मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी बाकु
२०७८ असार २० आइतबार ०७:१२:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा

Read Time : > 3 मिनेट
एजेन्सी बाकु
२०७८ असार २० आइतबार ०७:१२:००

डेनमार्कलाई अन्तिम चारको यात्रा गराउन थोमस डेलनेय र कास्पेर डोलबर्गले एक–एक गोल गरेका थिए

उत्कृष्ट लयमा देखिएको डेनमार्क चालू युरोकप २०२० फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । डेनमार्कले शनिबार राति चेक रिपब्लकलाई २–१ ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । सन् १९९२ पछि युरोकप उपाधि उचाल्न डेनमार्क अब दुई पाइला टाढा छ । डेनमार्कले फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र युक्रेनबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

डेनमार्कलाई अन्तिम चारको यात्रा गराउन थोमस डेलनेय र कास्पेर डोलबर्गले एक–एक गोल गरेका थिए । चेक रिपब्लिकका लागि एक गोल प्याट्रिक सिकले फर्काएका थिए । खेल सुरु भएको पाँचौँ मिनेटमा डेनमार्क १–० को अग्रता लिन सफल भयो । डेलनेयले स्टेयगेरको कर्नरमा हेडिङ गोल गरेका हुन् । पहिलो गोलको अग्रतासँगै डेनमार्कले खेलमा पकड लियो । डोलबर्गको यो दशौँ अन्तर्राष्ट्रिय गोल हो । 

खेलको १६औँ मिनेटमा डिबक्समा स्टेगेर लेसानको क्रसमा मिडफिल्डर डेलानेलीको हेडिङ गोल प्रयास बारनजिक हुँदै बाहिरिएको थियो । चेक रिपब्लिकले बराबरी गोल फर्काउने प्रयास नगरेको होइन, तर डेनमार्कको डिफेन्स लाइन चेक रिपब्लिकका खेलाडीले तोड्न सकेनन् । खेलको ४२औँ मिनेटमा डेनमार्कले चेक रिपब्लिकविरुद्ध २–० को अग्रता लियो । 

डोलबर्गले ६ यार्ड बक्समा वान टचमै गोल गर्दै डेनमार्कलाई मध्यान्तरअघि दोहोरो अग्रता दिलाएका हुन् । कास्पेरले जोओकिम माहलेको क्रसमा दायाँ खुट्टाले गोल गरेका थिए । डोलबर्गले वेल्सविरुद्ध पनि एक गोल गरेका थिए । प्रतियोगितामा डोलबर्गले व्यक्तिगत दुई गोल पुर्‍याएका छन् । मध्यान्तरपछि नै चेक रिपब्लिक खेलमा फर्कियो । मध्यान्तरपछिको सुरुवातमा डेनमार्कका खेलाडी सम्हालिन नपाउँदै चेक रिपब्लिकले १–१ को बराबरी गोल फर्काएको हो । 

चेक रिपब्लिकलाई स्ट्राइकर सिकले १–१ को बराबरीमा पुर्‍याएका थिए । उनले काउफलको सटिक क्रसमा वान टच भली प्रहारमै गोल गरेका हुन् । चालू प्रतियोगितामा उनले व्यक्तिगत गोल संख्या पाँच पुर्‍याएका छन् । युरोकप २०२० मा सिक र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले समान पाँच गोल गरेका छन् । गोल्डेन बुटको दाबेदारीमा रोनाल्डो र सिक अगाडि छन् ।

रोनाल्डोले पाँचै गोल समूह चरणमा गरेका थिए । जसमध्ये उनले पाँच पेनाल्टी गोल गरेका थिए । पोर्चुगल प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको थियो । मध्यान्तरपछि बल पोसेसनमा बलियो चेक रिपब्लिकले खेलको ७३औँ मिनेटमा बराबरी गोल चुकाएको थियो । चेक रिपब्लिकका एन्टोनिन बाराकले डिबक्सबाहिरबाट प्रहार गरेको फ्रिकिक बललाई डेनमार्कका गोलरक्षक कास्पर स्चिमेकलले क्रसबाट एक हातले क्लियर गरेका थिए । 

एन्टोनियले क्रस निकालेको बलमा चेक रिपब्लिकका टोमास साउसेक पहिलो बारनजिकै हेडिङ गोल गर्ने तयारी अवस्थामा थिए । त्यसको केही पछि नै डेनमार्कले काउन्टर एट्याक्ट गरेको थियो । मिडफिल्डर युसुफ पाउल्सेनले २२ यार्डबाट पहिलो बारमा प्रहार गरेको बललाई चेक रिपब्लिकका गोलरक्षक टोमास भालिकले डाइभ गरी संकट टारेका थिए । 

खेलको ८१औँ मिनेटमा डेनमार्कले अग्रता लिने अवसर गुमायो । जुकुब जान्कटोले ६ यार्ड बक्सबाट प्रहार गरेको बललाई पुनः एकपटक चेक रिपब्लिकका गोलरक्षक भालिकले बचाए । खेलमा ६ मिनेटको अतिरिक्त समय थप भएको थियो । खेलमा चेक रिपब्लिकले ५५ र डेनमार्कले ४५ प्रतिशत बल पोसेसन बनाएका थिए । डेनमार्कले ११ पटक गोल प्रयास गर्दा चेक रिपब्लिकले १६ पटक सट प्रहार गरेको थियो । 

...                             ...

इटालीले स्पेनको सामना गर्ने 
युरोकप २०२० को पहिलो सेमिफाइनल खेलमा इटाली र स्पेन भिड्ने भएका छन् । शुक्रबार राति भएको क्वार्टरफाइनल खेलमा विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई २–१ गोलले पराजित गर्दै इटालीले सेमिफाइनलमा स्पेनसँगको भेट निश्चित गरेको हो । यो खेल मंगलबार वेम्बलीमा हुनेछ । स्पेन पनि शुक्रबार नै भएको क्वार्टरफाइनल चरणको पहिलो खेलमा स्विट्जरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

जर्मनीको म्युनिखमा भएको इटाली र बेल्जियमबीचको यो खेल प्रतिस्पर्धात्मक रह्यो । बेल्जियमलाई पराजित गर्दा इटाली उपाधिको एक पाइलानजिक पुगेको छ । यो जितमा इटालीले अपराजित टोलीको आफ्नै नयाँ कीर्तिमान पनि भेटाएको छ । इटाली लगातार ३२ खेलमा अपराजित छ । इटाली झन्डै पछिल्लो तीन वर्षदेखि पराजित भएको छैन । यो इटाली राष्ट्रिय टोलीको नयाँ कीर्तिमान हो ।

इटालीलाई निकोलो बारेल्लाले खेलको ३१औँ मिनेटमा अग्रता दिलाएका थिए । उनले बेल्जियमका तीन रक्षकको बीचबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए । त्यसको १३ मिनेटपछि लोरेन्जो इन्सिग्नेले अर्काे उत्कृष्ट गोल गर्दै टोलीलाई अघि बढाए । 

बेल्जियमले खेलको पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी अवसर पायो । इटालीका जियोभान्नी डी लोरेन्जोले जेरेमी डोकुलाई आफ्नो पेनाल्टी क्षेत्रभित्र फल प्रहार गरेपछि बेल्जियमले पेनाल्टी अवसर पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै रोमेलु लुकाकुले बेल्जियमका लागि एक गोल फर्काएका थिए । तर, त्यसपछिको खेलमा दुवै टोलीबाट थप गोल नभएपछि इटाली २–१ को जितसँगै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

घरबाहिरको खेलमा इटालीको लय
इटालीले जारी प्रतियोगिताको समूहगत चरणका तीनमध्ये तीनै खेलमा जित हात पार्‍यो । ती तीनै खेल इटालीले आफ्नो घरमा खेलेको थियो । प्रिक्वार्टरफाइनल चरणको खेलमा अस्ट्रियासँग वेम्बलीमा प्रतिस्पर्धा गर्दा इटालीले जितका लागि संघर्ष गरेको थियो । उक्त खेलमा इटालीलाई जितका लागि अतिरिक्त ३० मिनेट खेल्नुपरेको थियो ।

जर्मनीमा हात पारेको बेल्जियमविरुद्धको यो जित इटालीका लागि पछिल्लो झन्डै तीन वर्षमा हात पारेकामध्ये उत्कृष्ट र महत्वपूर्ण जित रह्यो । यही खेलबाट इटालीले आफ्नो घरबाहिरको खेलमा पनि लय भेटाएको देखिएको छ । खेल सुरुवातबाटै प्रतिस्पर्धात्मक रह्यो । लियोनार्डाे बोनुस्सीले खेलको सुरुवातमै गोल गरेका थिए । यद्यपि, उनको गोल भिडियो एसिस्टेन रेफ्री (भार) ले अफसाइड दिएको थियो । त्यसपछि गोलरक्षक जियनलुइजी डोन्नारुम्माले बेल्जियमका केही उत्कृष्ट प्रहारलाई बचाए ।