१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ७ सोमबार ०९:३४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पेट्रोलियम आपूर्ति सहजताबारे उद्योगमन्त्रीको उपस्थितिमा बृहत् छलफल

झापामा आउने पेट्रोलियम पाइपलाइनको पनि अनगुगमन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ७ सोमबार ०९:३४:००

नेपाल आयल निगम लिमिटेडले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशाेर यादवको उपस्थितिमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र चुहावट नियन्त्रणलगायतका विषयमा अन्तर्क्रिया गरेको छ । मोरङको विराटनगरमा आयोजित छलफलमा उपस्थितहरूले तराईका पेट्रोलपम्पहरूलाई मर्ज गर्नुपर्ने तथा पहाडमा नयाँ पेट्रोलपम्प खुला गर्न प्रक्रिया अघि बढाउनुपर्ने सुझाब दिएका छन् ।

आयल निगमको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख नकुल भण्डारीले पेट्रोलियम पदार्थको आपूर्ति विषयमा धेरैपछि बृहत् छलफल भएको बताए । उनका अनुसार छलफलमा प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री राजकुमार ओझा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल, प्रदेश १ को प्रहरी तथा सशस्त्र प्रहरी प्रमुखहरू ईश्वरबाबु कार्की र वंशीराज दाहाल, प्रदेश २ को सशस्त्र प्रहरी प्रमुख चन्द्रप्रकाश गौतमको सहभागिता थियो ।

त्यस्तै, झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहाका प्रमुख जिल्ला अधिकारीहरू क्रमशः श्रवणकुमार तिमिल्सिना, कोषहरि निरौला, उमेशकुमार ढकाल, फणिन्द्रमणि  पोखरेल र प्रदीपराज कँडेलको उपस्थिति रहेको थियो । ‘हामीले धेरैपछि पेट्रोलियम पदार्थको आपूर्ति र वितरणका लागि पूर्वका प्रमुख सरोकारवाला पक्षलाई राखेर बृहत् छलफल गरेका हौँ,’ भण्डारीले भने, ‘यसबाट प्राप्त सुझाबलाई कार्यान्वयन गर्दैै लैजानेछौँ ।’

उनका अनुसार भारतीय सीमा क्षेत्रमा पेट्रोलपम्प नियुक्त गर्दा विशेष मापदण्ड बनाउनुपर्ने सुझाब आएको छ । खासगरी प्रमुख जिल्ला अधिकारीहरूले सीमा क्षेत्रमा इन्धन तस्करी बढ्दै गएकाले नियन्त्रण गर्न पेट्रोलपम्पहरूलाई समेत निश्चित मापदण्ड बनाई लागू गर्न सुझाब दिएका थिए । आयल निगमले देशभरका पेट्रोलपम्प व्यवसायीका लागि एउटै मापदण्ड हुने गरी ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, ०७५’ लागू गरेको छ । यही विनियमालीअनुसार निगमले नयाँ पम्पको दर्ता खोल्ने तथा नियमन गर्दै आएको छ ।

त्यस्तै, छलफलमा सहभागीले तराईमा पम्पको संख्या धेरै भएको र एउटै व्यवसायीको दुई–तीनवटा पम्प भएकाले मर्ज गर्ने नीति ल्याउन सुझाब दिएका छन् । पहाडी क्षेत्रमा भने लामो दूरीका बीचमा पनि पम्प पाउन मुस्किल बन्दै गएकाले त्यस क्षेत्रका लागि आवेदन खुला गर्नुपर्ने सुझाब आएको भण्डारीले बताए ।

अहिले पहाडी क्षेत्रमा नयाँ बाटो र राजमार्ग खुल्ने क्रम बढेर यातायातको पहुँच विस्तार भइरहेकाले नयाँ पम्पको खाँचो रहेको सरोकारवालाले औँल्याएका छन् । आयल निगमले मध्यपहाडी र हुलाकी राजमार्गलक्षित नयाँ पेट्रोलपम्प खोल्न गृहकार्य अघि बढाइरहेको जानकारी दिएको छ । त्यस्तै, आधुनिक पम्पको संख्या बढाउन पनि सुझाब दिएको भण्डारीले बताए ।

आयल निगमले पम्पहरूको निरीक्षण गर्दा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयनमा गर्दा प्रभावकारी हुने सुझाबसमेत आएको भण्डारीले जानकारी दिए । कार्यक्रममा मन्त्री यादवले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नीति, निर्माण गरी कार्यान्वयन गर्न सरकार तयार रहेको बताएका थिए । उनले त्यसअघि झापाको चारआलीस्थित निगमको शाखा कार्यालय पुगेर प्रस्तावित सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनबारे जानकारीसमेत लिएका थिए । पाइपलाइनबारे जानकारी लिएपछि मन्त्री यादवले चाँडै निर्माण कार्य सुरु गर्न निर्देशन दिएका थिए ।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पाइपलाइनको सर्भे सकिएको र भारत–नेपालबीच ‘जिटुजी’ समझदारीमा पाइपलाइन निर्माण गर्ने तयारी भइरहेको जानकारी गराएका थिए । सो पाइपलाइन ५० किलोमिटर हुनेछ । निगमको चारआलीस्थित शाखा कार्यालयछेउमै रहेको २३ बिघा क्षेत्रफलमा पाइपलाइनको अन्तिम बिन्दु हुने र त्यहाँ पाइपलाइनबाट आएको तेल भण्डारण गर्न ठूलो क्षमताको भण्डारणगृहसमेत निर्माण हुने पौडेलले जानकारी दिएका थिए । मन्त्रीले यादवले सोही अवसरमा झापाको मेचीनगर–६, काँकडभिट्टास्थित नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालयसमेत निरीक्षण गरेका थिए ।