१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २० आइतबार १६:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेवको दाबी– ओली र नेपालको रिस शान्त भएपछि पार्टी एकता हुन्छ, एकताकै लागि ओलीतिर लागेँ (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २० आइतबार १६:०१:००

एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । राष्ट्रिय सभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै गौतमले ओली र नेपाल एक–आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोस्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका हुन् । 

आफू भने पार्टी एकता गर्नुपर्छ भनेर ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताए । उनले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा पनि गरे । 

उनले भने, ‘एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि । दुईतिर, तीनतिर बाँडिएकाहरूलाई नै एकता गराउने हो । अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । हलले नै एकताको प्रयत्न मुख्य कुरा वामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ । यस्तो वेलामा नआत्तीकन सबै साथीहरूलाई धैर्यधारण गरेर प्रत्यन्त गर्नुहोस् भनेर मैले अरूलाई भनेको छु । म त्यसका लागि प्रयत्नशील छु, लागिरहेको छु । माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीजीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनुभएको छ । यी दुईजनाको रिस नमर्दासम्म उहाँहरूको मातहतमा रहेका साथीहरूको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईजनाको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ, हो, त्यतातिर लागिरहेको छु ।’

अहिलेको अवस्थामा एकता सम्भव छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा गौतमले सर्वोच्चको आदेशपछि सम्भव हुने बताए । उनले भने, ‘एकता सम्भव छ । अहिले सम्भव नहोला । सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लागेको छ ।’