१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २ शनिबार २०:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस क्रियाशील सदस्यता छानबिनको काम रोकियो, आक्रमण गर्नेलाई कारबाही नभएसम्म काम नगर्ने अडान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २ शनिबार २०:४०:००

क्रियाशील सदस्यता छानबिनको विषयलाई लिएर केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि हातपात भएपछि कांग्रेसको क्रियाशील सदस्यता छानबिनको काम रोकिएको छ । शुक्रबार समितिका सदस्यसमेत रहेका नेता घिमिरेमाथि सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलगायतले गालीगलौज र दुर्व्यवहार गरेका थिए । 

छानबिन समितिले सो घटनालाई लिएर त्यसपछि छानबिनका सबै काम रोकेको छ । घटनाका दोषीलाई कारबाही नभएसम्म क्रियाशील छानबिनको कामै नगर्ने समितिको अडानपछि कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार अपरान्ह पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर समस्या समाधानको प्रयास गरेका छन् । तर, शनिबार साँझसम्म पनि छानबिन समितिले काम सुचारु गरेको छैन । 

दोषीलाई कारबाही नभएसम्म हामी काम गर्दैनौँ । हामी रातदिन खटिएर काम गर्ने, अन्ततः हाम्रै जीवन जोखिममा पर्ने कुरा सामान्य हुनै सक्दैन,’ छानबिन समितिका एक सदस्यले भने । 
शुक्रबारको घटनापछि छानबिन समितिले तत्कालै काम रोकेको, तर बाहिर हल्ला नगरेको स्राेतको दाबी छ । छानबिन समितिले पार्टीको महाधिवेशन प्रभावित हुने सन्देश नजाओस् भनेर बाहिर हल्ला नगरे पनि पार्टीका नेतालाई भने छानबिन समितिमाथि भएको हातपातको घटनामा दोषीलाई कारबाही नभएसम्म काम अघि नबढाउने चेतावनी दिएको थियो । 

शुक्रबार बालुवाटारमा पदाधिकारी बैठक चलिरहेकै वेला गौशालास्थित नेपाल–भारतमैत्री धर्मशालामा केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण भएको थियो । त्यसबारे बैठकमा छलफल भए पनि बैठकले ठोस निर्णय गरेन । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर निन्दा गर्दै त्यस्तो अनैतिक कार्य स्वीकार्य नहुने बताए । तर, छानबिन समिति सदस्यहरूले पार्टीको जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रीय सदस्यको ज्यानै जोखिममा पर्ने गरी देखिएका घटनालाई लिएर सिरियस नभएको भन्दै कारबाही नभएसम्म काम रोक्ने अडान लिएपछि देउवाले आकस्मिक बैठक बोलाएका थिए । 

बालुवाटारमा बसेको बैठकले घिमिरेमाथि भएको हातपातका विषयमा छानबिन गरी दोषीउपर कारबाहीका लागि अनुशासन समितिलाई निर्देशन दिएको छ । घिमिरेमाथि आक्रमण गर्नेमध्ये सिन्धुपाल्चोकको क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेतसमेत छन् । बैठकले २४ घन्टाभित्र स्पष्टीकरण लिएर पार्टी विधानबमोजिम तीन दिनभित्र कारबाहीको टुंगो लगाउन अनुशासन समितिलाई निर्देशन दिएको छ ।