मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १२ शनिबार १७:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अदालतले हाम्रो पक्षमा फैसला गर्छ : शेरबहादुर देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १२ शनिबार १७:३८:००

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ सर्वोच्च अदालत भएको भन्दै अदालतले आफूहरूको पक्षमा फैसला गर्ने बताएका छन् । ‘राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिमको सरकारका लागि आह्वान गर्नुभएको हो, हामीले उहाँले आह्वान गरेअनुसार नै १४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेका हौँ । अहिले अदालतमा झन् सशरीर दाबी गरेका छौँ,’ उनले भने, ‘संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत हो । हामीलाई विश्वास छ, अदालतले हाम्रो पक्षमा फैसला गर्छ ।’

विपक्षी गठबन्धनले राजनीतिक बिटमा लेख्ने पत्रकारहरूसँग गरेको छलफलमा देउवाले अदालतले आफूलाई प्रधानमन्त्री बनाएर एक महिनाभित्र विश्वासको मत लिन लगाउन राष्ट्रपतिलाई आदेश गर्ने विश्वास व्यक्त गरे ।

उनले राष्ट्रपतिले संविधानमै प्रस्ट लेखेको कुरा अवज्ञा गर्दै राष्ट्रपतिको भूमिकाभन्दा कार्यकर्ताको भूमिका बढी निभाएको बताए । उनले अघि भने, ‘संविधानमै स्पष्ट छ, संसद्को कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा उसलाई प्रधानमन्त्री नियुक्त गर्ने कुरा हो । संविधानमै स्पष्ट लेखेको कुरा राष्ट्रपतिले मान्नुभएन ।’ 

नयाँ सरकार गठन गर्न अवरोध गरेर प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको भन्दा राष्ट्रपतिको बढी गल्ती रहेको उनले बताए । ‘उहाँले राष्ट्रपति नभएर ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । मलाई पहिला क्याबिनेट पुनर्गठन गर्न पनि दिनुभएन । अहिले धमाधम शपथ खुवाउनुभयो । राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो । ओलीले भन्दा बढी राष्ट्रपतिले गलत गरेको हो,’ देउवाले भने । 

देउवाले आफूहरूले बुझाएको हस्ताक्षर नै सनाखत नगरेर राष्ट्रपतिले गल्ती गरेको बताए ।