१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७८ असार ९ बुधबार १०:११:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

युरोकप २०२० : इंग्ल्यान्ड समूह डीको विजेता 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ असार ९ बुधबार १०:११:००

यसअघि नै प्रिक्वार्टरफाइनल चरणमा प्रवेश गरिसकेको इंग्ल्यान्ड युरोकप २०२० अन्तर्गत समूह डीको विजेता टोली बनेको छ । मंगलबार राति भएको खेलमा चेक रिपब्लिकलाई १–० गोलले पराजित गर्दै इंग्ल्यान्डले शीर्ष स्थानमा रहेर समूहगत चरणको खेल टुंग्याएको हो ।

घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई विजयी बनाउन रहिम स्टर्लिङले खेलको १२औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । स्टर्लिङले ज्याक ग्रेएलिसको क्रसमा गोल गरेका हुन् । त्यसअघि ग्रेएलिस र बुकायो साकाले राम्रो ‘मुभ’ बनाएका थिए । चेकविरुद्धको खेलमा ग्रेएलिस र साकाले उत्कृष्ट प्रदर्शन दिए ।

प्रतियोगितामा स्टर्लिङको यो दोस्रो गोल हो । इंग्ल्यान्डका लागि समूहगत चरणमा गोल गर्ने उनी एक्लो रहे । इंग्ल्यान्डले समूहगत चरणको तीनमध्ये दुई खेलमा जित हात पार्दा दुवै खेलमा स्टर्लिङकै गोल निर्णायक बन्यो । यसअघि इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा क्रोएसियालाई १–० ले पराजित गर्दा पनि स्टर्लिङले नै गोल गरेका थिए ।

कप्तान एवंं स्ट्राइकर हारी केन आफ्नो टोलीका लागि अझै पनि गोल निकाल्न असफल देखिएका छन् । मुख्य स्ट्राइकर गोलका लागि संघर्ष गर्दा इंग्ल्यान्डलाई प्रतियोगितामा मुस्किल देखिएको छ । प्रतियोगिताको समूहगत चरणको तीन खेलमा मात्रै दुई गोल मात्रै गर्न सक्नुले इंग्ल्यान्डको आगामी यात्रा सहज देखिएको छैन । 

चेक रिपब्लिकले इंग्ल्यान्डको पोस्टमा खासै गतिलो आक्रमण गर्न सकेन । इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्ड फुर्सदिलाजस्तै देखिएका थिए । खेलको पहिलो हाफमा टोमस मोल्सको एउटा सशक्त प्रहारलाई बचाउनुबाहेक पिकफोर्डलाई अरू मिहिनेत गर्न परेन ।

इंग्लिस टोलीमा मासन माउन्ट र फिल फोदेनको अनुपस्थितिमा भिल्लाका कप्तान ग्रेएलिस र आर्सनलका १९ वर्षीय साकाले अवसर पाएका थिए । यो अवसर सदुपयोग गर्दै यी दुवै खेलाडीले टोलीमा आफ्नो सम्भावना देखाएका छन् ।

चेक परिपब्लिक यसअघि नै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरिसकेको टोली हो । यद्यपि, इंग्ल्यान्डविरुद्धको खेलमा जित हात पार्न सकेको भए चेक रिपब्लिकसामु समूह डीको उपविजेता टोलीको रूपमा प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावना थियो । पराजयपछि उसले यो अवसर भने गुमाएको छ । 

क्रोएसिया समूह डीको उपविजेता

चेक रिपब्लिक इंग्ल्यान्डसँग पराजित भएपछि सोही समय भएको अर्काे खेलमा स्कटल्यान्डलाई पराजित गर्दै क्रोएसियाले युरोकप २०२० अन्तर्गत समूह डीको उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल चरणमा स्थान सुरक्षित गरेको छ । त्यसका लागि क्रोएसियाले स्कटल्यान्डलाई ३–१ गोलले पराजित गर्‍यो ।

यो पराजयसँगै स्कटल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । समूहगत चरणको अन्तिम खेलअघि दुवै टोलीसामु जितको नतिजासँगै प्रतियोगिताको नकआउट चरणमा स्थान सुरक्षित गर्ने अवसर थियो । क्रोएसियाले यही अवसर सदुपयोग गर्दा स्कटल्यान्ड असफल भएको छ ।

स्कटल्यान्डलाई खेलको १७औँ मिनेटमा निकोला भ्लासिकले १–० ले अघि बढाएका थिए । खेलको ४२औँ मिनेटमा कालुम म्याकग्रेगोरले गोल गर्दै स्कटल्यान्डलाई खेलमा १–१ को बराबरीमा फर्काएका थिए । त्यसवेला ग्लासगो रंगशालामा उपस्थित स्कटल्यान्डका १२ हजार दर्शकको जितको आशामा खुसी मनाएका थिए । 

यद्यपि, त्यसपछि लगातार दुई गोल थप्दै क्रोएसियाले जितसँगै प्रिक्वार्टरफाइनल चरणको यात्रा निश्चित गर्‍यो । क्रोएसियालाई खेलको ६२औँ मिनेटमा कप्तान लुका मोड्रिचले २–१ ले अघि बढाए । खेलको ७७औँ मिनेटमा इभान पेरिसिचले कर्नरमार्फत आएको बललाई गोलमा परिणत गर्दै ३–१ को जित निश्चित गरे । यो जित स्कटल्यान्डविरुद्ध क्रोएसियाको पहिलो रह्यो ।