अहिलेको शिक्षाले हामीलाई असफल ‘रोबोट’ बनाइरहेको छ, स्मार्ट रोबोटहरूको उदयसँगै हाम्रो शिक्षा पूर्ण रूपमा असफल हुनेछ
बेलायतको एउटा ठूलो रोजगारदाता कम्पनी ‘अर्नस्ट एन्ड योङ’ले २०१५ मा विभिन्न अध्ययनलाई आधार मानेर एउटा निष्कर्ष निकाल्यो– विद्यार्थीको विद्यालयको सफलता र विद्यालयपछिको व्यावसायिक जीवनको सफलताबीच खासै सम्बन्ध छैन । त्यसैले उनीहरूले रोजगारी दिँदा सर्टिफिकेटलाई प्राथमिकता नदिने निर्णय गरे । गुगलले केही वर्षअघि ‘बजारले कस्ता व्यक्तिहरू खोज्दै छ ?’ भन्ने अध्ययन गर्यो । नतिजा आयो– स्मार्ट, सीपयुक्त, ऊर्जावान्, लगनशील, नेतृत्व क्षमता भएका, टिमवर्क गर्न सक्ने, आत्मविश्वास, प्रभावकारी सञ्चार कला भएका, समय व्यवस्थापन गर्न सक्ने जनशक्ति बजारले खोज्दै छ ।
यी दुईवटा अध्ययनले देखाउँछन्, हाम्रा विद्यालयले हाम्रा विद्यार्थीलाई जे दिइरहेको छ, आजको आवश्यकता त्यो होइन । हालको शिक्षाको मोडेल औद्योगिक युगमा तत्कालीन आवश्यकता पूर्तिका निम्ति निर्माण गरिएको थियो । जहाँ स्कुल एउटा कारखानाजस्तो थियो । समस्या के भयो भने हामीले औद्योगिक युगलाई छाडेर आइटीको युग, कल्पनाको युगमा प्रवेश गरेका छौँ, तर हाम्रो शिक्षा दशकौँदेखि बदलिएको छैन । झन् कोभिडले ल्याएको परिवर्तनसँगै आइटीको क्रान्तिले सबै अवरोधका घेराहरू तोडेको छ । शिक्षामा प्रविधिले फड्को मारेको छ । अब तपाईं घर बसीबसी पढ्न सक्नुहुन्छ । आफूलाई मन लागेको विषय र शिक्षक छान्न सक्नुहुन्छ । बोरिङ कक्षाहरू नपढ्न सक्नुहुन्छ । यो प्रविधिको अद्भूत शक्ति हो । तर, प्रविधि यतिमै मात्र रोकिनेवाला छैन । प्रविधिले कस्तो फड्को मार्ला ? गरिएका र भनिएका अनुमानभन्दा निकै फरक परिणाम आउनेवाला छ । त्यसको सबैभन्दा ठूलो असर शिक्षामा पर्नेवाला छ । विद्यार्थीमा पर्नेवाला छ । तिनको जीवनमा, देशको समग्र अर्थतन्त्रमा पर्नेवाला छ ।
अबको युग कम्प्युटर, स्मार्टफोन वा ल्यापटप वा ट्याबको मात्र युग हुनेछैन । अबको युग रोबोटको युग हो । सन् २०१० देखि त रोबोटको प्रयोग वार्षिक रूपमा ९ प्रतिशतले बढेको छ । यो प्रतिशत झन्–झन् बढ्दै छ । अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगले रोबोटहरू पनि स्मार्ट हुनेछन् । जसले दैनिकीका अधिकांश काम गर्नेछ । अक्स्फोर्ड विश्वविद्यालयको अध्ययनअनुसार अमेरिकाका ४७ प्रतिशत श्रमिकको जागिर अटोमेसनले विस्थापित गर्दै छ । अब दिमाग लगाउन नपर्ने कामका निम्ति मानिस चाहिनेवाला छैन । साइन ठोकेर जागिर पकाउन अबको आउँदो दशकपछि पाइनेछैन । त्यो काम कम्प्युटर, रोबोटले गर्नेछ ।
कोरोनाकालमा अनलाइन शिक्षाले फड्को मारेसँगै होम स्कुलिङको ट्रेन्ड पनि बढ्ने देखिएको छ । होम स्कुलिङमा विद्यार्थीले अरू भएर होइन, आफैँ भएर पढ्न पाउनेछन् । केही दशकअघि प्राइभेट स्कुलहरू खुलेजस्तै अब बिस्तारै होम स्कुलिङ दिने संस्थाहरू पनि बढ्दै जानेछन्, जसले विद्यार्थीलाई व्यक्तिगत रूपमा पढाउनेछन् ।
प्रोफेसर क्याथी डेभिड्सनले आफ्नो किताब ‘नाउ यु सी इट’मा भनेकी छन्, ‘अहिले पढिरहेका ६५ प्रतिशत विद्यार्थीले भविष्यमा त्यस्तो काम गर्नेछन्, जुन काम अहिलेसम्म कसैले गरिरहेको छैन । अनि, यो भयंकर परिवर्तन भइरहेको संसारमा हाम्रा बुबा–आमा, बुबा–आमाको पनि बुबा–आमा अनि उहाँहरूको बुबा आमाको पनि बुबा–आमालाई पढाएको कुरा पढाएर फरकपन आउनेवाला छैन ।’ विगतको शिक्षाले एकोहोरो कसैले भनेको आदेश मान्ने जनशक्ति उत्पादन ग¥यो, तर अबको भविष्य भनेको आलोचनात्मक चेत राख्ने, केही नयाँ प्रयोग गरिरहने र सिर्जनशीलता राख्नेहरूको हो । अब भविष्य आफ्नो प्यासन अर्थात् लगावलाई सफलतामा बदल्न मिहिनेत गर्नेहरूको हो । भविष्यको कामबारे एउटा लेखमा लेखक तथा रणनीतिकारका रूपमा परिचित जोन हेगेल तृतीयले समेत भविष्यका कामहरूमा सफल हुन आफ्नो प्यासनलाई बुझ्नुपर्ने र त्यो भावलाई आफ्नो कामसँग जोड्नुपर्ने बताएका छन् । अहिलेको शिक्षा र शैक्षिक संरचनाले भविष्यमा हामीले गर्नुपर्ने कामहरूका निम्ति हामीलाई तयार गराइरहेको छैन । जसले गर्दा हालको शैक्षिक पद्धतिमै प्रश्न उठेको छ । जिब्रो नचपाई भन्नुपर्दा, यो शैक्षिक प्रणाली नै असफल भइसकेको छ ।
अहिले संसारमा विभिन्न स्थानमा स्कुल पठाउन बन्द गरिन थालिएको छ । फरक–फरक रुचि र क्षमता भएका विद्यार्थीलाई एउटा कक्षामा राखेर एकै हिसाबले पढाउने शिक्षामा रुचि घट्दै गएको छ । यसरी हुने पठनपाठनले विद्यार्थीको समय खेर गएको भनेर संसारभरि बहस उठेको छ । अब बिस्तारै विद्यार्थीलाई घरमै पढाउने प्रचलनको सुरुवात हुन थालेको छ । यसको पछाडि पनि विद्यार्थीको लगावलाई नै केन्द्रमा राखिएको छ । विद्यार्थीले आफ्नो रुचिअनुरूप आफ्नो क्षमता विकास गर्ने र त्यही विधामा राम्रो गर्ने स्कुलिङको ‘ट्रेन्ड’ सुरु हुँदै छ । होम स्कुलिङमा अभिभावकले पनि प्रत्यक्ष सहजकर्ताको भूमिका निभाउने हुँदा यसप्रति विश्वसनीयता बढ्दो छ । कोरोनाकालमा अनलाइन शिक्षाले फड्को मारेसँगै होम स्कुलिङको ट्रेन्ड पनि बढ्ने देखिएको छ । होम स्कुलिङमा विद्यार्थीले अरू भएर होइन, आफैँ भएर पढ्न पाउनेछन् । केही दशकअघि प्राइभेट स्कुलहरू खुलेजस्तै अब बिस्तारै होम स्कुलिङ दिने संस्थाहरू पनि बढ्दै जानेछन्, जसले विद्यार्थीलाई व्यक्तिगत रूपमा पढाउनेछन् । यो ट्रेन्ड अब केही वर्षभित्रमै संसारभर फैलनेछ । अहिलेको परम्परागत स्कुलिङमा पढ्ने अधिकांश विद्यार्थीको भविष्य संकटमा पर्नेवाला छ । उनीहरू रोबोटसँग प्रतिस्पर्धा गर्न सक्नेवाला छैनन् । हालको शिक्षाले हामीलाई असफल ‘रोबोट’ बनाइरहेको छ । स्मार्ट रोबोटहरूको उदयसँगै हाम्रो शिक्षा पूर्ण रूपमा असफल हुनेछ ।
अब हामीले परम्परागत शैक्षिक पद्धतिसँग लड्नुभन्दा पनि वैकल्पिक विद्यालयहरूको निर्माण सुरु गर्न जरुरी छ, जसले कल्पनाको युगलाई सम्बोधन गर्ने काम गरोस् । यसको नेतृत्व हालको शैक्षिक पद्धतिको सान्दर्भिकता बुझ्ने जमातले गर्न जरुरी छ । यो कुरा बुझेका अभिभावक, शिक्षक र प्रधानाध्यापकहरूले यसको नेतृत्व लिनुपर्छ । अहिले केही देशमा ‘इन्टेलेक्चुअल स्कुल’को नाममा बहस पनि सुरु भएको छ । तर, जे होस् अब शैक्षिक क्रान्तिका लागि विश्वव्यापी रूपमा भद्र आन्दोलन हुन जरुरी छ, जसले स्वतन्त्र रूपमा प्रत्येक विद्यार्थीले सिर्जनशीलता र आफ्नो लगावलाई केन्द्रमा राखेर पढ्न पाऊन् । नत्र, हामीले नै बनाएको रोबोटले हामीलाई बेरोजगार बनाउनेवाला छ ।

रोबोटकै बारेमा कुरा गर्दा अब सेल्सम्यानदेखि ड्राइभरसम्म र मेकानिक्सदेखि डाक्टरसम्मको काम पनि रोबोटले नै गर्न सक्ने बहस संसारभरि चलिरहेको छ । यो बहसले हामीले सोचेभन्दा छिटो मूर्त रूप लिनेछ । अर्काे बहस भनेको शिक्षकलाई पनि रोबोटले प्रतिस्थापन गर्न सक्ला कि नसक्ला भन्ने हो । रोबोटले शिक्षकलाई नै पूर्ण रूपमा प्रतिस्थापन गर्न त नसक्ला, तर सहायक शिक्षकको रूपमा शिक्षकलाई भने रोबोटले अवश्य सहयोग गर्नेछ । रोबोटले शिक्षकको समय बचाउने हुँदा शिक्षकले विद्यार्थीसँग थप निकट हुन समय पाउनेछन् । भाषा, कानुनजस्ता केही विषय भने रोबोटले नै पनि पढाउन सक्नेछन् । यद्यपि, दोहोरो बहस, छलफल र सिकाइमा मानवीय आत्मीयता आवश्यक पर्ने हुँदा शिक्षक यति सजिलै प्रतिस्थापन भइहाल्ने छैनन् । तर, औसत शिक्षकले भने रोबोटसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
अबको शिक्षाले विद्यार्थीलाई रोबोटको प्रतिस्पर्धी होइन, रोबोटको मालिक बन्न सिकाउनुपर्छ । के सन् २०३० मा हाम्रा विद्यार्थीले रोबोटलाई हराउन सक्लान् त ? के हाम्रा विद्यार्थीले रोबोटलाई सञ्चालन र नियन्त्रण गर्न सक्ने हैसियत बनाउलान् त ? हाम्रो शिक्षाले विद्यार्थीलाई रोबोटको प्रतिस्पर्धी बनाउला कि मालिक ?
भविष्यवेत्ता मार्टिन हेमिल्टनका अनुसार एउटा शिक्षकले कक्षामा ३० जना वा बढी विद्यार्थी पढाउँदै गर्दा उसलाई यस्तो सहयोगी (रोबोट) ले सहयोग गर्नेछ, जो कहिल्यै थाक्नेछैन, जसले अल्छी मान्नेछैन र जसले सबै विषयमा उत्तिकै दखल राख्न सक्नेछ । यसरी शिक्षक–विद्यार्थीको अनुपात १:५० वा १:३० बाट १ः१ हुन सक्छ, जसले व्यक्तिगत शिक्षालाई प्रोत्साहन गर्नेछ । साथै, विद्यार्थीको सबै भावनात्मक डाटाहरूसमेत रोबोटले राख्ने हुँदा विद्यार्थीलाई अझ रोबोटले बुझ्नेछ । शिक्षकले त्यहीअनुरूप विद्यार्थीलाई बुझाउन सक्नेछन् ।
त्यो भविष्यमा बजारमा प्रतिस्पर्धामा उत्रँदै गरेका हाम्रा विद्यार्थीहरूका निम्ति भने थप चुनौती हुनेछ । हालको शिक्षाले हाम्रा विद्यार्थीलाई सेकेन्ड क्लास रोबोटका रूपमा मात्र विकसित गर्दै छ । र, यी रोबोटहरूले फस्र्ट क्लासको रोबोटसँग भोलिका दिनमा प्रतिस्पर्धा गर्नुपर्नेछ । यहीँनेर हाम्रो शिक्षा चिप्लिँदै छ । त्यसैले अबको शिक्षाले हाम्रा कलिला विद्यार्थीलाई सिर्जनशीलता, अनुकूलन हुने र निर्णय गर्ने क्षमता सिकाउन जरुरी छ ।
एउटा अन्तर्वार्तामा राइट दाजुभाइलाई एउटा प्रश्न सोधियो, ‘तपाईंहरूमध्ये हवाईजहाज बनाउने आइडिया कसलाई पहिला आयो ?’ उनीहरूले जवाफ दिए, ‘हामीले सँगै सोच्यौँ ।’ प्रश्नकर्ताले अनौठो मान्दै फेरि सोधे, ‘तर, दुईजनाले एकैचोटि कसरी एउटै कुरा सोच्न सक्छ ?’ दाजुभाइले उत्तर दिए, ‘हामीले छलफल गर्दैगर्दा आइडिया आयो ।’ यो प्रश्नको उत्तरले हालको शिक्षा प्रणालीलाई ठूलो शिक्षा दिन्छ । उनीहरूले हामीले सँगै सोच्यौँ भन्नुको अर्थ थियो, उनीहरूले यो सोचमा छलफल गरे, वादविवाद, सहकार्य गरे । त्यसैको परिणाम असम्भव ठानिएको पनि सम्भव भयो । हो, रोबोटले नसक्ने यही बहस, छलफल, वादविवाद मानिसले गर्न सक्छ र नयाँ कुरा जन्माउन सक्छ । तर, हाम्रो शिक्षाले छलफल, बहस र वादविवादलाई प्रोत्साहन गर्दैन, जसले हाम्रा विद्यार्थीलाई भुत्ते बनाइरहेको छ । त्यसैले हामी सचेत हुने वेला आएको छ । सन् २०३० पछि संसार निकै बदलिनेवाला छ । त्यो बदलावलाई केन्द्रमा राखेर हामीले हाम्रो शिक्षा नीति र हाम्रो शैक्षिक प्रणाली नबदल्ने हो भने हामीले फेरि हाम्रा विद्यार्थीलाई आधुनिक लाहुर पठाउनुको विकल्प हुँदैन ।
अब त्रिकोणमितिका साध्यहरू सोधेर तपाईंलाई कसैले जागिर दिनेवाला छैन । हालको स्कुल हाम्रो घरको इन्टरनेटजस्तो भएको छ, जुन एकदमै सुस्त छ, आवश्यक गति नै छैन र संसारसँग बारम्बार ‘डिस्कनेक्ट’ हुन्छ । यहीबीचमा अहिलेसम्मको विज्ञानको चमत्कार देख्दादेख्दै पनि मचाहिँ केमा विश्वस्त छु भने मानिसले जति नै खत्रा रोबोट बनाए पनि अर्काे मान्छे बनाउन सक्दैन । मानिसले एउटा लामखुट्टे पनि बनाउन सक्दैन । मानिसको जस्तो दिमाग रोबोटले पाए पनि मानिसको जस्तो हृदय रोबोटमा हाल्न सकिँदैन । रोबोटमा ‘चिप’ हुन्छ, मानिसमा मन । मन नै हो, जहाँबाट बुद्धि–विवेक आउँछ । र, अबको संसारलाई चाहिने भनेको ‘विवेक र सिर्जना’ हो । यही बुझेर हाम्रो शिक्षाले हाम्रो विवेक र लगनलाई तिखार्न जरुरी छ ।
यदि हामीले हाम्रो शिक्षामा परिवर्तन ल्याउन सकेनौँ भने हाम्रा रटेर पास गरेका विद्यार्थी विकसित मुलुकमा गएर आफूभन्दा सक्षम र उपयोगी रोबोटका भागहरूलाई जोडेर रोबोट बनाउने काम गर्नेछन् । बुढ्यौलीतर्फ ढल्कँदै गएका विकसित मुलुकहरूमा बूढाबूढीलाई सहयोग गर्ने काम गर्नेछन्, तर रोबोटलाई टक्कर दिएर आफ्नो प्यासन र सिर्जनशीलतालाई प्रस्तुत गर्न सक्नेछैनन् । तसर्थ, हामी अबको एक दशकपछिका लागि आजैबाट तयार रहन जरुरी छ ।
अबको शिक्षाले विद्यार्थीलाई रोबोटको प्रतिस्पर्धी होइन, रोबोटको मालिक बन्न सिकाउनुपर्छ । के सन् २०३० मा हाम्रा विद्यार्थीले रोबोटलाई हराउन सक्लान् त ? के हाम्रा विद्यार्थीले रोबोटलाई सञ्चालन र नियन्त्रण गर्न सक्ने हैसियत बनाउलान् त ? हाम्रो शिक्षाले विद्यार्थीलाई रोबोटको प्रतिस्पर्धी बनाउला कि मालिक ? हाम्रो शिक्षाले लगत्तैको आगतलाई सम्हाल्ने ल्याकत राख्ला त ?
(लेखक विवेकशील साझा पार्टीका संयोजक हुन्)
Follow @MilanPandey