मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७८ असार ७ सोमबार ००:५५:००
Read Time : > 3 मिनेट
खेलकुद

शतप्रतिशत जितसँगै इटाली समूह विजेता, वेल्स पनि प्रिक्वार्टरमा

Read Time : > 3 मिनेट
एजेन्सी
२०७८ असार ७ सोमबार ००:५५:००

यसअघि नै युरोकप २०२० को प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गरिसकेको इटाली समूह एको विजेता टोलीसमेत बनेको छ । इटालीले आइतबार राति खेलको दोस्रो हाफमा १० जनामा समेटिएको वेल्सलाई १–० ले पराजित ग¥यो । यससँगै इटालीले समूहगत चरणको खेलमा शतप्रतिशत जितको नतिजा आत्मसात् गरेको छ ।

इटालीसँग पराजयका बाबजुद वेल्स समूह एको उपविजेताको रूपमा प्रतियोगिताको अन्तिम १६ मा पुग्न सफल भएको छ । आइतबार एकै समयमा भएको समूह एअन्तर्गतको अर्काे खेलमा स्विट्जरल्यान्डले टर्कीमाथि ३–१ गोलको जित निकाल्यो । यो खेलमा जितको अन्तर तीन गोलसम्म भएको भए स्विट्जरल्यान्डको भाग्य खुल्ने थियो । 

स्विट्जरल्यान्डसँग अझै पनि प्रिक्वार्टरफाइनल चरण पुग्ने सम्भावना छ । तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट चारभित्र पर्न सके स्विट्जरल्यान्ड पनि युरोकप २०२० को नकआउट चरणमा पुग्नेछ । युरोपेली फुटबल महासंघ (युइएफए)को नियमअनुसार समूहका शीर्ष दुईसहित ६ वटै समूहको तेस्रो स्थानमा रहेका ६ मध्ये उत्कृष्ट चार टोलीले पनि प्रतियोगिताको नकआउट चरणमा प्रवेश पाउनेछन् ।

रोबर्टाे मान्सिनीको टोली इटालीले नकआउट चरणको प्रतिस्पर्धामा अर्काे शनिबार वेम्बलीमा समूह सीको उपविजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, रोबर्ट पेजको टोली वेल्सले सोही दिन आम्स्टर्डममा समूह बीको उपविजेता टोलीसँग खेल्नेछ ।

वेल्सको सशक्त प्रदर्शन 
इटालीविरुद्ध वेल्सले सशक्त प्रदर्शन दियो । खेलको दोस्रो हाफमा १० जनामा सीमित भएर पनि वेल्सले इटालीलाई एकभन्दा बढी गोल गर्न दिएन, जुन नतिजा उसलाई युरोकप २०२० को अन्तिम १६ मा पुग्न पर्याप्त बन्यो ।

समूह एअन्तर्गतकै अर्काे खेलमा स्विट्जरल्यान्डले टर्कीलाई पराजित गरेपछि वेल्सको यो अवसर खोसिएको जस्तै देखिएको थियो । यद्यपि, इटालीको सशक्त आक्रमणसामु बलियो उभिएको वेल्स आफूलाई आवश्यक नतिजा निकाल्न सफल देखियो ।

प्रतियोगितामा यसअघि नै प्रिक्वार्टरफाइनलमा प्रवेश गरिसकेको इटालीले वेल्सविरुद्ध अघिल्लो खेलबाट आठ खेलाडी परिवर्तन गरेको थियो । त्यसका बाबजुद पनि मैदानमा इटाली बलियो देखियो । इटालीले माटियो पेस्सिनाको गोलमार्फत खेलको पहिलो हाफमै अग्रता बनाएको थियो । त्यसपछि खेलको दोस्रो हाफ पूरैजसो वेल्सलाई बलियो इटालीविरुद्ध १० जनामा खेल्नुपरेको थियो । खेलको ५५औँ मिनेटमा इटालीका फेडेरिको बर्नाडेस्चीलाई घातक ट्याकल गरेपछि वेल्सका एथान एम्पदुले सीधै रातो कार्डमा मैदान छाडेका थिए । त्यसपछिको ३५ मिनेटभन्दा बढी समय वेल्सले १० जनामा रहेर खेलेको थियो । 

इटालीले भने जितमा नयाँ कीर्तिमान भेट्टाएको छ । उसका लागि यो लगातार ३०औँ अपराजित खेल हो । इटालीले सर्वाधिक धेरै अपराजित खेलको आफ्नै कीर्तिमानको बराबरी गरेको हो । यस्तै, उसको यो लगातार ११औँ जित हो ।

गत बुधबार टर्कीविरुद्ध जित हात पारेपछि नकआउट चरणमा वेल्सको सम्भावना बलियो देखिएको थियो । इटालीसँगको जितले उसको यात्रा पक्का थियो, सामान्यअन्तरको हारमा पनि उसको सम्भावना थियो । त्यही तथ्यलाई बुझेका प्रशिक्षक पेजले अघिल्लो खेलमा पहेँलो कार्ड पाएका तीन खेलाडी केइफर मुर, बेन डेभिज र क्रिस मेफामलाई बेन्चमै राखेका थिए ।

खेलमा इटालीले सुरुवातबाटै दबाब बनायो । इटालीले नियमित रूपमा वेल्सकै क्षेत्रमा खेल्यो । इटालीका कति आक्रमण पोस्टबाट नजिकिँदै बाहिरिए भने कति प्रहार वेल्सका गोलरक्षक डान्नी वार्डले बचाए । यद्यपि, खेलको ३९औँ मिनेटमा पेस्सिनाको प्रयास भने गोलमा परिणत हुन पुग्यो । मार्काे भेर्राटीको फ्री–किकमार्फत आएको बललाई उनले फ्लिक गर्दै गोलमा परिणत गरेका थिए । 

स्विट्जरल्यान्डलाई जित काफी भएन

युरोकप २०२० च्याम्पियनसिपमा आइतबार टर्कीमाथि ३–१ को प्रभावशाली जित निकाले पनि स्विट्जरल्यान्ड समूह एबाट सीधै नकआउट चरणमा पुग्न असफल भएको छ । यसै समूहमा रहेको इटालीले वेल्सलाई हराएको छ । वेल्स र स्विट्जरल्यान्डको समान चार अंक रहेको र गोलअन्तरमा स्विट्जरल्यान्ड तेस्रो स्थानमा रहेको छ । स्विट्जरल्यान्डको तुलनामा वेल्सले विपक्षी पोस्टमा एक गोल बढी गरेको छ । 

यस समूहबाट उपविजेता हुँदै अन्तिम १६ पुग्ने लक्ष्य बनाएको स्विट्जरल्यान्डले त्यही भावनाअनुरूप नै टर्कीविरुद्ध प्रदर्शन गरेको थियो । स्विट्जरल्यान्डले आफ्नो अन्तिम खेलमा रणनीति सफलसमेत बनायो । समूहमा तेस्रो भए पनि अंकगणितीय आधारमा स्विट्जरल्यान्डको अझै पनि प्रिक्वार्टरफाइनलमा पुग्ने सम्भावना बाँकी नै छ । प्रतियोगिताको नियमअनुसार उत्कृष्ट तेस्रो स्थानमा रहने टोली अन्तिम १६ पुग्ने प्रावधान छ । 

तर, यसका लागि स्विट्जरल्यान्डले समूह चरणका सबै खेलको अन्तिम नतिजा कुर्नुपर्छ । टर्की लगातार तीन खेलमा हारको सामना गरी प्रतियोगिताबाट बाहिरिएको छ । अजरबैजानको बाकु रंगशालामा स्विट्जरल्यान्डलाई सानदार जित दिलाउँदा जेर्डान साक्विरी, ह्यारिस सेफेरोभिक र स्टेभन जुवेरले प्रेरणादायी प्रदर्शन गरेका थिए । जेर्डानले दुई तथा सेपेरोभिकले एक गोल गरेका थिए । यी दुवै खेलाडीले जुवेरको उत्कृष्ट पासमा गोल गरेका हुन् । स्विट्जरल्यान्डका तीनवटै गोल उत्कृष्ट थिए । 

खेलको छैटौँ मिनेटमै सेरोभिकले स्विट्जरल्यान्डलाई १–० को अग्रता दिलाए । जुवेरको सटिक पासमा सेफेरोभिकले डिबक्समा आकर्षक गोल गरे । खेलमा पूर्ण रूपमा नियन्त्रण राखेको स्विट्जरल्यान्डले २६औँ मिनेटमा दोस्रो गोलको अग्रता लियो । यसपटक जेर्डानले स्विट्जरल्यान्डलाई अगाडि राखे । उनले डिबक्सभित्र निकै कठिन कोणबाट गोल गरेका हुन् । जेर्डानको शक्तिशाली प्रहार छेक्न टर्कीका गोलरक्षकसमक्ष कुनै समय रहेन । 

मध्यान्तरपछि टर्कीले खेलमा सुधार ग¥यो । पहिलो हाफमा बल पोसेसनमा कमजोर देखिएको टर्कीले मध्यान्तरपछि यस क्षेत्रमा सुधार ग¥यो । प्रतियोगितामा टिकिरहन टर्कीलाई पनि जितको आवश्यकता थियो । खेलको ६२औँ मिनेटमा काहभेचीले गोल गर्दै टर्कीलाई २–१ को गोलअन्तरमा ल्याए । काहभेचीको गोलसँगै टर्किस समर्थकको आशा जागेको थियो । काहभेचीले डिबक्सभन्दा केही बाहिरबाट उत्कृष्ट गोल गरे । 

तर, खेलको ६८औँ मिनेटमा जर्डानले व्यक्तिगत दोस्रो गोल थप्दा स्विट्जरल्यान्ड ३–१ ले अगाडि बढ्यो । त्यसपछि टर्की खेलमा फर्कन सकेन । टर्कीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेका कारण नै बल पोसेसनमा ५० प्रतिशत बनाएको थियो । स्विट्जरल्यान्डले पनि खेलमा ५० प्रतिशत नै बल पोसेसन कायम राखेको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा टर्कीले १९ र स्विट्जरल्यान्डले २३ पटक गोल प्रयासका लागि पोस्ट चार्ज गरेको थियो । स्विट्जरल्यान्डले टर्कीको पोस्टमा १० पटक सट्स अर्न टार्गेट ग¥यो । यस पक्षमा टर्कीले ६ पटकमात्र प्रयास गरेको थियो । खेलमा टर्कीले २० तथा स्विट्जरल्यान्डका खेलाडीले १४ पटक फल गरे ।