मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेन्द्र रायमाझी, प्रमुख कार्यकारी अधिकृत एनआइसी एसिया क्यापिटल
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार १३ आइतबार ०७:५६:००
Read Time : > 6 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

आइपिओमा आरक्षण हटाउँदा पनि म्युचुअल फन्डको आयमा खासै फरक पर्दैन : रमेन्द्र रायमाझी

Read Time : > 6 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार १३ आइतबार ०७:५६:००

विभिन्न सामूहिक लगानी कोषका योजना सञ्चालन गरिरहेको एनआइसी एसिया क्यापिटलले सेलेक्ट ३० नामक नयाँ अवधारणासहितको योजना बिक्री गरिरहेको छ । के यो कोषले ७ वर्षसम्म ३० कम्पनीमै लगानी सीमित गर्ने हो ?

हामीले एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गतको तेस्रो बन्दमुखी योजनाको एनआइसी एसिया सेलेक्ट ३० फन्डको प्रतिइकाइ रू. १० अंकित दरको ८ करोड ५० लाख इकाइ गत बिहीबारदेखि सर्वसाधारणहरूमा निष्कासन तथा बिक्री खुला गरिरहेका छौँ । उक्त फन्डको आइपिओ असार १४ गतेसम्म निष्कासन तथा बिक्री खुला रहनेछ । हाल एनआइसी एसिया सेलेक्ट ३० फन्डको आकार रू. १ अर्ब भए पनि उक्त फन्डको आइपिओमा अत्यधिक माग भएको अवस्थामा योजनाको आकार १ अर्ब २५ करोडसम्म कायम गर्न सकिनेछ । उक्त योजनाको इकाइ खरिदका लागि सि–आस्बा सेवा दिइरहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, सिडिएससीले उपलब्ध गराएको मेरो सेयर एप्लिकेसन प्रयोगकर्ताले मेरो सेयरको माई आस्बामा गई सहजै रूपमा आवेदन दिन सक्नुहुन्छ । 

यस योजनाको प्रमुख विशेषता भनेको योजनामा संकलित अधिकांश रकम ३० वटा कम्पनी छनोट गरी लगानी गर्ने हो । लगानी गरिने कम्पनीहरूको छनोट गर्दा बजार पुँजीकरण, नेप्से सूचकसँगको अन्तरसम्बन्धलगायतका अन्य प्यारामिटर हेरेर मात्र लगानी गरिन्छ । सूचीकृत कम्पनीहरूमा लगानी गर्दा ३० वटा कम्पनीहरूमा लगानी गरिने भए तापनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीहरूको संख्यामा थपघट हुन सक्नेछ । तर, निश्चित समयपछि उक्त कम्पनीहरूको संख्यालाई पुनः मूल्यांकन गरी ३० भन्दा बढी नहुने गरी कायम गरिनेछ ।

कम्पनीको संख्या थपघट हुन सक्छ भने किन ३० कम्पनी भनेर जोड दिइएको हो ?

अधिकतम विविधीकरणका लागि बजारका ३० वटा कम्पनी नै पर्याप्त हुने र त्यसबाट अधिकतम प्रतिफल प्राप्त गर्न सकिने भएकाले पनि यसमा जोड दिइएको हो । योजनाको रकम जम्मा ३० वटा कम्पनीमा लगानी गर्ने भए पनि धितोपत्रको दोस्रो बजारमा रहेका सम्पूर्ण समूह, उपसमूहबाट कम्पनी छनोट गरिने हुँदा यो योजनाको प्रतिइकाइ सम्पत्ति मूल्यले समग्र सेयर बजार परिसूचकलाई प्रतिनिधित्व गर्नेछ ।  

तपाईंहरूले यसअघि ल्याएका योजनाहरूले ८ देखि १२ प्रतिशतसम्म वार्षिक प्रतिफल दिइरहेको देखिन्छ । यो योजनाले कति दिन सक्ने प्रक्षेपण गरिएको छ ?

हामीले सञ्चालन गरेका योजनाहरूमध्ये पहिलो योजना एनआइसी एसिया ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत तथा दोस्रो वर्ष १२ प्रतिशत गरी कुल २२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यही जेठ मसान्तमा यसको प्रतिइकाइ सम्पत्तिको मूल्य (न्याभ) १९ दशमलव ३२ कायम गर्न सफल भएका छौँ । दोस्रो योजना एनआइसी एसिया ब्यालेन्स्ड फन्डले सञ्चालनमा आएको पहिलो वर्ष नै ८ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने जेठ मसान्तमा १७ दशमलव ७२ प्रतिशत न्याभ कायम गर्न सफल भएका छौँ । साथै, यस क्यापिटलद्वारा सञ्चालित पहिलो खुलामुखी योजना एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड सञ्चालनमा आएको ७ महिनाको अवधिमै ११ दशमलव ३९ न्याभ कायम गर्न सफल भएका छौँ । यस एनआइसी एसिया सेलेक्ट–३० फन्डमा लगानी गर्ने इकाइधनीलाई पहिलो वर्षमा नै कम्तीमा १० प्रतिशत तथा दोस्रो वर्षदेखि कम्तीमा १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रक्षेपण गरेका छौँ । समग्रमा भन्दा यस योजनामा लगानी गर्ने इकाइधनीहरूले कम्तीमा १ सय ४३ प्रतिशतभन्दा बढी प्रतिफल प्राप्त गर्ने प्रक्षेपण गरिएको छ ।  
 
लगानीका लागि मुख्यतः सेयर बजार नै केन्द्रित हुँदै आएका यी योजनाहरूको कमाइमा बजारको प्रवृत्तिले पनि मुख्य भूमिका खेल्ने गरेको छ । बजार हालसम्मकै उच्च बिन्दुआसपास रहेको अवस्थामा आगामी दिनमा पनि योजनाले राम्रै कमाइ गर्नेे सम्भावना के छ ?

म्युचुअल फन्डहरूको प्रमुख विशेषता भनेको नै धितोपत्रको दोस्रो बजारमा लगानी गरी नाफा आर्जन गरी इकाइधनीलाई उचित प्रतिफल वितरण गर्ने हो । अहिले नेप्से परिसूचक बढ्दो क्रममा रहेको छ । बजार उच्च बिन्दुतर्फ जाँदै गर्दा बजारमा लगानी गर्दा सुझबुझका साथ लगानीसम्बन्धी निर्णय लिनुपर्छ । त्यसैले अहिलेको समयमा दोस्रो बजारमा लगानी गर्नेसम्बन्धी निर्णय लिँदा धितोपत्रको दोस्रो बजार तथा सूचीकृत कम्पनीको मूल्यलाई प्रभाव पर्ने सम्पूर्ण कुराहरूको राम्रोसँग अध्ययन गरेर मात्र गर्नुपर्ने हुन्छ । जुन कुरा सर्वसाधारण लगानीकर्ताका लागि गाह्रो विषय हुन सक्छ । तर, म्युचुअल फन्ड सञ्चालकसँग बजारको राम्रो ज्ञान, अनुभव भएका विज्ञ समूह हुने र लगानी गर्नुभन्दा अगाडि कम्पनीहरूको राम्रोसँग अध्ययन गरेर मात्र निर्णय लिने हुँदा म्युचुअल फन्डले गरेको लगानी सुरक्षित हुनुका सथौ बढी प्रतिफल आर्जन गर्न सक्छ ।

बजार बढ्दो क्रममा रहेको अवस्थामा सबैजसो सूचीकृत कम्पनीहरूको मूल्यवृद्धि हुने हुँदा आमलगानीकर्ताले गरेको लगानीले पनि राम्रै प्रतिफल दिएको हुन सक्छ । तर, बजार एउटा बिन्दुमा पुगेपछि बजार घट्दो क्रममा हुन सक्छ र यस्तो अवस्थामा म्युचुअल फन्डमा गरिने लगानी सुरक्षित हुनुका साथै बढी प्रतिफल प्राप्त गर्न सकिने हुन सक्छ । 

बजार बढ्दा सामूहिक लगानी कोषका सूचीकृत योजनाहरूको मूल्य पनि बढ्ने र घट्दा अंकित मूल्यभन्दा तल आउने प्रवृत्तिसमेत देखियो । लगानी क्षेत्र अभावले यस्तो भएको हो भन्न सकिन्छ ?

हाल बजारमा सञ्चालनमा रहेको सामूहिक लगानी कोष योजनाहरू धितोपत्रमुखी छन् । ती योजनाहरूको अधिकांश रकम सूचीकृत कम्पनीहरूमा मात्र लगानी गरेका हुन्छन् । त्यसैले दोस्रो बजार बढेको समयमा म्युचुअल फन्डको न्याभ पनि बढ्ने र बजार घटेको समयमा म्युचुअल फन्डको न्याभ पनि घट्ने स्वाभाविक नै हो । यसो हुनुमा म्युचुअल फन्डहरूको लगानीको क्षेत्र कम हुनु नै हो । तर, बजारको उतारचढावमा अवसर लुकेको हुन्छ र उक्त अवसर छोप्ने काम फन्ड म्यानेजरको हो । 

हामीले सञ्चालन गरिरहेका योजनाहरूको न्याभ अहिलेसम्म ऋणात्मक भएको छैन । सुरुको वर्षदेखि नै प्रक्षेपण गरिएको लाभांश दरभन्दा बढी प्रतिफल वितरण गर्न सफल भएका छौँ । हाल नेपालमा म्युचुअल फन्डहरूले धितोपत्र र मुद्रा बजारमा मात्र लगानी गर्न सक्ने व्यवस्था रहेको छ । म्युचुअल फन्डले लगानी गर्ने दायरा फराकिलो पारेको अवस्थामा लगानी थप विविधीकरण हुने र धितोपत्रको दोस्रो बजारमा आउने उतरचढावको असर यस्ता योजनामा कम पर्न सक्छ ।

सामूहिक लगानी कोषहरूले आफ्ना अवधारणापत्रमा संस्थागत लगानीकर्ताको बजारमा कमी रहेको र यस्ता थप योजनाहरू आउँदा बजार सन्तुलनमा राख्न सकिने दाबी गरिरहेका हुन्छन् । तर, बजारमा भने सामूहिक लगानी कोषहरूले नै अस्थिरता ल्याउने गरेको आरोप छ, के भन्नुहुन्छ ?

बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको अवस्थामा म्युचुअल फन्डहरूको उपस्थितिले समग्र धितोपत्र बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । हाल सबै म्युचुअल फन्डहरूले गरेर रू. २३ अर्बभन्दा बढी रकमको लगानी व्यवस्थापन गरिरहेका छन् । उक्त रकममध्ये धेरैजसो रकम पुँजी बजारमै लगानी भइरहेको छ । आगामी दिनमा थप म्युचुअल फन्ड योजनाहरू सञ्चालनमा आउँदा फन्डमार्फत लगानी व्यवस्थापन गर्ने रकम अझ वृद्धि हुनेछ । धितोपत्रको बजारमा लगानी गर्ने मन भएका तथा बजारसम्बन्धी ज्ञान कम भएका लगानीकर्ताबाट थोरै–थोरै रकम संकलन गरेर म्युचुअल फन्ड सञ्चालन गरिने हुँदा बजारमा प्रत्यक्ष रूपमा नआउने पैसा बजारमा प्रवेश हुन्छ । यसले स्वतः बजारको विकास, विस्तारमा सहयोग भएको छ । त्यसैले म्युचुअल फन्डहरूले बजार अस्थिरता ल्याउने भन्दा पनि बजारमा रहेको आपूर्ति सोस्ने काम गरिरहेका छन् । म्युचुअल फन्डहरूले लगानी गर्दा समग्र अर्थतन्त्रको अवस्था तथा लगानी गरिने कम्पनीको सम्पूर्ण पक्षको गहन रूपमा अध्ययन गरेर मात्र लगानीसम्बन्धी निर्णय लिने गर्छन् । 

बजारमा अस्थिरता ल्याएको आरोपका आधारमा धेरै लगानीकर्ताले सामूहिक लगानी कोषहरूलाई निष्कासनमा आरक्षणको व्यवस्था हटाउनसमेत माग गरिरहेका छन् नि ?

नेपालमा म्युचुअल फन्ड सञ्चालनमा आकर्षण बढाउनका लागि उक्त व्यवस्था गरिएको हुन सक्छ । बजारमा म्युचुअल फन्डको संख्या कम भएको अवस्थामा आरक्षणमा परेको सेयरले पनि म्युचुअल फन्डको आयमा वृद्धि भएको थियो । तर, हाल बजारमा म्युचुअल फन्डहरूको संख्या वृद्धि भएसँगै आरक्षणबाट प्राप्त हुने सेयरको हिस्सा निकै कम भएको छ । हाम्रै योजनाको संख्या ४ पुग्न लागेको छ । त्यसैले गर्दा आरक्षणमा प्राप्त हुने सेयरले हाम्रो फन्डको पर्फमेन्समा हुने योगदान नगण्य छ । म्युचुअल फन्डप्रति सर्वसाधारणको आकर्षण बढ्दै गइरहेको र म्युचुअल फन्ड पनि लगानीको प्रमुख औजारका रूपमा परिचित हुँदै गएको हुँदा आरक्षणको व्यवस्था हटाउँदा पनि फन्डको आयमा त्यति धेरै फरक नपर्ने देखिन्छ । 

मुलुकको सेयर बजारको चरित्र कस्तो छ, यसमा केही सुधार आवश्यक देख्नुहुन्छ ?

सेयर बजार परिसूचकलाई अर्थतन्त्रको ऐनाका रूपमा लिइन्छ । अर्थात्, सेयर बजारमा सूचीकृत कम्पनीहरूले राम्रो प्रदर्शन गरेको छ भने उक्त देशको समग्र अर्थतन्त्र सबल रहेको भन्ने बुझिन्छ । तर, हाम्रो देशमा सेयर बजार परिसूचकलाई अर्थतन्त्रको ऐनाका रूपमा हेर्न सकिएको छैन । किनभने, नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरू बैंक तथा वित्तीय संस्था छन् । अन्य क्षेत्रका धेरै कम्पनीहरू सेयर बजारभन्दा बाहिरै देखिन्छ । पछिल्लो एक वर्षदेखि नेप्से परिसूचक बढ्दो क्रममा छ । सामान्यतया नेपालमा नेप्सेको बुलिस प्रवृत्तिचक्र तीन वर्षभन्दा बढी अवधिको छ । तसर्थ, नेप्से परिसूचक अझै केही समय बुलिस प्रवृत्तिमै रहने अनुमान लगाउन सकिन्छ ।

नेपाल सेयर बजारमा भौतिक रूपमा सेयर कारोबार गर्ने समयमा सीमित लगानीकर्ता मात्र बजारमा करोबार गर्थे । अहिले नेपालको सेयर बजार पूर्ण डिजिटलाइज भइसकेको छ । जसले गर्दा प्राथमिक बजारमा संलग्न लगानीकर्ताको संख्या झन्डै १९ लाख पुग्न लागेको देखिन्छ भने दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या पनि ८ लाखभन्दा माथि छ । यो संख्या दिन–प्रतिदिन बढ्दै छ । दोस्रो बजारमा कारोबारीको संख्या वृद्धिसँगै नेप्से परिसूचक, कारोबार रकम र कारोबार संख्यासमेत भारी मात्रामा बढेको छ । 

अब बजारको विकास र विस्तारका लागि विदेशी लगानी तथा एनआरएनहरूलाई दोस्रो बजारमा प्रत्यक्ष वा छुट्टै कम्पनी खडा गरी लगानीको बाटो खुला गर्नुपर्छ । नेप्सेको प्रणालीमा आइरहने समस्याहरूको दीर्घकालीन समाधान गर्नुपर्ने, इन्ट्रा डे कारोबार, सर्ट सेलिङ, फ्युचर र अप्सनजस्ता उपकरणलगायतको व्यवस्था हुनुपर्छ । नेप्सेमा सूचीकृत कम्पनीहरूको विश्लेषण गर्नका लागि स्वतन्त्र निकायको स्थापना गर्नुपर्छ । अन्य क्षेत्रका कम्पनीहरूलाई सर्वसाधारणमा सेयर निष्कासन गर्न प्रोत्साहित गर्नेजस्ता सुधारको काम हुन सकेमा नेपालको सेयर बजारको विकास विस्तार हुनुका साथै दोस्रो बजारको परिसूचकले देशको समग्र अर्थतन्त्रको ऐनाका रूपमा हेर्न सकिन्छ । 

तपाईं भारतमा रहेरसमेत वित्त विश्लेषकका रूपमा काम गरिसक्नुभएको छ । यहाँ सामूहिक लगानी कोषको विकासमा के–के नीतिगत वा अन्य प्रयासहरू आवश्यक देखिन्छ ?

भारतमा म्युचुअल फन्ड सञ्चालनमा आएको दशकाैँ भइसकेको छ । नेपालमा म्युचुअल फन्ड पनि लगानीको प्रमुख औजारका रूपमा बिस्तारै परिचित हुँदै गइरहेको छ । भारतमा म्युचुअल फन्डको विभिन्न प्रकारका योजनाहरू रहेको पाइन्छ । म्युचुअल फन्डमा गरिएको लगानीमा आयकर छुट हुनु, म्युचुअल फन्डमा विदेशी लगानी खुला हुनु, म्युचुअल फन्डहरूले लगानी गर्ने क्षेत्र फराकिलो हुनुजस्ता धेरै व्यवस्थाहरू रहेको पाइन्छ । नेपालमा पनि बिस्तारै यस प्रकारका सुविधा उपलब्ध गराउन सकियो भने अवश्य नै आगामी दिनमा म्युचुअल फन्डप्रति आमसर्वसाधारणको आकर्षण बढ्ने देखिन्छ । 

अन्त्यमा, एनआइसी एसिया क्यापिटलबाट के–कस्ता सेवाहरू दिइरहनुभएको छ । आगामी दिनमा यहाँहरूले प्रदान गर्ने सेवालाई कसरी विस्तार गर्ने रणनीति लिनुभएको छ ?

एनआइसी एसिया क्यापिटल लिमिटेडले म्युचुअल फन्डका साथै सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेका छौँ । पछिल्लो समयमा कोरोना महामारीको समयमा यस क्यापिटलबाट सेवा लिने ग्राहकहरूलाई सहज गराउने मख्य उद्देश्यका साथ क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरूलाई अनलाइन तथा विद्युतीय माध्यमबाट उपलब्ध गराइरहेका छौँ । आगामी दिनहरूमा क्यापिटलबाट प्रदान गरिने सेवालाई डिजिटलाइज गर्दै जाने रणनीति लिएका छौँ । सोहीअनुरूप हाल देशभरबाट सहजै रूपमा अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा उपलब्ध गराइरहेका छौँ भने अनलाइनमार्फत नै लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेका छौँ । साथै, हामीले एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गतको पाँचाँै योजना एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड नामक बन्दमुखी योजना स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पेस गरिसकेका छौँ । यसका साथै विशिष्टीकृत लगानी कोष सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू पूरा गरी बोर्डमा अन्तिम स्वीकृतिका लागि पेस गरेका छौँ ।