मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
स्वदेशी लगानीमा निर्माण सम्पन्न भई सोमबार उद्घाटन हुने माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्र, भूमिगत विद्युतगृह । तस्बिर : नयाँ पत्रिका 
२०७८ असार २० आइतबार २०:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

माथिल्लो तामाकोसी आयोजनाको प्रधानमन्त्री ओलीले बालुवाटारबाटै भर्चुअल विधिबाट उद्घाटन गर्ने 

११ वर्षपछि माथिल्लो तामाकोसीमा ७६ मेगावाट विद्युत् उत्पादन हुँदै

Read Time : > 1 मिनेट
२०७८ असार २० आइतबार २०:०४:००

पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण सुरु भएको ११ वर्षपछि सोमबार पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्दै छ । ०६७ भदौ १७ गतेबाट मुख्य सिभिल संरचनाको निर्माण सुरु गरिएको आयोजनामा ११ वर्षपछि पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो । 

सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट आयोजनाको औपचारिक उद्घाटन गर्दै छन् । आयोजनाका अधिकारीहरूका अनुसार सोमबार प्रधानमन्त्री ओलीसहित पूर्वमन्त्रीहरू, दोलखाका सांसद, ऊर्जासचिव, प्राधिकरणका अधिकारीलगायतको टोलीको उपस्थितिमा भर्चुअल विधिबाट आयोजनाको औपचारिक उद्घाटन हुने माथिल्लो तामाकोसीका प्रशासन प्रमुख मित्रमणि पोखरेलले जानकारी दिए । 

उनका अनुसार उद्घाटन कार्यक्रमको तयारी पूरा भइसकेको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादनका लागि सबै उपकरणको सफल परीक्षण भइसकेको छ । उनले भने, ‘भूमिगत विद्युतगृहदेखि प्रसारण लाइनलगायत सबै संरचनाको परीक्षण सफल भइसकेको छ ।’ न्यौपानेले शनिबार र आइतबार २३० केभी प्रसारणलाइनअन्तर्गत गोंगर–खिम्ती र खिम्ती–ढल्केबर क्षेत्रको सफल परीक्षण भएको बताए । 

सोमबारदेखि तामाकोसीको ७६ मेगावाट बिजुली पहाडमा उत्पादन भए पनि तराई घुम्दै राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ । न्यौपानेका अनुसार सोमबार जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुखहरूलगायत सरोकारवालाहरूलाई आयोजना निर्माणस्थल गोंगरमा बोलाइएको छ । उनले बालुवाटारबाट प्रधानमन्त्री ओलीले भर्चुअल विधिबाट आयोजनाको समुद्घाटन गर्ने र गोंगरस्थित भूमिगत विद्युतगृहको पहिलो टर्वाइन सुचारु हुने बताएका छन् । 

अर्को साता दोस्रो युनिटको विद्युत् उत्पादन सुरु हुने 
आयोजनाले पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोडेपछि अर्को साता दोस्रो युनिटबाट पनि विद्युत् उत्पादन गर्ने तयारी गरेको छ । प्रवक्ता न्यौपानेका अनुसार सबै संरचनाको परीक्षण सफल भएका कारण दोस्रो युनिटबाट सहजै विद्युत् उत्पादन हुने विश्वास व्यक्त गरे । उनका अनुसार भदौ मसान्तभित्र माथिल्लो तामाकोसीका ६ वटै टर्वाइन सञ्चालनमा आउने र ४ सय ५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ । 

३५ अर्ब २९ करोडको आयोजना लागत बढेर ८४ अर्ब पुग्यो 
स्वदेशी लगानीमा निर्माण सुरु भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुवाती लागत ३५ अर्ब २९ करोड प्रक्षेपण गर्दै निर्माण सुरु भएको थियो । ०६७ मा ३५ अर्ब २९ करोडको आयोजना ०७५ मा पुग्दा ब्याजसहित ४९ अर्ब २९ करोड पुगेको प्रवक्ता न्यौपाने बताउँछन् । त्यसपछि ५२ अर्ब प्रक्षेपण गरिएको आयोजनामा ३२ अर्ब ब्याज जोडिँदा अहिले माथिल्लो तामाकोसीको कुल लागत ८४ अर्ब पुगेको जनाइएको छ । प्रवक्ता न्यौपाने ठेकेदार कम्पनीले समयमा काम नगर्नु, भूकम्प, नाकाबन्दी र विगत वर्षदेखि सुरु भएको कोभिड महामारीका कारण पनि केही लागत वृद्धि भएको बताएका छन् । 

प्रधानमन्त्रीको हास्यास्पद उद्घाटन मोह : कांग्रेस 
कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभाका सदस्य जिपछिरिङ लामाले प्रधानमन्त्री केपी ओलीको उद्घाटन मोह हास्यास्पद रहेको टिप्पणी गरे । लामाले यस्तो महामारीको वेला आयोजनाको उद्घाटनमा देशको जिम्मेवार व्यक्ति नै अग्रसर भएर हतारो गर्नु दुःखद भएको बताएका छन् । आयोजना पूर्ण रूपमा सम्पन्न भई तोकिएको क्षमताअनुसार विद्युत् उत्पादन भएपछि गरिनुपर्ने उद्घाटन कार्यक्रम पहिलो युनिट उत्पादनकै बहानामा गर्न खोज्नु गलत भएको उल्लेख गरे । 

नयाँ पत्रिकासँग कुरा गर्दै लामाले भने, ‘कांग्रेस विकासविरोधी होइन, उद्घाटनप्रति हाम्रो त्यति ठूलो असहमति पनि होइन, तर यो उपयुक्त समय होइन ।’ लामाले जतिसक्दो छिटो आयोजनालाई पूर्ण क्षमताको विद्युत् उत्पादन गरी सञ्चालनमा ल्याउन अनुरोधसमेत गरेका छन् ।