मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ४ शुक्रबार ०९:१२:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

हनुमान झुला  र राजनेता पार्क

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ४ शुक्रबार ०९:१२:००

केही वर्षअगाडि नयाँ नेपालको नारा लोकप्रिय बनेको थियो । बिस्तारै जसले नारा दियो, उसैबाट निराशा हात लागेपछि मानिसहरू भन्न थालेका थिए– देखियो नयाँ नेपाल, गरिखान देऊ ! त्यस्तो नारालाई कसैकसैले राजनीतिक दाउपेचमा मिसाएको भए पनि त्यो आमजनसाधारणको बुझाइ नै बनिसकेको थियो । जुन डिग्रीको आशा जगाएर त्यो नारा आएको थियो, त्यसको दुईगुना निराशा बोकाएर हरायो । यता तीन–चार वर्षयता नेपालीले सुन्नुपर्ने बाध्यता लिएर अर्को नारा घुसेको छ– समृद्ध नेपाल, सुखी नेपाली । सुन्दै आनन्द आउने यो नारा पनि आफ्नो राजनीतिक लक्ष्य हासिल गरेर विसर्जनको तयारीमा छ । नयाँ नेपालको नाराले जस्तै समृद्ध नेपालको नाराले केहीबेर लठ्ठिएका नागरिक बिस्तारै भ्रममुक्त हुँदै छन् ।

निकुञ्जले आगो लगाएर घरटहरा जलाइदिएका चेपाङका लागि आवासको व्यवस्था गर्न नसक्ने प्रदेश सरकार हनुमानहरूले खेल्ने र रमाउने जंगल बचाउन हनुमान झुला बनाउने कार्यक्रम लिएर आएको छ
 

तर, नारा दिनेहरूलाई लागिरहेको छ, थप रंगीन प्वाँख घुसार्ने हो भने नारा अझै बिक्छ । यसपालिको बजेटमार्फत केही प्रदेशले अघिसारेका कार्यक्रम र नारा हेर्‍यो भने यसका अर्थका पत्र–पत्र खुल्नेछन् । संघीय सरकारका प्रधानमन्त्रीले चुच्चे रेलसँगै रंगीन बनाएर पस्केको समृद्धिको सपना रसुवागढीतिरै बिलाएपछि अयोध्याका राम र दमकको भ्युटावरमा त्यसलाई बिसाएका थिए । यतिखेर उनका भारदारमा पनि यो सपना बेच्ने र समृद्धि खोज्ने हुटहुटी जीवितै रहेको देखिन्छ । बागमती प्रदेश र प्रदेश नम्बर १ को बजेटमा सामेल भएका केही कार्यक्रमले यसैको झल्को दिन्छन् । बागमती प्रदेश सरकारले संघीय सरकारले विकास गर्न चाहेको अयोध्यापुरीलाई राम जन्मभूमि बनाउने योजनालाई मूर्तरूप दिन बजेट विनियोजन गरेको छ । कार्यक्रम पनि कम्ता आकर्षक छैनन् । केही नमुना कार्यक्रम यस्ता छन् : वैकुण्ठधाम मार्ग, रामसीता उद्यान, हनुमान झुला । नजिकै गत वर्ष निकुञ्जले घरटहरामा आगो लगाएर र हात्तीले कुल्चेर लखेटेका चेपाङका लागि आवासको व्यवस्था छैन । जोत्ने, खन्ने जमिन पनि छैन । यता प्रदेश सरकारका अर्थमन्त्री कैलाश ढुंगेल हनुमानहरूले खेल्ने, रमाउने जंगल बचाउन हनुमान झुला बनाउने कार्यक्रम लिएर आएका छन्, समृद्धिको खोजीमा । आखिर हनुमानहरूले गर्न सक्ने नै या त रुखमा झुन्डिने हो, या सारी र दौराको फेरमा ।

उता प्रदेश १ को योजना पनि कम्ती रोचक छैन । प्रदेश सरकार जनतालाई ‘समृद्ध’ बनाउन कटिबद्ध छ । प्रदेशको नाम र राजधानी तोक्न नसके पनि आफ्नो समृद्धिको लक्ष्यबाट विचलित भएको छैन । त्यसलाई बजेटले नै पुष्टि गर्छ । आफ्नो निर्वाचन क्षेत्रमा सुकुमवासीको बस्ती हटाएर भ्युटावर बनाउने प्रधानमन्त्रीका विश्वासपात्रहरूले प्रदेशमा राजनेता पार्क बनाउन मात्र एक करोड विनियोजन गरेका छन् । ढुंगेसाँघुदेखि उर्लाबारीसम्म नेताहरूको स्मृतिमा संरचना बनाउनेदेखि नेताहरूका नाममा बनेका प्रतिष्ठानमार्फत कार्यकर्तालाई पैसा उपलब्ध गराउन तीन करोड रकम विनियोजन गरिएको छ । हनुमान झुला बनाउनेदेखि राजनेता पार्क बनाउनेसम्मका यी योजना प्रधानमन्त्री ओलीलाई खुसी बनाउन उनैको देखासिकीमा ल्याइएका हुन् । आर्थिक समृद्धि एकपक्षीय विषय अवश्य होइन । नागरिकलाई धनी बनाउनु मात्र पनि समृद्धि होइन । यससँगै संस्कृति, कला र चेतनाको विकास पनि पर्छन् । समृद्धि आमनागरिकको जीवनलाई उन्नत बनाउने एउटा उपकरण हो । त्यसका लागि पनि पहिले चाहिने त रोजगारी, शिक्षा, स्वास्थ्योपचार र उचित वासस्थान नै हो । यससँगै नीति बनाउनमा जनताको सहभागिता पनि हो । तर, नेताका विश्वासपात्रहरू भने भक्तिगान गर्नुमै गर्व गर्छन् । बजेटले कमसेकम त्यसै भन्छ ।