Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ५ मंगलबार ०८:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन हजार ३० पुगेर फर्कियो नेप्से 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ५ मंगलबार ०८:४०:००

हालसम्मको उच्च बिन्दु ३ हजार ६३ बनाएकोमा अन्तरदिनको उचाइ छुन ३३ अंकले चुक्यो

सोमबार धितोपत्र बजार सूचक नेप्से ३ हजार ३० छोएर फर्किएको छ । नेप्से अन्तरदिनको उचाइ छुन ३३ अंकले चुकेको हो । अहिलेसम्मको उच्च बिन्दु ३ हजार ६३ रहेको छ । 

३ हजार ३० पुगेको नेप्से पुनः घट्दै जाँदा लगानीकर्ता अझै पनि ‘पर्ख र हेर’को अवस्थामै रहेको देखिएको छ । आइतबार ९७ अंकले बढेको नेप्से सोमबार भने १३ दशमलव ८ अंकले बढेको छ । मौद्रिक नीतिको पर्खाइमा रहेको लगानीकर्ताको भनाइ छ । 

मौद्रिक नीतिपछि बजारले यही यात्रालाई कायम राखे बजार अलटाइम हाई बिन्दुमा पुग्न सक्ने एक लगानीकर्ता बताउँछन् । सोमबार नेप्से परिसूचक १३ दशमलव ८० अंकले बढेर २ हजार ९ सय ९४ दशमलव ४२ बिन्दुमा पुगेको छ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १० प्रतिशतले मूल्य बढेको छ भने विशाल बजार कम्पनी, नेपाल इस्योरेन्स, नागरिक लगानी कोष, हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्यमा पनि उच्च वृद्धि भएको छ । 

गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, जलविद्युत् लगानी तथा विकास कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य उच्चदरमा घट्दा यी कम्पनीका लगानीकर्ता भने निराश बनेका छन् ।

कारोबारमा आएका १३ समूहका सूचकमध्ये ८ समूहका सेयर मूल्य बढेका छन् भने ५ समूहका सूचक घटेका छन् । वाणिज्य बैंक, ट्रेडिङ, जीवन बिमा, लगानीगत समूहको सूचकमा हरियाली छाएको छ भने माइक्रो फाइनान्स, फाइनान्स, विकास बैंक समूहका सूचक नकारात्मक बनेका हुन् । 

धितोपत्र  र ऋणपत्र गरी कारोबारमा आएका २ सय १९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी एनआइसी एसिया बैंकको ३५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, दोस्रोमा नबिल बैंकको ३३ करोड १८ लाख रुपैयाँको र नेपाल बंगलादेश बैंकको ३१ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।    

तीन कम्पनीको साधारण सेयर निष्कासन गर्न बोर्डको अनुमति

तीन कम्पनीको साधारण सेयर निष्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले सामलिङ पावर कम्पनी, सानिमा लाइफ इस्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्थालाई सेयर निष्कासनका लागि अनुमति दिएको हो । सामलिङ पावर कम्पनीको १२ करोड ३० लाख रुपैयाँबराबरको १२ लाख ३० हजार कित्ता सेयरका लागि बोर्डले स्वीकृत दिएको हो । यसको बिक्री प्रबन्धक तथा  सेयर निष्कासन एसबिआई मर्चेन्ट बैंकले गर्ने भएको छ ।

त्यसैगरी, सानिमा लाइफ इस्योरेन्सको ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयरका लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक तथा निष्कासन तोकिएको छ । त्यस्तै, मानुषी लघुवित्त वित्तीय संस्थाको ३ करोड ९३ लाख  रुपैयाँबराबरको ३ लाख ९३ हजार कित्ता सेयर निष्कासनका लागि सेयर बिक्री प्रबन्धक तथा निष्कासन एसबिआई मर्चेन्ट बैंक रहेको छ ।