मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
जीवन बस्नेत काठमाडाैं
२०७८ असार १६ बुधबार ०९:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सरकारको निर्णय यातायात व्यवसायीले नमान्ने : शुक्रबारदेखि सबै सार्वजनिक सवारी चलाउने तयारी 

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडाैं
२०७८ असार १६ बुधबार ०९:४४:००

नेपाल यातायात व्यवसायी र यातायात मजदुर संगठनहरूले शुक्रबारदेखि देशभरका सार्वजनिक सवारीसाधन चलाउने तयारी गरेका छन् । उनीहरूले देशभरका मजदुर र व्यवसायीलाई सवारी चलाउनका लागि सार्वजनिक आह्वान गरेका छन् । ‘असार १८ देखि देशभर चल्ने छोटो, मध्यम र लामो दूरीका सवारीसाधन चलाउने तयारी गरेका छौँ,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने । स्वस्फूर्त सार्वजनिक सवारी चलाउने र कारबाही गरे पनि जेल जान तयार रहेको उनले बताए ।

सार्वजनिक सवारीसाधन चलाउनबाट रोक्नका लागि सरकारले राहतको व्यवस्था गर्नुपर्ने मजदुर संगठन तथा व्यवसायीहरूको भनाइ छ । ‘१५ असारदेखि काठमाडौं उपत्यकाभित्र मात्रै ठूला सवारीसाधन सञ्चालन अव्यावहारिक छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने । 

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले भने सार्वजनिक यातायात खुलाउने विषयमा विभागको कुनै भूमिका नहुने बताए । यो विषय सिसिएमसी र मन्त्रिपरिषद्बाट निर्णय भएपछि हुने उनको भनाइ छ । ‘अर्कोतर्फ यातायात व्यवसायी र मजदुर संगठनले अहिलेसम्म विभागसमक्ष यो विषय राखेका पनि छैनन्,’ उनले भने । सरकारको निर्णय नभई सवारीसाधन चलाए कानुनअनुसार अघि बढ्नुपर्ने उनले बताए ।  

काठमाडाैं जिल्ला प्रशासनले मंगलबार यातायात व्यवसायी र मजदुर संगठनका पदाधिकारीलाई बोलाएर कोभिडको प्रभावलाई हेरेर सरकारले निर्णय नगर्दासम्म सार्वजनिक यातायातका सवारीसाधन नचलाउने आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सरोकारवाला सबै निकायको बिहीबार बैठक डाकेका छन् । सबै पक्षको सहमतिमा स्वास्थ्य मापदण्ड बनाएर खुलाउन तयार रहेको प्रशासनको भनाइ छ ।  

यसअघि सोमबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडाैं उपत्यकामा मंगलबारदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारीसाधन जोर–बिजोरका आधारमा चल्न पाउने निर्णय गरेको थियो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यो निर्णय गरेको थियो ।  

प्रशासनले सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्ने गरी बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पन्जा लगाउनुपर्ने र अनिवार्य रूपमा सवारीसाधन दैनिक निसंक्रमित गर्नुपर्ने निर्णय गरेको छ ।