१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७८ असार ६ आइतबार १०:४७:००
Read Time : > 3 मिनेट
खेलकुद

लगातार दुई बराबरीपछि समस्यामा स्पेन 

Read Time : > 3 मिनेट
एजेन्सी
२०७८ असार ६ आइतबार १०:४७:००

कुनै समय स्पेन फुटबलमा विश्वकै शक्तिराष्ट्र हो । उसका समर्थक स्पेनलाई अझै पनि त्यही रूपमा मान्छन् । सन् २००० को अन्त्यदेखि २०१० को सुरुवातसम्म विश्वमै आफ्नो एकछत्र राज जमाएको थियो स्पेनले । त्यस वेला विश्वका कुनै पनि टोलीलाई स्पेनको सामना गर्नु मुस्किल हुने गर्थ्याे । स्पेनसँग एकखालको ‘फेयर फ्याक्टर’ थियो ।

तर, पछिल्ला प्रतियोगितामा स्पेनले त्यो छवि गुमाएजस्तै देखिएको छ । जारी युरोकप २०२० अन्तर्गत शनिबार राति भएको खेलमा स्पेन पोल्यान्डसँग पनि १–१ गोलको बराबरीमा रोकियो । प्रतियोगितामा उसको यो दोस्रो बराबरी हो । स्पेन आफ्नो पहिलो खेलमा स्विडेनसँग पनि गोलरहित बराबरीमै रोकिएको थियो । यससँगै लुइस एन्रिकको टोलीलाई प्रिक्वार्टरफाइनलको यात्रा मुस्किल देखिएको छ ।

तीनपटकको युरोपियन च्याम्पियन स्पेनले अब समूहगत चरणको अन्तिम खेलमा बुधबार स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा जित हात पार्न नसकेको अवस्थामा स्पेन युरोकप २०२० को समूहगत चरणबाटै बाहिरिने निश्चित छ । ‘हामीलाई भाग्यले पनि साथ दिइरहेको छैन,’ स्पेनका रक्षक जोर्दी अल्बा भन्छन्, ‘यद्यपि हामीले मिहिनेत गरेका छौँ । आगामी खेलमा हामी राम्रो नतिजा निकाल्न सक्षम हुनेछौँ । हाम्रो मिहिनेतमा कसैले पनि प्रश्न गर्न सक्नेछैन ।’

स्पेनको अघिल्लो चरणको यात्रा अन्योलमा देखिँदा पोल्यान्डले भने आफ्नो सम्भावनालाई जीवितै राखेको छ । पोल्यान्ड यो खेलमा पराजित भएको अवस्थामा प्रतियोगिताबाटै बाहिरिने निश्चित थियो । टोलीको यो आशा जीवित राख्न रोबर्ट लेवान्दोस्कीले गोल गरे ।

‘फेयर फ्याक्टर’ गुमाएको स्पेन

सन् २००० को अन्त्यदेखि २०१० को सुरुवातसम्म स्पेन यस्तो टोली थियो, जोसँगै सबै टोली सजग रहन्थे । उनीहरूको ‘टिकी–टाका’ शैलीले विश्वका सबै टोलीलाई दबाबमा राखेको थियो । त्यही शैलीमा स्पेनले सन् २००८ र २०१२ को युरोकप तथा सन् २०१० को विश्वकप जित्यो ।

‘पासिङ’ र ‘बल पोसेसन’ स्पेनको मुख्य शैली हो । स्पेनी टोलीको त्यो विशेषता अझै पनि छ । स्पेनले स्विडेनविरुद्ध ८५ र पोल्यान्डविरुद्ध ७६ प्रतिशत बल पोसेसन कायम गरेको छ । तर, अहिले त्यति धेरै समय बल आफूसँग राखेर पनि त्यसलाई सदुपयोग गर्न सकिरहेका छैनन् स्पेनी खेलाडीहरू । उनीहरूलाई मैदानमा कठिन समयमा समस्याबाट उकास्ने लिडरको अभाव देखिएको छ । ‘फुटबल अझै शारीरिक खेल हो,’ जर्मनीका पूर्वप्रशिक्षक योर्गेन क्लिन्समान भन्छन्, ‘कार्लाेस पुयोल, सर्जियो बास्केट्स, सर्जियो रामोसजस्ता खेलाडी स्पेनी टोलीमा हुँदा तपाईंमा एक खालको डर हुन्थ्यो । उनीहरू हुँदा मैदान युद्धमैदानजस्तै हुन्थे । उनीहरू सबैखाले पास बुझ्न सक्थे । कुन बललाई कसरी खेल्नुपर्छ भनेर बुझ्थे । अब स्पेनसँग त्यो फेयर फ्याक्टर रहेन ।’

स्ट्राइकरको कमी, कमजोर मिडफिल्ड
स्पेनले आफ्नो पछिल्लो दुई खेलमा विपक्षी टोलीको पोस्टमा २९ प्रहार गरेको छ । तर, त्यसमा मात्रै एक गोल सम्भव भएको छ । पोल्यान्डविरुद्ध अल्भारो मोराटाले क्लोज रेञ्जबाट गोल गरेका थिए । रेफ्रीले सुरुवातमा अफसाइड दिएको उक्त गोल भिडियो एसिस्टेन्ट रेफ्री (भार) ले सदर गरेको थियो । 

स्विडेनविरुद्ध राम्रा दुई अवसर सदुपयोग गर्न नसकेकोमा मोराटाको तीव्र आलोचना भएको थियो । तर, स्पेनको अग्रपंक्तिमा आलोचना व्यहोर्ने उनी एक्ला स्ट्राइकर हाेइनन् । पोल्यान्डविरुद्ध पेनाल्टी अवसरमा जेरार्ड मोरेनोले पोस्टमा प्रहार गरे । यस्तै, डानी ओल्मोले मात्रै एकपटक विपक्षीको पोस्टमा प्रहार गर्न सके । ‘अहिलेको स्पेनिस टोलीमा अझै पनि राम्रा खेलाडी छन्,’ इंग्ल्यान्डका पूर्वरक्षक मिकाह रिचार्डस् भन्छन्, ‘उनीहरू बाहिर अरूले आलोचना गरेजत्तिको कमजोर पनि छैनन् । उनीहरूलाई प्राप्त अवसर सदुपयोग गरिदिने स्ट्राइकरको मात्रै खाँचो छ ।’ स्पेनिस फुटबल विश्लेषक गुइलेम बालाग भने स्पेनको समस्या अग्रपंक्तिमा मात्रै नभएको तर्क गर्छन् । ‘मेरो सम्झनामा भएसम्म यो अहिलेसम्मकै खराब मिडफिल्ड हो,’ उनी भन्छन् ।

के लेवान्दोस्कीले पोल्यान्डलाई प्रेरित गर्न सक्लान् ?

समूह ‘ई’बाट नकआउट चरणमा पुग्ने सम्भावना चारै टोलीको उत्तिकै छ । स्पेनविरुद्धको खेलको ४५ मिनेटपछि पोल्यान्डको सम्भावना सकिएकोजस्तै देखिएको थियो । यद्यपि, लेवान्दोस्कीले प्रतियोगितामा आफ्नो गोलको खाता खोल्दै पोल्यान्डलाई प्रतियोगितामा जीवित राखेका छन् ।

बायर्न म्युनिखका स्ट्राइकर लेवान्दोस्की आफ्नो क्लबका लागि पछिल्लो लामै समयदेखि उत्कृष्ट ‘फर्म’मा देखिएका छन् । सन् २०१९–२० को सिजन उनले ४७ खेलबाट ५५ गोल गरेका छन् । उनी गत डिसेम्बरमा भएको फिफा फुटबल अवार्डमा पुरुषतर्फको उत्कृष्ट खेलाडीसमेत घोषित भए ।

तर, राष्ट्रिय टोलीबाट भने गोलका लागि उनले धेरै संघर्ष गर्नुपरेको छ । शनिबार स्पेनविरुद्धको गोल उनले पोल्यान्डका लागि पछिल्लो १३ खेलमा गरेको मात्रै तेस्रो गोल हो । यद्यपि, स्पेनविरुद्ध उनले आफ्नो स्तर देखाएका छन् । क्लोज रेञ्जबाट उनको उक्त हेडिङ गोललाई रोक्न कुनै पनि गोलरक्षकलाई सहज हुने थिएन । यो गोलले उनलाई प्रतियोगितामा थप गोल गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ । जसमा पोल्यान्डले नकआउट चरणको यात्रा तय गर्नेछ । ‘म लेवान्दोस्कीको विरुद्धमा कुनै बाजी लगाउँदिनँ,’ इंग्ल्यान्डका पूर्वरक्षक रियो फर्डिनान्ड भन्छन्, ‘यो उनलाई राष्ट्रिय टोलीबाट पनि प्रमाणित गर्ने अवसर पनि हो । जुन उनले अहिलेसम्म देखाएका छैनन् ।’

समूह ‘ई’मा अब कसलाई के आवश्यक छ ?
समूह ‘ई’अन्तर्गतको अन्तिम चरणको खेलमा स्पेनले स्लोभाकिया र पोल्यान्डले स्विडेनसँग खेल्नेछन् । यदि स्लोभाकियालाई पराजित गर्न सकेको अवस्थामा स्पेन नकआउट चरणमा पुग्नेछ । यदि, स्लोभाकियासँगको खेल बराबरीमा रोकिए र अर्काे खेलमा पोल्यन्ड विजयी भएको अवस्थामा स्पेन समूहमा तेस्रो हुनेछ ।

स्पेन र स्लोभाकियाबीचको खेल बराबरीमा नरोकिए पोल्यान्ड स्विडेनलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सक्नेछ । स्विडेनलाई प्रतियोगिताको अन्तिम १६ मा पुग्न पोल्यान्डविरुद्ध पराजय टारे पुग्नेछ । यस्तै, स्पेनलाई पराजित गर्न सके स्लोभाकिया अघि बढ्नेछ ।

युरोकप २०२० मा स्पेनको खेल
स्पेन १–१ पोल्यान्ड
स्पेन ०–० स्विडेन

समूहगत चरणमा खेल्न बाँकी 
स्पेनविरुद्ध स्लोभाकिया
(बुधबार, ९ असार)