सामाजिक सञ्जालमा कांग्रेस नेता : मालाको भारीले कांग्रेसलाई नथिचौं
केही दिनदेखि नेपाली कांग्रेसभित्र मालाको विषयले चर्चा पाइरेको छ । कांग्रेसका तीन कोइराला नेताहरुलाई विराटनगरमा गत फागुन ४ गते १२१ किलोको माला लगाएर सम्मान गरियो ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन, जिल्ला कार्य समिति पर्साले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री शशांक र नेता शेखर कोइराला र जीपी कोइराला फाउन्डेसनकी अध्यक्षसमेत रहेकी सुजाता कोइरालालाई एउटै माला लगाएर सम्मान गरिएको थियो । तीनै नेताले कांग्रेसभित्र कोइराला परिवारका नेताहरुबीच एकता रहेको सन्देश दिए ।
त्यसको केही दिनपछि गत बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले १५१ किलोको माला लगाएर तीन कोइरालालाई जवाफ फर्काए कांग्रेस कोइरालाका छोरानातिको होइन । सभापति देउवा र कोइराला नेताहरुबीच मालाको प्रतिस्पर्धा चल्दै गर्दा कांग्रेसकै केही नेताले भने यसको विरोध गरेका छन् । कांग्रेस नेता मिनेन्द्र रिजालले ट्वीटरमा लेखेका छन्, कांग्रेस यसै थिचिएको छ, भारी माला लगाउने प्रतिस्पर्धाले यसलाई थप नथिचौं। बरू पार्टीलाई हलुङ्गो र फुर्तिलो बनाउन सबै लागि परौं ।
यस्तै पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले लेखेका छन् : केवल एक फुल दिनोस् या केवल एक मुस्कानसाथ हृदयले स्वागत गर्नोस्, आलोचनामा गालीको भारी या सम्मानमा फुलको भारी दुवै गलत छन् । देउवा, पौडेल, कोइराला, प्रचण्ड, ओली या जिल्लामा आउने अरु जो कोही अगुवा हुन् ।
कांग्रेसकै अर्का नेता धनराज गुरुङले आफ्नो फेसबुकमा लेखेका छन् : सयौं किलोका माला किन्न लाग्ने खर्चले गरीब नेपालीका छोरा-छोरीलाई कापी कलम किनेर दिएको भए ती बच्चाहरु कति खुशी हुने थिए होलान । उपचार खर्चको अभावमा मृत्यु शैय्यामा छट्पटाइरहेको गरीबलाई दिएको भए पनि उनले जीवन र खुशीसँगै पाउने थिए । नेतालाई खुशी पारेर खुशी नेपाली, सुखी नेपाली बन्छ ?