मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केदार दाहाल काठमाडौं
२०७८ असार १७ बिहीबार ०८:३८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

परीक्षण उडान हुन नपाउँदा भैरहवा विमानस्थल सञ्चालन अन्योलमा

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७८ असार १७ बिहीबार ०८:३८:००

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको केही प्राविधिक कामबाहेक भौतिक संरचनाका सबै काम पूरा भइसकेको छ । तर, दोस्रो चरणको कोभिड संक्रमण र लकडाउनले अनिवार्य रूपमा गर्नुपर्ने परीक्षण उडानको भने टुंगो लाग्न सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न नपाउँदा सञ्चालनको मिति टुंगो लाग्न नसकेको हो । ‘क्यालिब्रेसन फ्लाइटपछि सञ्चालनयोग्य हुन कम्तीमा तीन महिना कुर्नुपर्ने हुन्छ, विगतमा सुरु गरिएको प्रक्रिया रोकिएको छ,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । 

लकडाउनकै बीच पनि आयोजनास्थलमा धमाधम उपकरण जडानको काम भइरहेको छ । मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेसम्बन्धी महŒवपूर्ण उपकरण जडान सकिएको आयोजना प्रमुख प्रवेश अधिकारी बताउँछन् । आयोजना परीक्षण उडानको अन्तिम चरणमा थियो । विमानलाई सुरक्षित ढंगले उडान र अवतरण गर्न विमानस्थल परिसरमा जडित उपकरण ठीक भए–नभएको र ती उपकरणले सही काम गरे–नगरेको बारेमा विशेष विमान ल्याएर परीक्षण उडान गर्नुपर्ने हुन्छ । सोही उडानलाई क्यालिब्रेसन फ्लाइट भनिन्छ । क्यालिब्रेसन फ्लाइटका लागि पुनः प्रक्रिया अगाडि बढाइएको महानिर्देशक राजन पोखरेलले जानकारी दिए । 

परीक्षण उडानका लागि विशेष विमान ल्याउने सम्झौताअनुरूप आइसिबी टुको ठेक्का लिएको थाइल्यान्डको एरो थाई कम्पनीको हो । कोभिड–१९ का कारण त्यहाँको सरकारले विमान आउन अनुमति दिएको छैन । यसको विकल्पमा सरकारले भारत र अस्ट्रियासँग कुरा अघि बढाएको थियो । उक्त उडानपछि आइकाओले विमानस्थलको क्याटागोरी छुट्याएर रुट फाइनल गर्नेछ । त्यसपछि मात्रै विमानस्थलको उद्घाटन गर्न पाइने व्यवस्था छ । भैरहवा विमानस्थल सन् २०२२ को जनवरीसम्म सञ्चालमा ल्याउने सरकारी योजना छ । 

अहिले पनि भैरहवामा २० जना चिनियाँ, भारतीय १८ जना र ७० जना नेपालीले काम गरिरहेका छन् । गत फागुनमा अमेरिका तथा अस्ट्रेलियाबाट प्राविधिक ल्याएर धावनमार्गमा बत्ती जडानदेखि टर्मिनल भवनका प्राविधिक काम सम्पन्न गरिएको थियो । यता सेन्ट्रल एसी जडानका लागि केही चिनियाँ प्राविधिक आउने तयारी रहेकामा बन्दले समस्या भएको अधिकारीले जानकारी दिए । 

२०७१ मा सुरु भएको भैरहवा विमानस्थल निर्माण २०७४ मै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोराइलाले १ माघ २०७१ मा शिलान्यास गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सात वर्षपछि निर्माणको अन्तिम चरणमा पुगेको थियो । तर, फेरि केही समय लम्बिने भएको छ । ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको विमानस्थल बनाउन सरकारले पाँचौँपटकसम्म म्याद थप गरेर २०२० डिसेम्बर पुर्‍याएको थियो ।

स्थानीय ठेकेदारसँगको विवादले धेरै समय काम रोकिँदा विमानस्थलको निर्माण कार्य पर धकेलिएको थियो । ०७२ सालको भूकम्प र मधेस आन्दोलनको अवरोधका कारण सन् २०१८ को जुनसम्म म्याद थप गरिएको थियो । त्यसपछि बढाएर २८ जुन २०१९ मा सक्ने लक्ष्य लिए पनि केही काम बाँकी रहेपछि तेस्रोपटक समय थप भएको थियो । तेस्रोपटक थप गर्दा निर्माण अवधि डिसेम्बर २०१९ सम्म सम्पन्न गर्ने भनिएको थियो । २०१९ डिसेम्बरमा पनि सक्ने अवस्था नभएपछि परियोजनाले चौथोपटक म्याद थप गरेको थियो । आइसिपी १ र आइसिपी २ गरी विमानस्थलको निर्माण कार्य जारी छ । आइसिपी १ अन्तर्गतका अधिकांश काम सम्पन्न भइसकेका छन् भने आइसिपी २ अन्तर्गतका कामहरू केही बाँकी रहेका छन् । 

आइसिपी १ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेको छ । आइसिपी २ अन्तर्गत हवाईजहाज, पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्रविधि निर्माण रहेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ–वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । 

कोभिडको असर हवाई यात्रुमा हुँदा सरकार पछि हट्दै
कोभिड–१९ का कारण संसारभरका एयरलाइन्स र विमानस्थल सेवा प्रभावित छन् । जसले दैनिक अर्बौँ आम्दानी गुमाइरहेका छन् । विश्वका धेरै देशहरू डेढ वर्षदेखि सिमानाका बन्द रहेको अवस्थामा रहेका छन् । पर्यटकहरू घुमफिरमा निस्कन पाएका छैनन् । नेपालमा पनि दैनिक १ सय १० वटासम्म हुने अन्तर्राष्ट्रिय दैनिक उडान १० देखि १२ वटामा खुम्चिएको छ । विश्वभर पर्यटकहरू घुम्न खुला नभएसम्म विमानस्थल र एयरलाइन्सहरू सञ्चालनमा समस्या हुने भएकाले भैरहवामा पनि हतार गर्न नहुने पोखरेल बताउँछन् । ‘अब त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढ्दा भैरहवा विमानस्थल सञ्चालनमा आउनेछ, सोहीअनुसार काम गरिरहेका छौँ,’ पोखरेलले भने । सरकारले आठवटा देशमा नियमित उडान खुलाउने निर्णय गरे पनि सबै ठाउँमा खुल्न सकेको छैन । टर्की सरकारले नेपालीसहितको देशबाट यात्रु आउन प्रतिबन्ध लगाएसँगै नेपालको उडान पनि बन्द हुँदै छ ।