मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शान्ति तामाङ काठमाडौं
२०७८ असार ४ शुक्रबार १८:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले बहिष्कार गरेपछि काठमाडौं महानगरको नगर सभा दुई दिनका लागि स्थगित 

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७८ असार ४ शुक्रबार १८:०५:००

काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष ०७८/७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगर सभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । तर, उपप्रमुखसहित नेपाली कांग्रेसनिकट जनप्रतिनिधिले एजेन्डाविनाको नीति तथा कार्यक्रम आएको भन्दै नगर सभा बहिष्कार गरेका थिए ।

कोभिडविरुद्धको भ्याक्सिन किन्न बजेट छुट्याउनुपर्ने, वीर अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने, सबैले कर तिर्न सक्ने गरी करको दायरा फराकिलो गर्नुपर्नेलगायतका विषयलाई नीति तथा कार्यक्रममा नसमेटिएको कांग्रेस जनप्रतिनिधिको भनाइ छ ।

उपप्रमुखसहित नेपाली कांग्रेसनिकट जनप्रतिनिधिले नीति तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको मेयर शाक्यले बताए ।  ‘काठमाडौं महानगरपालिकाको नवौँ अधिवेशन हिजोबाट सुरु भयो । हिजोको बैठकमा नेपाली कांग्रेसका तर्फबाट उपमेयरलगायत धेरैजसो साथीहरू अनुपस्थित रहनुभयो,’ शाक्यले भने, ‘सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रूपमा नीति तथा कार्यक्रम पारित गर्ने विगतको परम्पराअनुसार हिजोको बैठक स्थगन गरेर आजलाई राखेका थियौँ । मैले हिजो नै उपमेयरलगायत अन्य साथीहरूसँग पनि छलफल गरेँ । आज बिहान पनि उपमेयरलगायतका नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूसँग छलफल भयो । उहाँहरूले नीति तथा कार्यक्रम अध्ययन गर्न दुई दिनको समय माग गर्नुभयो । त्यहीअनुसार आज बैठक बसेर आइतबार ११ बजे सभागृहमै नीति तथा कार्यक्रममाथिको छलफल गर्ने गरी नवौँ अधिवेशन स्थगन गरिएको छ ।’ 

प्रमुख शाक्यले असार १० गते बजेट ल्याउनैपर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसतर्फका जनप्रतिनिधिसँग सघन छलफल गरेको बताए । ‘विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि सर्वसहमतिले नीति तथा कार्यक्रम र बजेट पारित गर्ने गरी अघि बढ्छौँ,’ उनले भने, ‘विगतका वर्षमा पनि हामी सर्वसहमतिमा अघि बढेका छौँ । मलाई विश्वास छ, यो वर्ष पनि त्यस्तै हुन्छ । नीति तथा कार्यक्रममा त्यस्तो असहमति राख्नुपर्ने केही छैन । अझ सघन अध्ययन गरेर जान पाए राम्रो भन्ने उहाँहरूको सुझाबलाई सकारात्मक रूपमा लिएको छु ।’ 

नगर सभामा पेस भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्व बनाउन उहाँहरूबाट गहकिलो सुझाब आउने अपेक्षा लिएको पनि उनले बताए । ‘बजेट पेस गर्ने उपमेयरले नै हो, मैले त्यो विषयमा पनि उहाँहरूलाई जानकारी गराएको छु । बजेट तर्जुमा समितिको संयोजक नै उपमेयर हुने भएकाले त्यो विषयमा उहाँहरू जानकार हुनुहुन्छ भन्ने ठानेको छु,’ शाक्यले भने, ‘हामी १० गते बजेट पेस गर्छौँ । त्यसपछि पनि लामो समय व्यापक छलफल गरेर बजेट पास गर्छौँ ।’ 

नीति तथा कार्यक्रममा सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड– १९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट–सहुलियत दिने, महानगरवासीलाई ‘नागरिक स्वास्थ्य बिमा कार्यक्रम’, ‘एक वडा एक नमुना विद्यालय कार्यक्रम’ सहरी स्वास्थ्य  क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवाजस्ता विषय समेटिएको छ भने दर्जनाैँ पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।