मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार १० बिहीबार १०:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना नियन्त्रणलाई प्राथमिकता दिँदै बेसीसहर नगरपालिकाले ल्यायो साढे ७२ करोडको बजेट 

Read Time : < 1 मिनेट
२०७८ असार १० बिहीबार १०:३८:००

लमजुङको सदरमुकाम बेसीसहरमा रहेको बेसीसहर नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा कोरोना नियन्त्रणलाई प्राथमिकता दिएको छ । कोभिड–१९ को तेस्रो लहरको जोखिमलाई ध्यान दिँदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम बनाइएको बेसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले बताए । 

उनका अनुसार नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, पशुपालन तथा उत्पादनका क्षेत्रमा जोड दिई ७२ करोड ६५ लाख ४१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम र बजेटमाथि नगरसभाका सभासद्हरूको राय, सुझाब र परामर्शलाई मध्यनजर गर्दै आगामी वर्षका लागि योजनागत रूपमा बजेट निर्माण गरिने नगर प्रमुख अर्यालको भनाइ छ । 

नगरसभामा उपप्रमुख लक्ष्मीदेवी अधिकारीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् । कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिँदै आगामी वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको उपप्रमुख अधिकारीले बताइन् । 

उनका अनुसार बुधबार सार्वजनिक गरिएको बजेटमध्ये चालूतर्फ ४० करोड ३३ लाख ४५ हजार ( ५२.५२ प्रतिशत) र पुँजीगततर्फ ३२ करोड ३१ लाख ९६ हजार(४४.४८ प्रतिशत) बजेट रहेको छ ।

विषयगत रूपमा सबैभन्दा बढी सामाजिक विकासतर्फ ४१.८५, भौतिक पूर्वाधार विकासमा २५.५५, संस्थागत विकास तथा सैवा प्रवाहमा १६.१४, आर्थिक विकासमा १४.२८ र वातावरण तथा विपत् व्यवस्थापनमा २.१८ प्रतिशत बजेट बाँडफाँड गरिएको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए ।