मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रोबर्ट राइस
२०७८ असार ९ बुधबार ०७:३५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

उदाउँदो मुलुकसँग त्रसित हुने अमेरिकी इतिहास

Read Time : > 2 मिनेट
रोबर्ट राइस
२०७८ असार ९ बुधबार ०७:३५:००

अमेरिकामाथि सबैभन्दा ठूलो जोखिम चीनबाट नभएर देशभित्रै बढ्दै गएको फासीवादी शक्तिबाट छ

चीनको बढ्दो आक्रामक भूराजनीतिक तथा आर्थिक अडानले अमेरिकामा उग्र आक्रोश उत्पन्न गरिरहेको छ । यस विषयमा अमेरिकाका दुई दलबीच विरलै देखिने मतैक्य कायम छ । यदि चीनसँग प्रतिस्पर्धी भावना लिएर अमेरिकाले आधारभूत अनुसन्धान, शिक्षा र पूर्वाधारमा सरकारी लगानी बढायो भने यसले राम्रै गर्छ । सन् १९५७ को अन्त्यतिर स्पुतनिक प्रक्षेपणपछि अमेरिकामा यस्तै लगानी बढेको थियो । तर, चीनप्रति बढ्दो शत्रुताले जोखिम पनि ल्याउन सक्छ । 

स्पुतनिक प्रक्षेपणपछि सोभियत संघले अमेरिकालाई उछिनेर अघि जान लाग्यो भन्ने चिन्ताले अमेरिकालाई नराम्ररी हल्लायो । दोस्रो विश्वयुद्धपछि सन्तुष्टिको निद्रामा सुतिरहेको अमेरिकालाई त्यस कम्पनले ब्युँझायो । अमेरिकाले धेरै पहिले नै सुरु गर्नुपर्ने सामाजिक तथा भौतिक पूर्वाधारमा लगानीलाई तीव्रता दिन थाल्यो । अधिकांश काम राष्ट्रिय प्रतिरक्षाको नाममा भए । जस्तो राष्ट्रिय प्रतिरक्षा शिक्षा ऐन र राष्ट्रिय प्रतिरक्षा राजमार्ग ऐन आए । धेरैजसो विकास कार्यका आधारभूत अनुसन्धानहरू डिफेन्स एड्भान्स रिसर्च प्रोजेक्ट एडमिनिस्ट्रेसनमा निर्भर थिए । त्यसवेला भएका अनुसन्धानकै बलमा सेमि–कन्डक्टर, भूउपग्रह प्रविधि र इन्टरनेटको विकास भयो । समग्रमा त्यस समयको लगानीले अमेरिकाको उत्पादकत्व बढायो र एउटा पुस्ताको ज्यालामा पनि वृद्धि गर्‍यो । सोभियत संघ कमजोर हुँदै जान थालेपछि अमेरिकाले जापानमा नयाँ प्रतिद्वन्द्वी फेला पार्‍यो । त्यस समय जापानमा बनेका कारले अमेरिकाका ठूला तीन कार निर्माताको बजार हिस्सा हडप्न थालेका थिए । मित्सुबिसीले रकफेलर सेन्टरमा उलेख्य हिस्सा खरिद गर्‍यो । सोनीले कोलम्बिया पिक्चर्स किन्यो । निन्तेन्दोले सियाटल मरिनर्स किन्ने विचार गर्दै थियो । 

सोभियत संघ कमजोर हुँदै जान थालेपछि अमेरिकाले जापानलाई नयाँ प्रतिद्वन्द्वी फेला पार्‍यो । सन् १९८० को दशकको अन्त्य र सन् १९९० को सुरुमा जापानबाट अमेरिकालाई सोभियत संघ र नाजी जर्मनीजत्तिकै खतरा रहेको चर्चा हुन थालेको थियोे । 

सन् १९८० को दशकको अन्त्य र सन् १९९० को दशकको सुरुमा अमेरिकाको प्रतिस्पर्धात्मक क्षमतामाथि जापानबाट चुनौती रहेको चिन्ता शिखरमा थियो । सोही समय जापानी ‘चुनौती’ र अमेरिकी रोजगारीमाथिको जापानी ‘जोखिम’बारे कैयौँ संसदीय सुनुवाइ पनि भए । जापानको दानवीकरण गर्दै एकपछि अर्को किताब निस्किन थाले । प्याट चोआटेको ‘एजेन्ट अफ इन्फ्लुयन्स’ पुस्तकमा प्रभावशाली अमेरिकीलाई उलेख्य आर्थिक प्रलोभन दिएर टोक्योले ‘अमेरिकी राजनीतिमाथि प्रभुत्व’ कामय गर्न खोजेको चर्चा थियो । 

क्लाइड प्रेस्टोविचद्वारा लिखित ‘ट्रेडिङ प्लेसेज’ पुस्तकमा अमेरिकाले जापानी चुनौतीलाई प्रभावकारी रूपमा जवाफ दिन नसकेकाले ‘अमेरिकाको शक्ति र अमेरिकीको जीवनस्तर तीव्र रूपमा खस्किएको’ दाबी गरिएको थियो । विलियम एस डिएट्रिचको पुस्तकमा ‘इन द स्याडो अफ द साइजिङ सन’ले जापानबाट ‘अमेरिकी जीवनशैली र स्वतन्त्रतामाथि विगतका दिनमा नाजी जर्मनी र सोभियत संघ’बाट जत्तिकै खतरा रहेको भनिएको थियो ।

रोबर्ट जेइलिन्स्की र निगेल होलोवे जोडीले तिनका पुस्तक 
‘अनइक्वेल इक्विटी’मा जापानले आफ्नो पुँजी बजारमा छेडखानी गरेर अमेरिकी कर्पोरेसनलाई कमजोर बनाएको तर्क गरेका छन् । ड्यानियल बस्टेइनको किताब ‘येन’ मा जापानको शक्ति बढिरह्यो भने अमेरिका ‘शत्रुतापूर्ण जापानी विश्व–व्यवस्था’को सिकार हुने दाबी छ । यीबाहेक पनि जापानबाट जोखिम रहेको विषयमा धेरै किताब आए । तर, किताबमा दाबी गरिएजस्तो जापानले कुनै षड्यन्त्र गरिरहेको थिएन । उसले आफ्नो शिक्षा र पूर्वाधारमा प्रशस्त लगानी गरेको कुरा माथिका धेरैले ध्यानै दिएनन् । लगानीको बलमा उनीहरूले उच्च गुणस्तरका सामग्री बनाउन सक्षम भए र ती उत्पादनलाई अमेरिकी उपभोक्ताले मन पराइदिए । अमेरिकी शिक्षा प्रणालीबाट निस्किएका ८० प्रतिशत युवाले म्यागजिनसमेत बुझ्न नसक्ने रहेकोप्रति धेरैको नजर गएन । त्यसबाहेक असुरक्षित पुल र सडकका खाल्डाखुल्डीले अमेरिकाको उत्पादकत्व घटाइरहेको थियो । 

अहिले चीनको सन्दर्भमा नयाँ भूराजनीतिक प्रतिद्वन्द्विता महसुस गर्ने गरी बढेको छ । अमेरिकालाई चीनले दिएको चुनौतीलाई म आधारहीन भन्दिनँ । तर, अमेरिकाले दोस्रो विश्वयुद्धपछिको अधिकांश समय दोष लगाउने पात्र खोजेको पनि सत्य हो । अहिले पनि अमेरिकाले सबैभन्दा ठूलो चुनौती चीनबाट नभएर देशभित्रै बढ्दै गएको फासीवादी शक्तिबाट सामना गरिरहेको छ । चीनप्रतिको उग्र घृणाले कतै हामी गलत प्राथमिकता चुन्दै त छैनौँ भन्ने डर पनि छ । हामीले शिक्षा, पूर्वाधार तथा आधारभूत अनुसन्धानमा सरकारी लगानी बढाउनुको साटो सैन्य खर्चमा धेरै जोड दिन हुँदैन । अमेरिकाको भविष्य सार्वजनिक खर्च वृद्धिमा छ । 

(अमेरिकाका पूर्वश्रममन्त्री राइस युनिभर्सिटी अफ क्यालिफोर्निया–बर्कलेका सार्वजनिक नीतिका प्राध्यापक हुन्)
द गार्जियनबाट