मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
३० महिनामा सक्ने गरी ०७५ फागुनमा सुरु भएको सहजपुर–बिपीनगर–बोगटान सडकको अलपत्र कैलाली खण्ड । तस्बिर : नयाँ पत्रिका
२०७८ असार २७ आइतबार ०९:०२:००
Read Time : > 2 मिनेट
प्रदेश प्रिन्ट संस्करण

प्रधानमन्त्रीले शिलान्यास गरेको सडकको प्रगति दयनीय

Read Time : > 2 मिनेट
२०७८ असार २७ आइतबार ०९:०२:००

निर्माण सम्पन्न हुने अवधिमा ४१ प्रतिशत काम

कैलाली र डोटीका दर्जनौँ ग्रामीण बस्तीलाई यातायात सुविधासँग जोड्ने सहजपुर–बीपीनगर–बोगटान सडक निर्माण सम्पन्न गर्नुपर्ने अवधिमा ४१ प्रतिशत मात्र काम भएको छ । सम्झौताको ३० महिना सकिँदा ट्र्याक खोलिएको कच्ची सडक चौडा गर्ने कामसमेत पूरा भएको छैन ।

प्रधानमन्त्री केपी ओलीले ७ फागुन ०७५ मा डोटीको बिपी नगरमा आयोजित कार्यक्रममार्फत यो सडकको शिलान्यास गरेका थिए । त्यसक्रममा उनले स्थानीयलाई अबको ३० महिनाभित्र सडक पिच भएर सरर गाडी गुड्ने विश्वास दिलाएका थिए । ‘यो सडक अबको ३० महिनाभित्र पिच भएर सरर गाडी गुड्नेछ । घरछेउमै पिच सडक भएपछि यो क्षेत्रको कायापलट हुनेछ,’ प्रधानमन्त्री ओलीले भनेका थिए । प्रधानमन्त्रीको आश्वासनपछि तीन दशकअघि ट्र्याक खोलिएको सडक कालोपत्रे हुनेमा स्थानीय आशावादी बनेका थिए । तर, सम्झौता अवधि सकिँदा न प्रधानमन्त्रीको आश्वासन पूरा भयो, न सडक कालोपत्रे भयो ।

५० किलोमिटर यो सडक क्षेत्रमा पर्ने रूखहरू काट्ने आदेश समयमा नपाएपछि निर्माणमा ढिलाइ भएको हो । निर्माण पूरा गर्नुपर्ने निर्धारित अवधिमा आधा कामसमेत नहुँदा ६ महिना म्याद थप गरिएको छ । तर, थपिएको समयमा पनि कालोपत्रे सकिने देखिँदैन । ३० महिनाअघि आशावादी भएका जनता अहिले निराश भएका छन् । निर्माण कार्यको क्रममा खनिएका खाडलहरूका कारण उल्टै जनताले सास्ती खेप्नु परिरहेको छ । 

‘डोजरले ठाउँठाउँमा खनेको सडकमा हिलो र धुलोले झन् सास्ती खेप्नुपरेको छ,’ कैलालीको चुरे गाउँपालिका–१ का ललित साउँदले नयाँ पत्रिकासँग भने, ‘घामपानीमा हुने हिलो–धुलोले सडकमा आउजाउ गर्न गाह्रो हुने गरेको छ ।’ उनले रूख काट्न नपाउँदा सडक बनाउन ढिलो भएको आफूले सुनेको बताए । कैलालीको निगालीका स्थानीय अमृत धामीले अहिले पनि तीव्र गतिमा काम हुन नसकेको बताए । ‘प्रधानमन्त्रीले नै शिलान्यास गरेर छिट्टै सम्पन्न हुने आश्वासन दिएपछि सडक बन्ने भयो भन्ने आशा लागेको थियो,’ धामीले भने, ‘तर, अहिलेसम्मको काम हेर्दा सितिमिति बन्ने देखिँदैन ।’ रूख काट्ने काम अहिले बल्ल सकिएको उनले बताए ।

कैलालीको सहजपुरदेखि डोटीको अत्तरकाँडासम्म ५० किलोमिटर लामो यो सडक कालोपत्रे गर्न नेपाल सरकारले दुई अर्ब लागतमा पिआरएल कुमार जेभीसँग सम्झौता गरेको छ । सडक निर्माणका लागि सरकारले एक्जिम बैंक अफ इन्डियासँग ऋण लिएको आयोजना प्रमुख उज्जल श्रेष्ठले बताए । ५० किलोमिटरमध्ये सहजपुरदेखि साढे तीन किलोमिटरमा पहिलो चरणको कालोपत्रेको काम सकिएको उनले जानकारी दिए । पाँच किलोमिटरमा कालोपत्रेका लागि बेस हाल्ने र १० किलोमिटर सडक ग्राभेल गर्ने काम सकिएको आयोजना कार्यालयले जनाएको छ । बाँकी खण्डमा ट्र्याक खोलिएको सडक चौडा गर्ने काम आयोजना प्रमुख श्रेष्ठले बताए ।

म्याद थपको माग
निर्धारित अवधिमा प्रगति न्यून भएपछि थप गरिएको ६ महिनाको अवधि आगामी डिसेम्बरमा सकिँदै छ । तर, उक्त अवधिमा सडक कालोपत्रेको काम नसकिने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले साइड खाली नहुँदा काम गर्न नपाएको भन्दै थप २० महिना समय मागेको आयोजना प्रमुख श्रेष्ठले बताए । सुरुको सम्झौता अवधि सकिएकै वेला निर्माण कम्पनीले ६ सय दिन थप्न माग गरेको उनले जानकारी दिए । बढीमा १५ महिना थप हुन सक्ने श्रेष्ठले बताए । 

हाल सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका तत्कालीन जिल्ला पञ्चायत सभापति भरतबहादुर खड्काले २०४४ सालमा ट्र्याक खोल्ने कामको शिलान्यास गरेका थिए । डोटीका दर्जनौँ विकट ग्रामीण बस्ती भएर जाने यो सडकले दिपायलसम्म जोड्छ । दिपायलसम्म एक सय १८ किलोमिटरमध्ये केही खण्डमा मात्र ट्र्याक खोल्ने काम बाँकी छ । 

अहिले निर्माणाधीन ५० मध्ये १८ किलोमिटर कैलालीमा पर्छ । हरेक चुनावमा नेताहरूले यो सडकलाई चुनावी मुद्दा बनाउने गरेका छन् । तर, चुनाव जितेपछि नेताहरूले फर्केर नहेरेको स्थानीयको गुनासो छ । यो सडक कालोपत्रे भए दर्जनौँ विकट ग्रामीण बस्तीहरू यातायात सुविधासँग जोडिनेछन् । 

सम्झौताको २७ महिनापछि रूख कटान आदेश
सरकारले सहजपुर–बिपीनगर–बोगटान सडक कालोपत्रे गर्ने सम्झौता गरेको २७ महिनापछि मात्र रूख कटानको आदेश दिएको थियो । ३० महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने गरी २२ मंसिर २०७५ मा सम्झौता गरेको सरकारले गत १९ माघमा आएर रूख कटानको अनुमति दिने निर्णय गरेको हो । 

रूख कटानको आदेश नपाएकै कारण सडक निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख श्रेष्ठले बताए । सरकारको अनुमतिपछि सडक क्षेत्रमा पर्ने करिब तीन हजार आठ सय रूख कटानको काम साताअघि सकिएको उनले बताए । क्षेत्राधिकार खाली भइसकेकाले अब सडक निर्माणलाई तीव्रता दिन निर्माण कम्पनीलाई निर्देशन दिइएको आयोजना कार्यालयले जनाएको छ । पिआरएल कुमार जेभीका आयोजना उपसम्पर्क प्रबन्धक प्रवेश मानन्धरले रूख काट्ने अनुमति नपाउँदा २७ महिनासम्म काम गर्न नपाएको बताए । रूख कटानको काम सकिएसँगै सडक चौडा पार्ने काम तीव्र पारिएको उनले दाबी गरे । बर्खा सकिनेबित्तिकै ग्राभेल गरिएको १० किलोमिटरमा कालोपत्रेको काम सुरु गरिने मानन्धरले बताए ।