मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १० बिहीबार ०७:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई महिनापछि आन्तरिक उडान  खुल्ने, १७ गतेबाट दैनिक ५५ उडान हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १० बिहीबार ०७:१५:००

कोभिड नियन्त्रणका लागि झन्डै दुई महिना बन्द भएको आन्तरिक उडान १७ असारदेखि खुल्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान पुनः सुरु गर्ने निर्णय गरेको हो । 

स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि वायुसेवा कम्पनीलाई सीमित तथा सुरक्षित गन्तव्यमा ५० प्रतिशत क्षमतामा उडान गर्ने निर्णय गरिएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान समय तालिका र उडान संख्या निश्चित गरिदिएलगत्तै आन्तरिक उडान गर्दै आएका बुद्ध, श्री, यती, सौर्य, सीता, समिट, तारा, गुणलगायत वायुसेवा कम्पनीले टिकट बिक्री सुरु गर्ने जानकारी दिएका छन् । 

कुल उडान संख्यामध्ये ५० प्रतिशतसम्म मात्र उडान गर्ने गरी अनुमति दिइने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी उडान सञ्चालन गरिने उनले जानकारी दिए । अघिल्लो वर्षको लकडाउनपछि उडान खुल्दा जारी गरिएका मापदण्डकै पालना गराइने उनको भनाइ छ । 

एयरलाइन्सहरू आफैँले पनि सुरक्षित उडानका लागि तयारी गरिरहेको र सरकारी नियममा पनि कडाइ गरिने प्राधिकरणले जानकारी दिएको छ । साबिककै उडान तालिकाको ५० प्रतिशत उडान स्वीकृत गर्ने वा एयरलाइन्सहरूसँग नयाँ आवेदन माग गर्ने भनेर प्राधिकरणले निर्णय गरेको छैन । 

वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अनुसार सामान्य दिनमा बुद्ध एयरले दैनिक ६५, यती एयरलाइन्सले ३०, श्री एयरलाइन्सले १६ र सौर्य एयरलाइन्सले चार उडान गरिरहेका थिए ।

अब निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ने भएपछि सरकारले तोकेको कोटाअनुसार उडान संख्या तय हुनेछ । संघका अनुसार आन्तरिक वायुसेवाहरूले यसअघि दैनिक १ सय १० सम्म उडान गर्थे । अब कोटाअनुसार यसको आधा अर्थात् ५५ जति उडान हुनेछन् ।