकरणमा अन्य मित्रशक्तिलाई समेत समाहित गरेर अघि बढे मात्र पुष्पलालप्रति सही सम्मान व्यक्त हुने धारणा राखेका छन् ।  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले टुटफुट, एकता र विभाजनको अनेकन शृंखला पार गर्दै अघि बढेको कम्युनिस्ट आन्दोलनले विगतको तितामिठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दा मात्र वर्तमानको कार्यभार पूरा गर्न सकिने उल्लेख गरे ।

पौडेलले व्यक्तिगत कुण्ठा, द्वेष र अतृप्त आकांक्षाको परिपूर्तिका लागि जनादेशको अवमूल्यन गर्दै कम्युनिस्ट आन्दोलनलाई वर्गशत्रुको अगाडि आत्मसमर्पण गराउने प्रवृत्तिप्रति सचेत र सजग रहँदै प्राप्त उपलब्धिबारे जनतालाई सुसूचित गर्नुपर्ने धारणा व्यक्त गरे । पौडेलले समृद्धिको सपनालाई यथार्थमा बदल्न मिल्ने जति सबैसँग मिल्न सकिने धारणा राखे । 

‘पुष्पलालले प्रस्तुत गर्नुभएको विचारकै जगमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्थाको स्थापना भएको थियो । वि.सं. २००६ मा उहाँको नेतृत्वमा स्थापित कम्युनिस्ट पार्टी विभिन्न आरोह–अवरोहको सामना गर्दै अघि बढेको छ । टुटफुट, एकता र विभाजनको अनेकन शृंखला पार गर्दै अघि बढेको कम्युनिस्ट आन्दोलनले विगतको तितामिठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दा मात्र वर्तमानको कार्यभार पूरा गर्न सक्नेछ । राजनीतिक अधिकार प्राप्तिको आन्दोलनले सफलता पाएसँगै अब हाम्रो प्राथमिक कार्यभार जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्नु हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ त्यही आकांक्षाको अभिव्यक्ति हो,’ सन्देशमा उल्लेख छ । रासस