१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ३ आइतबार ०८:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लामो दूरीका यातायात पनि खुलाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ३ आइतबार ०८:०३:००

सरकारले लामो दूरीका सार्वजनिक यातायात खुलाउने तयारी गरेको छ । सबै सरकारी तथा सार्वजनिक निकाय खुलिसकेको अवस्थामा लामो दूरीका सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणले दुःख पाएको गुनासो बढेपछि सञ्चालन गर्न दिन लागिएको हो । 

कोभिड– १९ संकट व्यवस्थापन समिति (सिसिएमसी)मा यसबारे छलफल भएको छ । जसअनुसार आगामी साता यसबारे निर्णय आउन सक्ने सिसिएमसीका एक सदस्यले बताए । 

अहिले सबैजसो जिल्लामा सार्वजनिक यातायात खुलेका छन् । अन्तर्जिल्ला यातायात सञ्चालन नहुँदा सर्वसाधारण जिल्लैपिच्छे सवारीसाधन फेरेर यात्रा गर्न विवश छन् । यसले एकातर्फ सर्वसाधारणलाई सास्ती भएको र अर्काेतर्फ कोरोना जोखिमसमेत बढाउने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर लामो दूरीका यातायात सञ्चालन गर्न दिने तयारी गरिएको छ । 

उपत्यकामा निजी सवारीसाधनको हकमा प्रवेश र बाहिर जान खुला भइसकेको छ । गत ३१ असारमा बसेका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निजी सवारीसाधनका हकमा उपत्यका प्रवेशका लागि पास नचाहिने निर्णय गरेको थियो । लामो दूरीका यातायातको सन्दर्भमा सिसिएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । 

कोरोना संक्रमण दर अझै उच्च भए पनि सबै जसो जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ । हाल संक्रमण दर २० प्रतिशतकै हाराहारी छ । निषेधाज्ञा खुकुलो भएसँगै कतिपय जिल्लामा संक्रमण बढेको छ । 

सरकारले परीक्षासमेत सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ । उपत्यकाका कलेजमा अध्ययनरत कतिपय विद्यार्थी उपत्यकाबाहिर गएका छन् । साथै, सबै प्रकारका कार्यालयसमेत खुलिसके पनि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन नहुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन् । 

आन्तरिक हवाई उडान दुई साताअघिदेखि नै सुरु भइसकेको छ । तर, लामो दूरीका सार्वजनिक यातायात सञ्चालन नहुँदा आन्तरिक हवाई सेवामा चाप बढेको छ ।