१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १३ आइतबार १५:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विप्लव नेकपाका नेता भन्छन्– राज्यले सहमति कार्यान्वयन गरेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १३ आइतबार १५:३५:००

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३बुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् । गत २१ फागुनमा सरकारसँग भएको ३बुँदे सहमतिप्रति आफ्नो पार्टी इमानदार रही कार्यान्वयनको दिशामा गइरहे पनि राज्यले आफ्नो भूमिकालाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको उनले बताए । 

उनले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिकहरू दुःखी भएको बताए । ३बुँदे सहमतिअनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाइ गर्ने काममा पनि ढिलासुस्ती भएको उनको गुनासो छ । 

विप्लव नेकपाले राजधानीमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै लामाले राज्य आफूले गरेको सहमतिप्रति उत्तरदायी भई कार्यान्वयनमा इमानदार बन्नुपर्ने बताए । 

उनले भने, ‘राष्ट्रिय राजनीतिमा निराशा छाएको छ । राजनीतिक पार्टीप्रति, सरकारप्रति, राजनीतिक व्यवस्थाप्रति अहिले मानिस सन्तुष्ट छैनन् । त्यसकारणले हाम्रो पार्टीले प्रगतिशील सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवादमार्फत नागरिकमा छाएको निराशालाई हल गर्ने र एकपटक नेपाली जनता आफैँले जनमत प्रयोग गरेर आफ्नो शासन व्यवस्था छिनोफानो गर्ने वातावरण राज्यले बनाउनुपर्छ भनेर हाम्रो पार्टीले अपिल गरेको छ, तर दुर्भाग्य हाम्रा ३बुँदे सहमति, सरकार र हाम्रो पार्टीबीच भएको थियो फागुन २१ गते, धेरै कमरेडहरू अझै पनि जेलमा हुनुहुन्छ । छुट्नुभएको छैन । हाम्रो प्रतिबद्धताप्रति हाम्रो पार्टी इमानदार छ । कार्यान्वयनको दिशामा हाम्रो पार्टी गइरहेकै छ, तर राज्यले आफ्नो भूमिकालाई जसरी इमानदारीपूर्वक कार्यान्वयन गर्नुपथ्र्यो, ३बुँदे सहमति कार्यान्वयनमा राज्यले तदारुकता नदेखाएकोमा अहिले राजनीतिक पार्टी, कार्यकर्ता र नागरिकहरू दुःखी छन् । यो पाटोमा राज्यले आफूलाई समयमा नै इमानदारीपूर्वक उभ्याओस् ।’

रक्तदान कार्यक्रममा दुई सय ५० जनाले रगत दिएको आयोजकले जनाएको छ ।