१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
रासस काठमाडौँ
२०७८ असार ८ मंगलबार १०:४७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निषेधाज्ञा थप खुकुलो : उपत्यकामा बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोर–बिजोर प्रणाली    

Read Time : > 2 मिनेट
रासस काठमाडौँ
२०७८ असार ८ मंगलबार १०:४७:००

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले उक्त आदेश जारी गरेको हो ।  

व्यावसायिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । आजदेखि असार १४ गते राति १२ बजेसम्म उक्त आदेश लागू हुनेछ । यसपटक साना सवारीसाधन (कार जिप, भ्यानमा बढीमा चारजना), ट्याक्सीमा तीनजना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।    

डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीबाहेक) सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, उपहारका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यस्तै सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक्स पसललाई पनि आइतबार, मंगलबार र बिहीबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न अनुमति दिइएको छ ।  

निर्माणजन्य सामग्रीको पसल (हाडवेयर्स, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ । ठूलो परिमाणको ढुवानी राति मात्र गर्न भनिएको छ । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै वेला सञ्चालन गर्न सकिने जनाइएको छ । खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री बिक्री–वितरण गर्ने पसल, खेलकुद सामग्री पसल, डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र), स्टेसनरी बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिनेछ ।  

अत्यावश्यक वस्तुको अनलाइन तथा टेकअवे सेवा होमडेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकामा साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सवारी मर्मतका पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ । विवाह, व्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँँमा गर्न पाइनेछ । यसका लागि दुईवटा सवारी साधान प्रयोग गर्न सकिनेछ ।  

अत्यावश्यक सेवाजस्तै एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मत, स्वास्थ्यसम्बन्धीका गाडी, दूरसञ्चार, इन्टरनेट मर्मत, कार्गो, कुरियर तथा डाकसेवा, फोहरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधन विषय उल्लेख गरेर सञ्चालन गर्न सकिनेछ । भिडभाड हुने सबै गतिविधि, फुटपाथ र खुला ठाउँमा हुने व्यापार, होटेल तथा पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्ध, नित्यकर्मबाहेकका धार्मिक कार्यक्रम सञ्चालन गर्न पाइनेछैन । भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न पाइनेछैन ।  

सार्वजनिक सवारी सञ्चालन र अत्यावश्यक सवारी, एम्बुलेन्स, स्वास्थ्यकर्मी पशु स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेकका अन्य जिल्लाबाट पासविहीन सवारीका साधन काठमाडौं उपत्यकामा सञ्चालन र प्रवेशमा रोक लगाइएको छ । प्रशासनले जारी गरेको आदेशमा शैक्षिक संस्था अनलाइनमार्फत सञ्चालन गर्न सकिनेछ । वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थी वा इडिभी परेका व्यक्ति र कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तर्वार्ता कार्यका लागि तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिनेछ । उद्योग, कलाकारखाना तथा सार्वजनिक र निजी निर्माणकार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिनेछ ।

पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटर दूरी कायम गर्ने र अनिवार्य रूपमा स्वास्थ्यका सबै मापदण्ड अवलम्बन गर्नुपर्नेछ । अत्यावश्यक सामग्री बोक्ने सवारीसाधन परिचयपत्रका आधारमा सञ्चालन गर्न सकिने प्रजिअ पराजुलीले जानकारी दिए ।
     
तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, कुखुरा दाना, चल्ला पशुपक्षीजन्य पदार्थ, खाद्यान्न भेटेरेनरी, इन्धन, ग्यास, सरसफाइमा प्रयोग गर्ने सामान, प्रिन्ट तथा सरकारी छापाखाना, कृषि कार्यका सामग्री ढुवानीका साधन ब्यानर राखेर राति ८ देखि बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिनेछ । सार्वजनिक तथा निजी निर्माणकार्यका लागि राति ९ देखि बिहान ५ बजेसम्म ढुवानी गर्न भनिएको छ ।  

भन्सार बिन्दुबाट उल्लेख भएका मालबाहक सवारीसाधन सम्बन्धित भन्सार प्रमुखले रुट खुलाई अनुमति प्रदान गरेमा त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारी उल्लेख गरेको दिन र स्थानसम्म आवातजावत गर्न पाउनेछन् । विदेश जाने यात्रुले अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्दा हवाई टिकट, पासपोर्ट, भिसा आदिका आधारमा जिल्ला प्रवेश पाउने जनाइएको छ । विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना हुने गरी आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह गर्न भनिएको छ ।  

बैंक तथा वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्था स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम जनशक्तिबाट भिडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।