१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीमा इआरपी सिस्टमबाट तेल बिक्री गरेपछि बिल देखाउँदै कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललगायत ।
अजित अधिकारी काठमाडौं
२०७८ श्रावण ३ आइतबार २०:२०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगमद्वारा इआरपी प्रणाली लागू, अमलेखगन्जबाटै सुरुकै दिन दुई सय ट्यांकरको बिलिङ

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ श्रावण ३ आइतबार २०:२०:००

नेपाल आयल निगम लिमिटेडले एक वर्षको तयारीपछि इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली आइतबारबाट लागू गरेको छ । इन्धन कारोबारको सम्पूर्ण हिसाब पारदर्शी रूपमा राख्न मिल्ने यो सिस्टमले निगमभित्र वित्तीय अनुशाशन कायम गर्न सघाउ पुग्ने दाबी गरिएको छ ।

इआरपीको माध्यमबाट आयल निगमका लेखा, प्रशासन, वितरण, इन्जिनियरिङसहित सातै प्रदेशका डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपोहरू एकीकृत सूचना प्रणालीमा जोड्न सुरु गरेको निगम प्रवक्ता विनीतमणि उपाध्यायले बताए । ‘आइतबार दिउँसोबाट इआरपी सिस्टम लागू भएको छ । सबै डिपोले इआरपी सिस्टमबाटै इन्धनको बिलिङ सुरु गरेका छन्,’ उनले भने ।

उनका अनुसार झापाको चारआली, विराटनगर, अमलेखगन्ज, काठमाडौंको थानकोट, भैरहवा, नेपालगन्ज, सुर्खेत, धनगढीलगायतका डिपोबाट इआरपी प्रणालीबाटै व्यवसायीबाट रकम भुक्तानी लिई तेल पठाइएको छ । अमलेखगन्ज र थानकोट डिपोले आइतबार कार्यालय खुल्नासाथ इआरपी प्रणालीबाट तेलको बिलिङ गरेका थिए भने भैरहवा, पोखरा, जनकपुरले साँझ मात्रै बिलिङ सुरु गर्न सकेका थिए ।

इआरपी प्रणालीको कार्यान्वयनमा निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्ज सबैभन्दा प्रभावकारी देखिएको छ । डिपो प्रमुख प्रदीप यादवका अनुसार बिहान १० बजे कार्यालय खुल्नासाथ इआरपी प्रणालीबाटै तेलको बिलिङ थालिएको थियो । ‘दिनभरमा दुई सय ट्यांकरबाट चार हजार किलोलिटर तेल बिक्री भएको छ,’ उनले भने, ‘जुन अहिलेसम्मै सबैभन्दा बढी बिक्री हो ।’

अनलाइन प्रणालीबाटै तेल खरिद गर्न चाहेको परिमाणबराबरको रकम भुक्तानी लिई व्यवसायीको पम्पमा तेल पठाइने भएकाले धेरै सजिलो भएको यादवले बताए । ‘तेल खरिद गर्न चाहने व्यवसायीबाट लाइन लगाएर बैंक भौचर लिई रकम बुझ्ने झन्झट गर्नुपरेन, त्यसैले छिटो काम गर्न सकियो,’ यादवले भने ।

निगमले यसअघि गत ३ वैशाखबाट इआरपीको परीक्षण कार्यान्वयन थालिएको थियो । त्यतिखेर तयारी नपुगेकाले स्थगित गरेर आइतबारबाट लागू गरिएको प्रवक्ता उपाध्यायले बताए । इआरपी सिस्टम लागू गरेपछि पेट्रोलपम्प व्यवसायीले घरमै बसेर इन्धन खरिदका लागि पैसा भुक्तानी गरेका छन् ।

निगमका अनुसार पम्प व्यवसायीलाई सिस्टमको युजरनेम र कोड दिइएको छ । त्यसबाटै लगइन गरेर खरिद गर्न चाहेको इन्धनको परिमाणबराबरको रकम बंैक अकाउन्ट लिंक गरेर निगमको खातामा जम्मा गर्न सक्छन् । अहिले तेल खरिद गर्न चाहेको परिमाण निगमबाट स्वीकृत गर्ने, सो परिमाणबराबरको रकम बैंकमा जम्मा गरेर त्यसको भौचर निगमको डिपोमा पेस गर्ने र त्यसपछि मात्रै तेल खरिद गर्न पाउने झन्झटिलो व्यवस्था थियो ।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इआरपी कार्यान्वयनमा आएपछि व्यवसायीले घरमै बसेर अनलाइन भुक्तानी गरी तेल खरिद गर्न सक्ने जानकारी दिए । त्यस्तै ट्यांकर व्यवसायीले पनि इन्धन ओसारेबापतको ढुवानी भाडा खातामै पाउने भएकाले निगम धाउनु नपर्ने कार्यकारी निर्देशक पौडेलले बताए ।

आयल निगमले चाँडै इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद गर्न इन्धनको भुक्तानीसमेत इआरपी प्रणालीबाटै गर्ने जनाएको छ । निगमले हाल मासिक साढे १२ अर्ब रुपैयाँ इन्धन खरिद गरेबापत आइओसीलाई भुक्तानी दिँदै आएको छ । विश्वव्यापी रूपमा करिब ८० प्रतिशत तेल उत्पादक कम्पनीले इआरपी प्रविधि प्रयोग गर्दै आएकाले निगमले पनि प्रयोगमा ल्याएको पौडेलले बताए ।

यो सिस्टममा गुणस्तर नियन्त्रणलाई पनि राखिएको छ । कुनै ट्यांकरको पेट्रोलियम पदार्थमा खराबी आयो भने सिस्टमबाट त्यसको रिपोर्ट सम्बन्धित विभागमा पुग्ने व्यवस्था गरिएको छ । दोस्रो चरणमा आइओसीको सिस्टमसम्म पनि यो प्रणाली जडान गर्ने निगमको योजना छ । आइओसीसँग एकीकृत गरेपछि आइओसीको रिफाइनरीमा लोड भएको ट्यांकरको विवरण पनि रियल टाइम निगमले थाहा पाउँछ ।