मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ८ बुधबार १०:४४:००
Read Time : > 4 मिनेट
सेयर बजार

ब्याजदर नियन्त्रण हुने आशाले बढ्यो बजार

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ८ बुधबार १०:४४:००

लामो समयदेखि ओरालो लागेको नेप्से मंगलबार २ दशमलव शून्य ४ प्रतिशत बढेर बन्द भएको छ । बजार बढेसँगै लगानीकर्ताको मनोबल पनि बढेको छ । सोमबार राति सार्वजनिक भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले ब्याजदर नियन्त्रण गर्ने व्यवस्था गरेसँगै बजार बढेको हो । ब्याजदर र बजारको उल्टो सम्बन्ध हुने भएका कारण बजार उकालो लाग्न ब्याजदर घट्नैपर्ने एक ब्रोकरले बताए । यस दिन कारोबारको १ घन्टामा नै नेप्से १ प्रतिशत बढेको थियो । त्यसपछिको समयमा केही ओरालो लागे पनि अन्तिम समयमा बजार तीव्र गतिले बढेर बन्द भएको छ । बजार हरियो भएपछि लगानीकर्तामा पनि उत्साह देखिएको छ । 

केन्द्रीय बैंकले वित्तीय संस्थाहरूले प्राथमिक पुँजीको शतप्रतिशत विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गर्ने भएको छ । यसका साथै, बैंक तथा वित्तीय संस्थालाई ४ प्रतिशतमा साधारण पुनर्कर्जा दिने व्यवस्था रहेकोमा बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जामा ऋणीबाट ८ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकले ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन गरी कर्जा र निक्षेपको भारित औसत ब्याजदरका आधारमा ब्याजदर अन्तर गणना गर्ने व्यवस्था पनि गर्ने भएको छ । लामो समयदेखि बजारलाई वित्तीय संस्थाहरूको उच्च ब्याजदरले घट्न दबाब दिइरहेको थियो । यसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने लगानीकर्ताले अपेक्षा गरेका छन् । 

 बजार सारांश
मंगलबार नेप्से परिसूचक २२ दशमलव ४४ अंक बढेर १ हजार १ सय २४ दशमलव ९६ बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स यस दिन ४ दशमलव ५५ अंक बढेर २ सय ३८ दशमलव ९१ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन १ दशमलव ६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३९ अंक बढेको छ । यस दिन १ सय ६७ कम्पनीको ४ हजार ५ सय ६८ पटकको कारोबारमा २१ करोड ४५ लाख ८८ हजार ६ सय १९ रुपैयाँबराबरको ७ लाख १४ हजार ८ सय ७६ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषणः यस दिन नेप्सेले हरियो मारुबोजु मैनबत्ती बनाएको छ । यसले बजारको दिशा परिवर्तन हुने संकेत गर्दछ । लामो समयदेखि ओरालो लागेको बजार अब बढ्ने संकेत यस मैनबत्तीले दिएको छ । 

आरएसआई : माघको २७ गतेदेखि ओभरसोल्ड जोनमा रहेको नेप्सेको १४ दिने आरएसआई यस दिन न्युट्रल जोनमा उक्लिएको छ । यस दिन यो आरएसआई बढेर ३९ दशमलव २३ स्केलमा पुगेको छ । आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन ६ दशमलव १४ पुगेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६७ कम्पनीमध्ये १ सय २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १७ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ९ दशमलव ८५ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार ९४ दशमलव ७४ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ३२ दशमलव ५१ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ४० दशमलव शून्य ६ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

अपरको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम, सेयर संख्या र कारोबार संख्याका आधारमा अपर तामाकोसी अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ७ सय ७२ पटकको कारोबारमा १ करोड २७ लाख ९३ हजार ८ सय ३० रुपैयाँबराबरको ५७ हजार ५ सय ३९ कित्ता सेयर खरिद–बिक्री भएको छ । सो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ११ रुपैयाँ बढेर २ सय ३२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजार ओरालो लागेसँगै घटेको यस कम्पनीको सेयरमूल्य यस दिन बढेको हो । कारोबार सुरु भएदेखि यस कम्पनीको सेयरमा लगानीकर्ताहरूको आकर्षण रहेको छ । नागरिक लगानी कोषको यस दिन १ करोडको हाराहारीमा सेयर कारोबार भएको छ । 

३ कम्पनीको मूल्यमा सर्किट
यस दिन ३ कम्पनीहरूको सेयरमूल्यमा सर्किट लागेको छ । सोमध्ये २ कम्पनीहरूको सेयरमूल्य १० प्रतिशत बढेर सर्किट लागेको हो भने १ को सेयरमूल्य घटेर सर्किट लागेको हो । यस दिन चौतारी लघुवित्त र कालिका लघुवित्तको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेपछि सर्किट लागेको हो । वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयरमूल्य भने यस दिन १० प्रतिशत घटेर सर्किट लागेको हो । अन्य कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छैन । 

साढे ४ प्रतिशत बढ्यो जीवन बिमाको परिसूचक
यस दिन कारोबारमा आएका समूहको परिसूचक हरियो अर्थात् बढेको छ । जीवन बिमा समूहको परिसूचक यस दिन सर्वाधिक ४ दशमलव ५७ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक यस दिन २ दशमलव ९९ प्रतिशत, निर्जीवन बिमा समूहको २ दशमलव ९१ प्रतिशत, जलविद्युत् समूहको २ दशमलव ४३ प्रतिशत र अन्य समूहको २ दशमलव २४ प्रतिशत बढेको छ । कारोबारमा आएको वाणिज्य बैंक समूहको परिसूचक यस दिन १ दशमलव ५५ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ५ प्रतिशत, होटेल समूहको १ दशमलव ३५ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव ३१ प्रतिशत बढेको छ । वित्त समूहको परिसूचक यस दिन सामान्य बढेको छ ।

 ग्लोबल आइएमईको ऋणपत्र 
ग्लोबल आइएमई बैंक लिमिटेडले फागुन १५ गतेदेखि ‘१०.२५% ग्लोबल आइएमई बैंक लि. डिबेन्चर २०८०/८१’ निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँमा १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम ७५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन गरिने ऋणपत्रमध्ये ६ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ । निष्कासन बन्द छिटोमा फागुन १९ गते र ढिलोमा चैत १४ गते हुनेछ । यस ऋणपत्रको अवधि ५ वर्ष तोकिएको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशतका दरले ६–६ महिनामा ब्याज भुक्तानी गर्नेछ । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपि एलए माइनस’ ग्रेडिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संकेत गर्छ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

मुक्तिनाथको बोनस हितग्राही खातामा
मुक्तिनाथ विकास बैंक लिमिटेडले १८ दशमलव २५ प्रतिशत बोनस सेयर सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । बैंकले मंसिर १७ गतेसम्म अभौतिक सेयर धारण गरेका सेयरधनीहरूको खातामा सो बोनस सेयर जम्मा गरेको हो । मंसिर २९ गते सम्पन्न बैंकको वार्षिक साधारण सभाले सो बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीहरूलाई कम्पनीले शीघ्र सेयर अभौतिक गराई हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । बैंकको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

शिव श्रीको आइपिओ बाँडफाँड
शिव श्री हाइड्रोपावर लिमिटेडले फागुन ६ गते आइपिओ बाँडफाँड गरेको छ । कम्पनीले पुस २७ गतेदेखि माघ १८ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका १४ लाख ७६ हजार ४ सय कित्ता आइपिओ निष्कासन गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।