मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
मुना कुँवर काठमाडौं
२०७८ असार २४ बिहीबार १३:३३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

जीवन बिमा पोलिसी बिक्रीमा  कडाइ, तीन वर्षपछि मात्रै कर्जा पाइने 

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
२०७८ असार २४ बिहीबार १३:३३:००

बिमा समितिले जीवन बिमा पोलिसी बिक्रीमा कडाइ गर्ने भएको छ । जीवन बिमा पोलिसी बिक्रीमा अनियमितता भइरहेको भन्दै समितिले जीवन बिमा पोलिसीसम्बन्धी निर्देशिका जारी गर्दै कडाइ गर्ने तयारी गरेको हो । नेपालमा सञ्चालित १९ जीवन बिमा कम्पनीहरूले सावधिक, आजीवन तथा म्यादी जीवन बिमा पोलिसी बिक्री गर्दै आएका छन् । केही पोलिसी बिमा समिति आफैँले निर्माण गरेको छ भने अधिकांश पोलिसीहरू कम्पनीहरूले नै निर्माण गरेका छन् ।

कम्पनीहरूले निर्माण गरेको पोलिसीलाई समितिले स्वीकृति दिएपछि बिक्री गर्न सकिने व्यवस्था छ । तर, कम्पनीहरूले आफ्नो अनुकूल पोलिसीहरू बिक्री गर्न थालेकाले अनियमितता हुने गरेको समितिको ठहर छ । सोहीकारण, जीवन बिमा पोलिसीमा एकरुपता ल्याउन निर्देशिका जारी गर्नुपरेको समितिका कार्यकारी निर्देशका राजुरमण पौडेलले बताए । 

तीन वर्षपछि मात्रै कर्जा र समर्पण गर्न पाइने
अबदेखि बिमितहरूले बिमा पोलिसी खरिद गरेको तीन वर्षपछि मात्रै बिमा पोलिसीबापत कर्जा र समर्पण गर्न पाउने भएका छन् । समितिले निर्देशिका जारी गर्दै बिमितले लगातार तीन वर्षको बिमाशुल्क भुक्तानी गरेपछि मात्रै बिमा पोलिसी धितो राखी कर्जा दिन सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी, बिमितले पोलिसी समर्पण गर्न चाहेमा पनि लगातार तीन वर्षको बिमाशुल्क भुक्तानी गरेको हुनुपर्नेछ । यसअघि बिमा पोलिसी खरिद गरेको दुई वर्ष पूरा भएपछि कम्पनीहरूले बिमा पोलिसी धितोबापत कर्जा उपलब्ध गराउँदै आएका थिए । त्यस्तै, एकल बिमाशुल्क भुक्तानीे बिमा पोलिसीमा भने पोलिसी खरिद गरेको केही दिनमा कम्पनीहरूले बिमितलाई कर्जा उपलब्ध गराउँदै आएका थिए । 

त्यस्तै, एकल बिमाशुल्क भुक्तानी पोलिसीको हकमा पोलिसी खरिद गरेको तीन वर्षपछि समर्पण गरेमा बिमितले बिमाशुल्कको ८० प्रतिशत र आर्जित बोनस रकम पाउन सक्ने व्यवस्था गरेको छ । चार वर्ष पूरा भएपश्चात् भने बिमाशुल्कको ८५ प्रतिशत र आर्जित बोनस पाउन सक्नेछन् । पाँच वर्षपछि भने बिमाशुल्कको ९० प्रतिशत र आर्जित बोनस बिमितले पाउँनेछन् । 

बिमितहरूले बिमा पोलिसी धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा दिन सकिने समेत व्यवस्था गरेको छ । कर्जामा विमकले ब्याज लिन सक्नेछ । यस्तो ब्याज बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्नेछ । 

पाँच वर्षसम्म पुनर्जागरण  नगरेमा कालोसूचीमा राखिने
बिमितले बिमा पोलिसी व्यतित भएको पाँच वर्षसम्म पनि पुनर्जागरण नगरेमा बिमकले सोही बिमितलाई नयाँ पोलिसी बिक्री गर्न पाउनेछैन । तर, बिमितले सन्तोषजनक प्रमाण पेस गरेमा बाँकी रहेको बिमाशुल्क र ब्याजसमेत भुक्तानी गरेमा बिमा अवधिभर कुनै पनि समयमा बिमकले बिमा पोलिसी पुनर्जागरण गर्न सक्ने निर्देशिका व्यवस्था गरेको छ । यस विषयमा समितिले यसअघि कुनै पनि व्यवस्था गरेको थिएन । 

त्यस्तै, बिमकले सञ्चालक समितिको स्वीकृत लिई ब्याज छुट योजना सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । ब्याजमा आंशिक वा पूर्ण छुटसमेत प्रदान गर्न सक्नेछ । ब्याज छुट गर्ने प्रयोजनका लागि भने दुई वर्षअगाडि देखि व्यतित भएका बिमालेखहरूलाई मात्र समावेश गर्न सक्नेछ । तर, यस्तो सुविधा बिमितलाई बिमा अवधिभरि एकपटक मात्र प्रदान गर्न सक्नेछ । 

स्वीकृत बिमा पोलिसी ६ महिनाभित्र सञ्चालनमा नल्याए स्वतः रद्द हुने
जीवन बिमा कम्पनीहरूले बिमा समितिबाट स्वीकृत पाएको बिमा पोलिसी ६ महिनाभित्रमा सञ्चालनमा नल्याए पोलिसी रद्द हुनेछ । समितिले जारी गरेको निर्देशिकाबमोजिम एकपटक रद्द भइसकेको बिमा पोलिसी बिमकले कारणसहित समितिका निवेदन दिएमा समितिले पुनः सञ्चालनका लागि अनुमति दिन सक्नेछ । पुनः सञ्चालनका लागि अनुमति दिइएको ६ महिनाभित्रमा पनि सञ्चालन नगरेमा पोलिसी स्वतः रद्द हुनेछ । फेरि सोही पोलिसी बिक्री वितरण गर्न पाइनेछैन । 

त्यस्तै, बिमकले कुनै पनि प्रकारको बिमितलाई भ्रममा पारी बिमा पोलिसी बिक्री वितरण गर्न पाउनेछैन । बिमकले बिमाशुल्क प्राप्त भएको मितिभन्दा अगाडिको मिति राखी पोलिसी बिक्री गर्न पाउनेछैन । ५ लाख रुपैयाँभन्दा बढी वार्षिक वा एकल बिमाशुल्क तिर्ने गरी बिमालेख बिक्री गर्दा बिमितको आम्दानीको स्रोत खुलेको कागजात अनिवार्य लिनुपर्नेछ ।

बालबालिकाको जोखिम सुरक्षण हुनुअघि मृत्यु भएमा रकम फिर्ता गर्नुपर्ने
बिमा गरिएका बालबालिकाको जोखिम सुरक्षण गर्नुअघि मृत्यु भएमा जीवन बिमा कम्पनीले बिमाशुल्क रकम फिर्ता गर्नुपर्नेछ । समितिले जारी गरेको निर्देशिकाबमोजिम जोखिम सुरक्षण भइसकेपछि मृत्यु भएमा तत्काल बिमांकको २५ प्रतिशत प्रस्तावकलाई भुक्तानी गर्नुपर्नेछ भने बाँकी ७५ प्रतिशत रकम र मृत्यु हुँदासम्म आर्जित बोनस एकमुष्ठ बिमा अवधि समाप्त भएपछि भुक्तानी गर्नुपर्नेछ । 

तर, बालबालिकाको बिमा गर्दा सबै बिमायोग्य छोराछोरी समान बिमांकको बिमा गर्नुपर्नेछ । बिमांकको सीमा ५० लाख रुपैयाँ हुनेछ । सोभन्दा बढी रकमको गर्नुपरेमा प्रस्तावकको र बालबालिको समान हुनुपर्नेछ ।