मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ६ आइतबार १८:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकामा थप एक साता निषेधाज्ञा : निजी सवारीमा जोर–बिजोर लागू, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ६ आइतबार १८:३६:००

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो । यससँगै उपत्यकामा १४ असारसम्म निषेधाज्ञा हुने भएको छ । यसअघि थपिएको निषेधाज्ञा ७ असारमा सकिँदै छ ।

यद्यपि निषेधाज्ञालाई खुकुलो भने पारिएको छ । निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न दिइने भएको छ । निजी सवारीसाधनहरू कार, ट्याक्सी र मोटरसाइकल, स्कुटी जोर–बिजोर प्रणाली लागू गरी चल्न दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । 

पसलहरूलाई बिहान ११ बजेदेखि ४ बजेसम्म बारअनुसार सञ्चालन गर्न दिइने निर्णय भएको उनले बताए । उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) खोल्न दिइनेछ । 

सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर (ग्रोसरीबाहेक अन्य), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङ खुल्न दिइने निर्णय भएको उनले बताए । 

त्यस्तै खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री बिक्री–वितरण गर्ने पसलहरू तथा डिपार्टमेन्ट स्टोर (ग्रोसरी), पुस्तक पसल–स्टेसनरी पसल दैनिक ११ बजेसम्म खोल्न दिइनेछ । 

निर्माणजन्य सामग्रीको पसल बिहान ११ बजेदेखि अपराह्न ६ बजेसम्म र अनलाइन डेलिभरी–टेक अवे र सवारीसाधन मर्मत वर्कसप साँझ ७ बजेसम्म खोल्न दिइने प्रजिअ पराजुलीले जानकारी दिए । 

विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डहरूको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह सुचारु गर्ने निर्णय पनि भएको छ ।