मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार २२ मंगलबार १०:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रधानमन्त्रीले हतारमा गरे माथिल्लो तामाकोसीको उद्घाटन

Read Time : > 1 मिनेट
२०७८ असार २२ मंगलबार १०:०३:००

प्रधानमन्त्री केपी ओलीले सोमबार राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । उनले बालुवाटारमा आयोजित कार्यक्रमबाट कम्प्युटरमा बटम थिचेर देशमा निर्माण भएको सबैभन्दा ठूलो आयोजनाको उद्घाटन गरेका हुन् । आयोजनाका कुल ६ वटा युनिटमध्ये पहिलो युनिट (७६ मेगावाट)को विद्युत् उत्पादन परीक्षण सफल हुनेबित्तिकै उनले उद्घाटन गरेका हुन् ।

सामान्यतया कुनै पनि आयोजनाको पूर्ण रूपमा परीक्षण सफल भएपछि मात्रै उद्घाटन गरिनुपर्ने विज्ञहरूको भनाइ छ । यसलाई विद्युत् प्राधिकरणकै वर्तमान र पूर्वअधिकारीहरूले पनि पूर्ण तयारी नभई उद्घाटनमा हतारो गरिएको बताएका छन् ।  

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको उद्घाटन सम्पूर्ण काम सकिएपछि मात्र हुने बताए । ‘अहिले पहिलो युनिटबाट विद्युत् उत्पादन थालिएको उपलक्ष्यमा भएको उद्घाटनका रूपमा बुझ्न सकिन्छ,’ उनले भने । केही समय पर्खेर सबै युनिटबाट विद्युत् उत्पादन परीक्षण सफल भएपछि उद्घाटन गर्नु उत्तम हुने पूर्वकार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

त्यस्तै, प्राधिकरणका पूर्वनिर्देशक विष्णुबहादुर सिंहले पनि आयोजना ऊर्जा विकासमा महत्वपूर्ण सुरुवात भए पनि सबै युनिटबाट विद्युत् उत्पादन नभई उद्घाटन गर्नु सही नभएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्राधिकरणकै एक उच्च अधिकारीले पनि सबै युनिटमा विद्युत् उत्पादनको सफल परीक्षण नगरी उद्घाटन गर्नु उपयुक्त नहुने बताए ।

बाँकी ५ युनिटबाट भदौभित्र परीक्षण उत्पादन सक्ने योजना

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः विद्युत् उत्पादन गरिने कार्यतालिका छ । कार्यतालिकाअनुसार पहिलो युनिट चार्ज भएको २ हप्तामा अर्को युनिट चार्ज गरिन्छ । भदौभित्र सबै ६ युनिटबाट विद्युत् उत्पादन गरिनेछ । आयोजना पूर्ण रूपले सञ्चालनमा आएपछि वार्षिक २ हजार २ सय ८१ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । ५ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित साउन ०६७ मा सुरु गरिएको बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण थालिएको अहिले ११ वर्ष पूरा भएको छ ।  

उद्घाटन कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब ठूला जलविद्युत् आयोजना नेपाली इन्जिनियरिङबाट निर्माण गर्न सकिने बताए । आयोजना ढिलाइ हुनुमा भूकम्पले अवरोध, त्यसपछि नाकाबन्दीको असर, पछिल्लो समयमा भने कोभिडले प्रभावित भएको उनको भनाइ छ । त्यसमध्ये पेनस्टक पाइप जडानमा भएको ढिलाइ पनि आयोजनालाई पछि धकेल्ने एउटा प्रमुख कारण रहेको शाक्यले बताए ।