मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार ६ आइतबार २०:००:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आमसञ्चारगृह स्थापनाको चौतर्फी विरोध, पत्रकार महासंघद्वारा १३ जिल्लाका प्रजिअमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र

Read Time : > 1 मिनेट
२०७८ असार ६ आइतबार २०:००:००

बागमती प्रदेश सरकारले बजेटमार्फत आमसञ्चारगृह स्थापना गर्ने भएपछि सरोकारवाला पक्षले चौतर्फी विरोध जनाइरहेका छन् । मुख्यमन्त्री डोरमणि पौडेल नै सक्रिय भएर आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा १० करोड विनियोजन गर्दै आमसञ्चारगृह स्थापना गर्ने भएपछि सरोकारवाला पक्ष नेपाल पत्रकार महासंघ, निजी क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीले विरोध जनाएका हुन् । विरोधकै क्रममा बजेट विनियोजनबाट पछि हट्दै निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रिनेसमेत महासंघले चेतावनी दिएको छ ।

यसैक्रममा आइतबार बागमती प्रदेशका १३ जिल्लाका पत्रकार महासंघ शाखाहरूले सञ्चारगृह स्थापना गर्ने निर्णय फिर्ताको माग गर्दै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको संयोजकत्वमा १३ जिल्ला शाखाहरूले प्रजिअमार्फत पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

काठमाडौं, भक्तपुर, ललितपुरसहित जिल्ला शाखाहरूले बुझाएको ज्ञापनपत्रमा बागमती प्रदेश सरकारले निजी तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरूलाई दबाउने मनसायले लोकतन्त्रको मूल्य–मान्यतालाई समेत उपहास हुने गरी आफैँले सञ्चारमाध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति गम्भीर आपत्ति रहेको उल्लेख छ ।

महासंघले सरकारको नियन्त्रणमा रहने गरी आमसञ्चारमाध्यम स्थापना र सञ्चालन गर्न दश करोड विनियोजन गर्नु एकातर्फ जनताको सेवामा समर्पित हुनुपर्नेमा आफैँ सञ्चारगृह खोल्नेतर्फ लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेको आरोपसमेत लगाएको छ । 

संघीय सरकारमातहत रहेका सञ्चारमाध्यमसमेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा बागमती प्रदेश सरकार आफैँले आमसञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र पे्रेसलाई निरंकुशताको कडी लगाउन खोजको प्रस्ट भएकोे महासंघको दाबी छ । 

प्रमुख प्रतिपक्ष माओवादीलाई महासंघको ध्यानाकर्षण
नेपाल पत्रकार महासंघ बागमती प्रदेशले नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दललाई पनि आइतबार नै ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेश सरकारले आफैँ आमसञ्चारगृह सञ्चालन गर्न बजेट विनियोजन गरेकोप्रति प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र संसदीय दललाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको हो ।

पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलालसहितको टोलीले संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा महासंघले प्रदेश सरकारले आमसञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता गर्न भूमिका खेल्न माओवादी केन्द्रलाई आग्रह गरिएको छ । 

ज्ञापनपत्र बुझाउन महासंघका केन्द्रीय सदस्य सुनील खड्का, प्रदेश उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारुमगर, मकवानपुर अध्यक्ष मणिराज गौतम, प्रेस संगठन नेपाल मकवानपुरका अध्यक्ष अञ्जली थापालगायतको उपस्थिति रहेको थियोे ।