मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एसओएस बालग्राममा हुर्किएका सन्तानसँग शारदा गुरुङ
मञ्जु टेलर काठमाडाैं
२०७८ असार ९ बुधबार ०८:३६:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

एसओएस बालग्रामकी शारदा आमा

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ असार ९ बुधबार ०८:३६:००

२५ वर्षको उमेरमा ‘आमा’को जिम्मेवारी लिन बालग्राम छिरेकी शारदा त्यहाँका सन्तान हुर्काउनमा यति व्यस्त भइन् कि चार दशकसम्म बालग्रामबाहिरको संसार नै बिर्सिइन् 

२०२८ सालमा ‘आमा’को जिम्मेवारी लिन एसओएस बालग्राम छिरेकी शारदा गुरुङलाई ‘सन्तान’ हुर्काउँदैमा जीवन बितेको पत्तै भएन । २५ वर्षको उमेरमा ‘आमा’को जागिर खान बालग्राम छिरेकी शारदा त्यहाँका सन्तान हुर्काउनमा यति व्यस्त भइन् कि बालग्रामबाहिरको संसार नै बिर्सिइन् ।

चार दशकसम्म बालग्राममा ‘आमा’का रूपमा असहाय बालबालिकाको स्याहार गरेर बसेकी शारदाका अहिले सयौँ सन्तान छन् । काम र अध्ययनको सिलसिलामा विश्वभरि छरिएर रहेका उनीहरूको माया पाउँदा जीवन पूर्ण भएको ठान्छिन् । 

शारदा अहिले ७७ वर्ष पुगिन् । ४० वर्षसम्म एसओएस बालग्राम भक्तपुरमा आबद्ध रहेर काम गरेकी उनी स्वास्थ्य समस्या देखिएपछि अहिले आफैँले हुर्काएका सन्तानहरूसँग बालग्राम आवास भवनमा बसिरहेकी छिन् । एकपटक हृदयघात भइसकेकी शारदालाई समयसमयमा स्वास्थ्य समस्या देखिइरहन्छ । तर, उनलाई कहिले पनि आफ्नो घर फर्कन मन लागेन । आफैँले हुर्काएका छोरोछोरी र तिनीहरूका सन्तानहरूको ठूलो परिवारको मायाले बाँधिरहेको छ । उनले जन्म दिएर मात्रै सन्तानको माया पाइन्छ भन्ने भनाइलाई गलत सावित गरिदिएकी छिन् । 

सिन्धुपाल्चोकको बुगाथलीमा जन्मिएकी शारदा परिवारकी माहिली छोरी हुन् । सम्पूर्ण जीवन समाजसेवामा व्यतीत गरेकी उनको बाल्यकाल बुबा कप्तान रणबहादुर गुरुङ र आमा मनमाया गुरुङसँगै मुगाथलीमै बित्यो । बुबाले सेनाबाट अवकाश पाएपछि उनको परिवार काठमाडौं आएको थियो । यही क्रममा शारदाले काठमाडौंमै रहेर एसएलसीसम्म अध्ययन गरिन् । शारदाका तीनजना दिदिबहिनी मात्रै थिए । त्यो समयमा एसएलसीसम्म पढेकोलाई समाजमा शिक्षित वर्गका रूपमा चिनिन्थ्यो । यहीकारण उनका आमाबुबाले पनि उनले जागिर गरुन भन्ने चाहन्थे । त्यतिवेलासम्म उनलाई परिवार र आफन्तले विवाहका लागि पनि दबाब दिन थालिसकेका थिए । तर, शारदालाई भने अझै पढेर बुबाको इच्छा पूरा गर्ने चाहना थियो । यहीकारण उनले २५ वर्षको उमेरमा बालग्राममा ‘आमा’को जागिर गर्न थालिन् । 

यतिवेला नेपालमा भर्खरै मात्र एसओएस बालग्राम स्थापना भएको थियो । बालग्रामले असहाय र टुहुरा बालबालिकाको स्याहार गर्न थाले पनि यहीँ बस्ने व्यवस्था भने भइसकेको थिएन । बालग्रामले बालबालिका बस्नका लागि नयाँ भवन बनाएको थियो । तर, भवनमा धारा र बत्ती जडान भइसकेको थिएन । तत्कालीन समयलाई गुरुङ सम्झन्छिन्, ‘पहिलोपटक बालग्राम आउँदा धेरै बच्चालाई एकैपटक कसरी सम्हाल्नेजस्तो लागेको थियो । हुन त यहाँ आउनुभन्दा अगाडि विभिन्न तालिम दिइएको थियो, तर साँच्चिकै बच्चा हुर्काउनलाई तालिमले मात्र कहाँ पुग्दो रहेछ र ?’

शारदाले बालग्राममा जागिर सुरु गर्दा अन्य २२ जना आमाहरू पनि थिए तर चौबिसै घन्टा सँगै रहने भएकोले बच्चाहरू उनीसँगै झुम्मिन्थे । बालग्रामले जन्मेको एक हप्ता नपुगेका शिशुहरूलाई समेत स्याहारका लागि लिएर आउने गथ्र्यो । शिशुहरूको स्याहार गर्दागर्दै शारदालाई घर जाने समय नै मिल्दैनथ्यो । कहिलेकाहीँ समय मिलाएर घर जाँदा पनि उनलाई तिनै बच्चाहरूको चिन्ताले सताउने गथ्र्यो र लगत्तै फर्किन्थिन् । कहिलेकाहीँ महिनौँसम्म बालग्राममै बित्ने गरको उनी बताउँछिन् । उनलाई बिस्तारै घरभन्दा बालग्राम नै प्यारो लाग्न थालिसकेको थियो । उनी भन्छिन्, ‘म यतै भुल्न थालेपछि बुबाले, अब विवाह गर्नुपर्छ, यसरी जिन्दगी चल्दैन भन्नुहुन्थ्यो । तर, काखका नानीहरू छोडेर विवाह गर्न मन लागेन ।’ 

उनी अहिले सम्झिन्छिन्, ‘बालग्रामको भवनमा बत्ती थिएन, रातभरि टुकी बालेर बस्नुपथ्र्यो । लुगा धुन खोलामा जानुपथ्र्यो । एउटा नानीलाई बल्लतल्ल खाटमा सुताएर सुत्न जाउँ भन्दा अर्को रुन थालिसक्थ्यो ।’ यहाँका बच्चाहरूलाई सानैदेखि छुट्टाछुट्टै बेडमा सुताउने गरेको उनी बताउँछिन् । तर, एक डेढ हप्ता पनि नपुगेको बच्चाहरू भने एक्लै सुत्न नमान्ने र सँगै सुताउने गरेको उनले बताइन् । दुई–तीनवटा साना बच्चाहरू सँगै हुर्काउनु पर्दा महिनौँसम्म सुत्न नपाएको उनको अनुभव छ । उनले भनिन्, ‘पछि त बानी हुन थाल्यो, एउटा हुर्किदा अर्को सानो बच्चा आउने हुँदा आफ्नोबारे सोच्ने फुर्सद नै भएन । अहिले त्यसैगरी नातिनातिनीहरू झुमिन्छन्, खुसी लाग्छ ।’ 

उनले हुर्काएका सन्तान काम र अध्ययनको सिलसिलामा देशबाहिर पनि छन् । सबै सन्तानले आफ्नो पेसाव्यवसाय अपनाएर बसेका छन् । समय–समयमा भेट्न आउँछन् । शारदाकै प्रत्यक्ष रेखदेखमा हुर्किएकामध्ये डाक्टर राम रोक्का हङ्गेरीमा कार्यरत छन् । वातावरणविज्ञ डा. जनक पाठक, फिजियोथेरापिस्ट डा. राजन तामाङ काठमाडौंमै कार्यरत छन् । प्रहरी उपरीक्षक सुवास भण्डारी, इन्जिनियर असिम अधिकारी, इन्जिनियर श्याम रोक्का, स्टाफ–नर्स शुभेच्छा श्रेष्ठ, काष्ठ उद्यमी गोपाल आचार्य, व्यवसायी मिनु भट्टराई आज पनि शारदासँग उत्तिकै नजिक छन् । उनले हुर्काएका छोराछोरीका सन्तान पनि उनलाई भेट्न आइरहन्छन् । भन्छिन्, ‘छोराछोरीले बुढेसकालमा साथ नदिएर कति आमाबाबु वृद्धाश्रममा छन्, कति सडकमै बस्नुपरेको छ । यति सन्तानको माया पाउनु भनेको भाग्यमानी हुनु हो । अझै टुहुरा बालबालिकाको स्याहार गर्न मन लाग्छ, त्यतिवेला जिउमा बल थियो, हप्तौँ नसुतेर पनि नानीहरू हुर्काइयो, अब त ज्यानले पनि थेग्दैन, तैपनि वेलावेलामा बालग्राम फर्किउँजस्तो लागिरहन्छ ।’

शारदा असहाय र टुहुरा बालबालिकाकी आमा मात्र नभई उनीहरूका लागि प्रेरणा पनि हुन्् । बालग्राममा हुर्केर उच्च शिक्षा अध्ययन गरेका अधिकांश बालबालिका अहिले मानव सेवामा संलग्न छन् । जसमध्ये रीता भुसाल, करुणा कार्की हर्मन माइनर विद्यालयमै शिक्षकका रूपमा कार्यरत छन् । 

यस्तै गौरी दवाडी एसओएस शिशु स्याहार केन्द्रमा र कीर्तिका घले गुरुङ, नारायण रानामगर, आकाश प्रजा पनि एसओएससँग सम्बन्धित रहेर काम गरिरहेका छन् । अध्ययनमै रहेका दोस्रो पुस्तालाई समेत उनले असहायहरूको सेवामा लाग्न उत्प्रेरणा दिइरहन्छिन् । 

बालग्राममा कार्यरत आमाहरूलाई एसओएसले स्वास्थ्य खर्च, आवास गृहको व्यवस्था र पेन्सनको व्यवस्था गरेको छ । टेलिफोन तथा भिडियोमा छोराछोरीसँग कुरा हुँदा ‘ठूलो मान्छे बन्ने दौडमा असल हुन नबिर्सनु’ भन्ने सन्देश दिन्छिन् । जहाँ बसे पनि मातृभूमि र आमाको गौरव सम्झेर कर्तव्यपथमा खटिन सुझाब दिन्छिन् ।