Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी
२०७८ असार २४ बिहीबार ११:००:००
Read Time : > 3 मिनेट
खेलकुद

इंग्ल्यान्ड पहिलोपटक युरोकपको फाइनलमा, उपाधिका लागि इटालीसँग भिड्ने

Read Time : > 3 मिनेट
एजेन्सी
२०७८ असार २४ बिहीबार ११:००:००

इंग्ल्यान्ड ५५ वर्षपछि पुरुषतर्फको कुनै पनि ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै इंग्ल्यान्ड जारी युरोकपको फाइनलमा पुगेको हो । 

इंग्ल्यान्ड सन् १९६६ को विश्वकप उपाधि जितेयता फेरि कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलसम्ममा पनि पुग्न सकेको थिएन । इंग्ल्यान्ड युरोकपको फाइनलमा भने पहिलोपटक प्रवेश गरेको हो । घरेलु वेम्बली स्टेडियममा एक गोलले पछि परेको अवस्थाबाट फर्किएर इंग्ल्यान्डले महत्वपूर्ण जित हात पारेको हो । गेराथ साउथगेट नेतृत्वको यो टोलीले इंग्लिस समर्थकलाई लामो समयपछि खुसीको खबर दिएको हो ।

इंग्ल्यान्डले जित हात पार्दा वेम्बली स्टेडियमको माहोल नै फरक देखिएको थियो । स्टेडियममा उपस्थित ६६ हजार दर्शक आफ्नो टोलीले लामो समयपछि प्राप्त गरेको यो महत्वपूर्ण उपलब्धिको राम्रोसँग अनुभव गरे । इंग्ल्यान्डले अब उपाधिका लागि आइतबार राति हुने फाइनल खेलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा अग्रता भने डेनमार्कले लिएको थियो । खेल सुरु भएको ३०औँ मिनेटमा मिक्केल दाम्स्गार्डले फ्रिकिकमार्फत आकर्षक गोल गरेका थिए । त्यसपछि इंग्ल्यान्डले सशक्त रूपमा पुनरागमन गर्‍याे । त्यसको नौ मिनेटपछि नै इंग्ल्यान्डले आत्मघाती गोलमार्फत खेल १–१ गोलको बराबरीमा फर्कायो । 

बुकायो साकाको क्रसलाई क्लियर गर्ने प्रयासमा डेनमार्कका कप्तान सिमोन जइरले आफ्नै पोस्टमा बल छिराएका थिए । त्यसपछिको खेलमा पनि विशेषगरी इंग्ल्यान्डले धेरै सशक्त आक्रमण गर्‍याे । यद्यपि, इंग्ल्यान्डको आक्रमणमा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलले उत्कृष्ट प्रदर्शन गर्दै असफल बनाइदिए । उनले इंग्ल्यान्डका हारी मागुइरे र हारी केनको केही सशक्त प्रहारलाई बचाए । त्यसपछि खेल थप ३० मिनेटको लम्बिएको थियो । 

खेलको १०३औँ मिनेटमा इंग्लिस समर्थकहरूले लामो समयदेखि प्रतीक्षा गरेको क्षण आइपुग्यो । डेनमार्कका जोएकिम माहिलले रहिम स्टर्लिङलाई आफ्नो डी बक्सभित्र लडाएपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरमा इंग्ल्यान्डका कप्तान केनको पहिलो प्रहारलाई डेनमार्कका गोलरक्षक स्माइकलले रोकिदिए । यद्यपि, त्यसकै रिबाउन्ड बललाई दोस्रोपटक प्रहार गर्दै केनले टोलीका लागि विजयी गोल गरे ।

यससँगै केनले मुख्य अन्तर्राष्ट्रिय प्रतियोगितामा १० गोल गर्ने गारी लिन्करको कीर्तिमानको पनि बराबरी गरेका छन् । केनको उक्त गोलसँगै लामो समय ठूला प्रतियोगिताको उपाधि प्रतिस्पर्धामा असफल हुँदै आइएको इंग्ल्यान्डका समर्थकहरूले खुसी मनाए ।

डेनमार्कको प्रेरणादायी यात्रा टुंगियो

इंग्ल्यान्डसँगको यो पराजयपछि डेनमार्कले जारी प्रतियोगितामा तय गरेको एउटा प्रेरणादायी यात्रा भने टुंगिएको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमै सहकर्मी क्रिष्टियन एरिक्सन बेहोस भएर मैदानमै ढलेको डरलाग्दो घटनापछि डेनमार्कका खेलाडीहरू एक खालको पीडा र त्रासमा देखिएका थिए । यद्यपि, त्यो अवस्थाबाट सम्हालिएको डेनमार्कले प्रतियोगितामा एकपछि अर्काे सशक्त प्रदर्शन दिएको थियो । 

प्रतियोगिताबाट बाहिरिए पनि डेनमार्कले एरिक्सनको घटना र त्यो घटनापछि टोलीले तय गरेको फरक खालको यात्राका लागि यो प्रतियोगितालाई सम्झिरहनेछ ।

इंग्ल्यान्डले तोड्यो सेमिफाइनलको ‘जिंक’

इंग्ल्यान्डको यो टोलीले बुधबारको अविस्मरणीय रातपछि वरिपरि देखिएको दुई महत्वपूर्ण प्रश्नको जवाफ दिएको छ । इंग्ल्यान्ड पछिल्ला ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सेमिफाइनलमै पराजित हुँदै आइरहेको अवस्थामा यो टोलीलाई त्योभन्दा अघि बढ्ने चुनौती थियो । इंग्ल्यान्ड सन् १९९० को विश्वकप, सन् १९९६ को युरोकप र रुस विश्वकपको पनि सेमिफाइनल चरणबाटै बाहिरिएको थियो । 

कम्तीमा इंग्ल्यान्डको यो टोलीले सेमिफाइनलको लगातारको त्यो असफलताको क्रमलाई तोडेको छ । इंग्ल्यान्डका खेलाडीहरूले जारी युरोकपमा ठूलो प्रतियोगिताको मानसिकता देखाएका छन् । यसपटक प्रिक्वार्टरफाइनल चरणमा जर्मनी र क्वार्टरफाइनल चरणमा युक्रेनलाई पराजित गरेपछि इंग्ल्यान्डमाथि उसको समर्थकको अपेक्षा बढेको थियो ।

सुरुवातमा दाम्स्गार्डको फ्रिकिक गोल व्यहोर्न पुगेपछि इंग्ल्यान्ड फेरि केही दबाबमा देखिएको थियो । जारी प्रतियोगितामा इंग्ल्यान्डले यो पहिलो गोल व्यहोरेको हो । यसअघिको कुनै पनि खेलमा इंग्ल्यान्डले गोल व्यहोरेको थिएन । इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले सात सय २१ मिनेटपछि पहिलो गोल व्यहोरेका हुन् ।

यद्यपि, बुकायो साकाको एउटा उत्कृष्ट क्रस र पेनाल्टी गुमाएपछिको रिबाउन्डमा केनको गोलपछि इंग्ल्यान्डले प्रतियोगितामा आफूलाई अझै कायमै राखेको छ । उपलब्धिको दृष्टिकोणबाट साउथगेटको यो टोलीलाई सन् १९६६ को विश्वकप उपाधि जित्दा अल्फ राम्सीले सम्हालेको टोलीपछिकै उत्कृष्ट मानिएको छ । यसबीचमा कुनै पनि प्रशिक्षकले यो सफलता दिलाउन सकेका थिएनन् ।

मुख्य खेलाडीको लय
इंग्ल्यान्डको यो सफलतामा मुख्य खेलाडीहरूले आशा गरेअनुसारको प्रदर्शन दिएका छन् । समूहगत चरणको खेलमा कप्तान तथा टोलीका मुख्य फर्वार्ड केनले गोलका लागि निकै नै संघर्ष गरे । यद्यपि, नकआउट चरणको खेलमा उनले नियमित गोल गरिरहेका छन् । डेनमार्कविरुद्धको गोल जारी प्रतियोगितामा उनको चौथो हो । सम्भवतः यो गोललाई अहिलेसम्मकै महत्वपूर्ण मान्न सकिन्छ ।

उनले आफ्नो टोलीलाई आवश्यक परेको अवस्थामा लयमा फर्किसकेको संकेत गरेका छन् । यो लय इटालीविरुद्धको फाइनल खेलमा अझ महत्वपूर्ण हुने इंग्लिस टोलीको अपेक्षा छ । इटालीका दुई रक्षक जियोर्जियो चिलेनी र लियोनार्दाे बोनुस्सीविरुद्ध उनको यो लय इंग्लिस टोलीका लागि महत्वपूर्ण हुन सक्नेछ ।

यस्तै, टोलीका अर्का महत्वपूर्ण खेलाडी स्टर्लिङले सदा झैँ उत्कृष्ट प्रदर्शन दिए । डेनमार्कविरुद्धको दुवै गोलमा उनी संलग्न रहे । इंग्ल्यान्डलाई नकआउट चरणमा पुर्‍याउन टोलीका लागि उनी एक्लैले गोल गरेका थिए । यस्तै, अर्का महत्वपूर्ण खेलाडी मागुइरे पनि चोटबाट मुक्त हुँदै टोलीमा फर्किएका छन् ।

तथ्य

–इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले सात सय २५ मिनेट गोल नव्यहोरी इंग्लिस गोलकिपरहरूका लागि नयाँ कीर्तिमान कायम गरेका छन् । उनले गोर्डाेन व्यङ्क्सको सात सय २० मिनेटको कीर्तिमान आफ्नो नाममा बनाएका हुन् ।

–इंग्ल्यान्डले युरोकपको नकआउट चरणमा पछि परेको अवस्थाबाट फर्किएर पहिलोपटक जित हात पारेको हो ।

–जारी युरोकपमा अतिरिक्त समयसम्म खेलिएको सातौँ खेल हो ।

–मिक्केल दाम्सगार्डको गोल जारी प्रतियोगितामा फ्रिकिकमार्फत सीधै भएको पहिलो गोल हो ।

–१९ वर्ष तीन सय पाँच दिनको उमेरमा बोकायो साका मुख्य प्रतियोगिताको सेमिफाइनल चरणमा पहिलो रोजाइमै मैदानमा उत्रने कान्छो इंग्लिस खेलाडी बनेका छन् ।