१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ८ मंगलबार १०:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एनएचआरसी र नेपाल इन्टेन्सिभ केयरबीच तथ्यांक राख्नेबारे सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ८ मंगलबार १०:५१:००

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसनबीच इन्टेन्सिभ केयरसम्बन्धी एकीकृत तथ्यांक राख्ने  विषयमा सम्झौता भएको छ । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवाली र फाउन्डेसनका अध्यक्ष डा. हेमराज पनेरूले एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

नेपालमा सघन उपचार कक्ष आइसियू र भेन्टिलेटरमा काम गर्न सक्ने र सोही विधाका कति जनशक्ति छन् भन्ने आधिकारिक तथ्यांक छैन । उक्त तथ्यांकलाई समयअनुकूल परिस्कृत गर्ने र यथेष्ट संख्या राख्न अनुसन्धान परिषद् र फाउन्डेसनबीच सहमति भएको हो । 

सम्झौतामा लेखिएको छ– इन्टेन्सिभ केयरसम्बन्धी सम्पूर्ण  तथ्यांक एकै ठाउँमा उपलब्ध गराउनका लागि काम सुरु गर्ने उल्लेख छ । तथ्यांकहरू एकीकृत रूपमा संकलन हुन थालेपछि सो विषयमा अध्ययन–अनुसन्धान गर्न सहज हुने परिषद्का सदस्य सचिव डा. ज्ञवालीले बताए । 

एकीकृत तथ्यांक संकलनले देशभरका कुन अस्पतालमा कति आइसियू छन्, कति भेन्टिलेटर छन् त्यो एकै ठाउँबाट हेर्न मिल्ने उनको दाबी छ । ‘यो काम भएपछि कुन अस्पतालमा कति आइसियू र भेन्टिलेटर कति छन् ? देशभरि कति छन् भनेर अनलाइनबाटै हेर्न सकिनेछ,’ उनले भने, ‘यसबाट एकै ठाउँबाट तथ्यांक लिन सकिन्छ भने अर्को अध्ययन–अनुसन्धान गर्नको लागि तथ्यांक पनि एकीकृत रूपमा नै उपलब्ध हुन्छ ।’ 

सम्झौतामा प्रविधिक र व्यावसायिक दक्षता बढाउने पाटोमा परिषदले सहयोग गर्ने र तथ्यांक संकलन गर्न  विस्तृत काम फाउन्डेसनले गर्ने उल्लेख छ ।