मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जीवन बस्नेत काठमाडाैं
२०७८ असार १७ बिहीबार १०:१६:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

साउनदेखि दैनिक ३५ सय सवारीमा  इम्बोस्ड नम्बर प्लेट लगाइने, तीन वर्षमा सक्ने लक्ष्य

Read Time : > 3 मिनेट
जीवन बस्नेत, काठमाडाैं
२०७८ असार १७ बिहीबार १०:१६:००

५ वर्षमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने गरी १७ जेठ ०७३ मा दिएको ठेक्काको म्याद सकियो, तर ६ हजार सवारीसाधनमा मात्रै जडान

सरकारले आगामी आवको सुरु भएपछि दैनिक ३ हजार ५ सयवटा सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भएको छ । १ चैत २०७७ देखि नै अनिवार्य गर्ने तयारी गरेको भए पनि निषेधाज्ञा र अन्य तयारी अभावका कारण चार महिना ढिला गरी साउनदेखि इम्बोस्ड नम्बर लगाउने तयारी गरिएको हो । ‘वार्षिक नवीकरणका लागि यातायात कार्यालयमा आउने र नयाँ दर्ता गर्न आउने सवारीसाधनलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेट लगाउने तयारी गरेका छौँ’ यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले भने । 

अहिले नेपालमा सबै किसिमका (दर्ता भएका) सवारीसाधनको कुल संख्या ३९ लाख ८७ हजार २६७ पुगेको छ । त्यसमध्ये करिब ४ लाख सवारीसाधन सञ्चालनमा नरहेको आकलन छ । यसअनुसार तीन वर्षमा सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाउन वार्षिक १२ लाख अर्थात् मासिक १ लाख इम्बोस्ड प्लेट लगाउनुपर्नेछ । ‘त्यसका लागि विभागले आफ्नो तयारी पूरा गरेर बसेको छ,’ विभागका महानिर्देशक घिमिरेले भने । 

आवेदन दिएकै दिन नम्बर उपलब्ध गराउने 
विभागले आवेदन दिएकै दिन इम्बोस्ड नम्बर प्लेट उपलब्ध गराउने तयारी गरेको दाबी गरेको छ । ‘अहिलेसम्म झन्झटिलो प्रक्रिया थियो, त्यसलाई सरल र सहज बनाउँदै छौँ’ निर्देशक रामचन्द्र पौडेलले भने । निवेदन दिएकै दिन त्यसलाई स्वीकृत गराउने र राजस्व बुझाएको भने हुनुपर्नेछ । राजस्व बैंकमार्फत बुझाउनुपर्ने भएकाले त्यहाँ केही समय लाग्न सक्ने उनको भनाइ छ । उनका अनुसार बढी भिड भएको खण्डमा पनि भोलिपल्टसम्ममा जडान हुनेछ ।

इम्बोस्ड नम्बर जडान थालिएको पाँच वर्ष पूरा
जेठ २०७८ मा इम्बोस्ड नम्बर प्लेट जडान थालिएको पाँच वर्ष पूरा भएको छ । यो अवधिमा देशभरका २५ लाख सवारीसाधनमा इम्बोस्ड जडान गर्ने सरकारको लक्ष्य थियो । यसको थालनी १७ जेठ ०७३ मा सरकारले ६० महिनाको समायावधि दिएर काम थालेको थियो । तर, अहिलेसम्म ६ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । करिब ४ हजार सवारीसाधनमा भने २०७४ फागुनसम्ममा जडान गरिएको थियो । तर, अदालतमा मुद्दा परेपछि नम्बर प्लेट जडान रोकिएको थियो । 

अदालतले बाटो खोलिदिएपछि पछिल्लोपटक १ साउन २०७७ देखि पुनः इम्बोस्ड नम्बर जडान थालिएको हो । त्यसपछि हालसम्म थप २ हजार सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट जडान गरेका छन् । इम्बोस्ड नम्बरमा नेपाली भाषा राख्ने कि अंग्रेजी राख्ने भन्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । अदालती प्रक्रियामा गएपछि फैसला नहुन्जेल साढे दुई वर्ष कुनै काम नै नभएको यातायात व्यवस्था विभागको भनाइ छ । 

अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान वा वितरण गर्न रोक लगाउन माग गर्दै दायर भएको रिटलाई सर्वोच्च अदालतले २७ मंसिर ०७६ मा खारेज गरेको थियो । संवैधानिक इजलासमा चलेको उक्त मुद्दामा इम्बोस्ड नम्बर जडान तथा वितरण रोकिएको २१ महिना १७ दिनपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको इजलासबाट रिट खारेज गर्ने फैसला भएको थियो । यसअघि १० फागुन ०६४ मा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको अन्तरिम आदेशले अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट जडान–वितरण गर्ने कार्य रोकिएको थियो ।

एक वर्षअघि २०७६ माघदेखि नै इम्बोस्ड नम्बर वितरण थाल्ने विभागको तयारी भए पनि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूले प्रधानमन्त्रीलाई भेटी संस्कृतिको जगेर्नाका लागि भन्दै नेपालीमै इम्बोस्ड नम्बर बनाउन माग गरे । प्रधानमन्त्रीले प्राज्ञको मागअनुसार गर्न भनेपछि प्लेट जडानमा पुनः ढिलाइ भएको थियो । अदालतले गरेको फैसलाको पूर्णपाठ पनि असार २०७७ मा आयो । त्यसपछि विश्वव्यापी मान्यताअनुसार अंग्रेजीमै गर्नु उपयुक्त हुने विषयमा प्रधानमन्त्री सकारात्मक भएपछि साउनदेखि पुनः वितरण थालिएको हो । 

तीन वर्ष म्याद थप गर्नुपर्ने अनुमान
अदालतमा मुद्दा परेपछि र अन्य कारणले ढिलाइ भएपछि तोकिएको समयमा इम्बोस्ड नम्बर प्लेट वितरण नहुने पक्का भएको छ । त्यसका लागि ठेकेदार कम्पनीसँग म्याद थप गर्ने तयारी भइरहेको छ । जेठमा ठेकेदार कम्पनी बंगलादेश र अमेरिकाको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) कम्पनी डेकाटुर टाइगरसँगको सम्झौता समाप्त भइसकेको छ । तर, दुवै पक्षको कमजोरी नभई अदालतमा परेको मुद्दाका कारण ढिलाइ भएकाले म्याद थप गरेर काम गर्न लगाइनेछ । त्यसका लागि साउनदेखि लागू हुने गरी तीन वर्ष म्याद थप गरिनेछ । एक वर्ष सचिवले र त्यसपछि म्याद थपको विषय मन्त्रिपरिषद् बैठकमा लैजाने गरी आन्तरिक तयारी छ । अर्कोतर्फ, इम्बोस्ड नम्बर लगाउने काम अनिवार्य गरेर पनि छिटो सम्पन्न गर्न चाहेको सरकारी अधिकारीहरूको भनाइ छ । 

लागतमा कुनै परिवर्तन नहुने
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी डेकाटुरसँग ४ अर्ब ७८ करोड ७७ लाख (चार करोड ३७ लाख ८७ हजार पाँच सय अमेरिकी डलर)मा बुट मोडेलमा सम्झौता गरेको थियो । त्यसमा समय थप गर्दा पनि कुनै किसिमको थप लागत सरकारले दिनुनपर्नेमा दुवै पक्ष सहमत रहेको विभागका अधिकारीहरूको भनाइ छ ।

के हो इम्बोस्ड नम्बर प्लेट ?
सवारीसाधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको प्रविधिमा आधारित नम्बर प्लेटलाई इम्बोस्ड नम्बरप्लेट भनिन्छ । यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो । हाल सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ । प्लेटको लेभलभन्दा अक्षरको लेभल माथि उठेकाले इम्बोस्ड भनिने यस्तो नम्बरप्लेट आधुनिक र सुरक्षित मानिन्छ । इम्बोस्ड नम्बर प्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन नम्बर’ रहनेछ । यसले कति नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा रहेको छ भन्ने पत्ता लगाउँछ ।