मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको वर्गलाई कोभिडविरुद्धको खोपमा प्राथमिकता दिन मागपत्र पेस गर्दै ।
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ४ शुक्रबार ०८:५८:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिडविरुद्धको खोपमा  प्राथमिकता दिन निजी क्षेत्रको माग 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ४ शुक्रबार ०८:५८:००

देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको वर्गलाई कोभिडविरुद्धको खोपमा प्राथमिकता दिन निजी क्षेत्रले सरकारसँग माग गरेको छ । कोभिडले थलिएको अर्थतन्त्रलाई तत्काल तंग्रिने वातावरण बनाउन यस क्षेत्रसँग जोडिएका सबैलाई खोप लगाएर निर्बाध रूपमा काममा फर्काउन जरुरी रहेको उनीहरूको ठहर छ ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूका प्रतिनिधिले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई प्रत्यक्ष भेटेर तथा पत्राचार गरी खोप उपलब्ध गराउन माग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल पेट्रोलियम ट्यांकरचालक संघ, पर्यटन व्यवसायी, प्रदेश १ को आन्तरिक पर्यटन पुनरुत्थान समितिलगायतले सरकारसँग कोभिडविरुद्धको खोपमा प्राथमिकता दिन माग गरेका हुन् । 

महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसहितको प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री तामाङलाई भेटेरै उद्यमी–व्यवसायी, श्रमिक, कामदार, कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्यमन्त्री तामाङले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । ‘कोभिडले समग्र अर्थतन्त्र नै जर्जर बनाएकाले अर्थतन्त्रलाई तत्काल तंग्रिने वातावरण बनाउन यस क्षेत्रमा जोडिएका सबैलाई खोप दिएर काममा फर्काउन जरुरी रहेको सरकारले मनन गरिसकेको छ,’ उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग स्वास्थ्यमन्त्री तामाङले भने, ‘उद्योग–व्यवसायसँग प्रत्यक्ष जोडिएको जनशक्तिलाई खोप लगाउन पहिलो प्राथमिकता दिनेछौँ ।’ 

त्यस्तै, नेपाल उद्योग परिसंघले निजी क्षेत्रका उद्योगहरूमा कार्यरत मजदुर तथा कर्मचारीलाई प्राथमिकताका साथ खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेरै परिसंघका अध्यक्ष सतिशकुमार मोरले मापदण्ड बनाएर निजी क्षेत्रलाई भ्याक्सिन आयातको अनुमति दिँदा थप सहज हुने र चाँडै नै लक्षित वर्गले खोप पाउने भएकाले यसतर्फ पनि ध्यान दिन आग्रह गरे । परिसंघको आग्रहपछि मन्त्री पौडेलले कोरोनाको भ्याक्सिन खरिदमा सरकार अघि बढेको जानकारी गराए । उनले अमेरिका, चीन, भारतलगायतका देशबाट भ्याक्सिन खरिद गरी सबै नागरिकलाई उपलब्ध गराउन सरकार लागिपरेको पनि बताए । 

यस्तै, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएर फिल्मकर्मीका लागि तत्काल ५ हजार खोप उपलब्ध गराउन आग्रह गरेका छन् । निजी क्षेत्रसहित आमनागरिकले तत्काल खोप लगाउने वातावरण बनाउन माग गरिरहँदा सरकार भने खोप आयात गर्नेतर्फ त्यति गम्भीर भएर लागेको देखिएको छैन । बुधबार सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने निर्णय गरेको छ । तर, तत्काल खोप आउनेमा आशंका छ ।

महासंघ अध्यक्ष गोल्छाले निषेधाज्ञा र बन्दाबन्दीका समयमा पनि अग्रभागमा रहेर उपभोग्य वस्तुहरूको निर्बाध उत्पादन र वितरणका लागि काम गरिरहेको निजी क्षेत्रलाई खोपको पहिलो प्राथमिकतामा राख्न स्वास्थ्यमन्त्रीसँग माग गरे । ‘जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पूरा गर्नसमेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकता दिनुपर्छ,’ उनले भने ।  

नेपाल चेम्बर अफ कमर्सले समस्त उद्योगी तथा व्यवसायीलाई खोपको सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । ‘मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजस्वमा योगदान पुग्नेछ,’ चेम्बरले भनेको छ, ‘कोभिडको दोस्रो भेरियन्टले उद्योगी तथा व्यवसायीलाई आक्रान्त तुल्याएको छ, समयमै कोरोनाविरुद्धको खोप लगाउन नपाउँदा अग्रपंक्तिमा कार्यरत व्यावसायिक क्षेत्रको आत्मबलमा ह्रास आएको छ ।’ चेम्बरले समस्त उद्यमी–व्यवसायी तथा किराना पसलेसँगै यस क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकहरूलाई दुवै चरणको खोपको व्यवस्था गर्न आग्रह गरेको छ ।

इन्जिनियर्स एसोसिएसनले आइतबार स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई पत्र लेख्दै इन्जिनियर तथा आर्किटेक्टहरूका लागि खोपको सहज व्यवस्था मिलाउन आग्रह गरेको हो । कोभिड संक्रमणका कारण समग्र पूर्वाधार विकासको कामले अपेक्षित गति लिन नसकेको औँल्याउँदै राज्यले सञ्चालन गरिरहेका पूर्वाधार आयोजनालाई निरन्तरता दिन यथाशीघ्र कोभिडविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेको छ । निर्माण व्यवसायी महासंघले पनि विकास निर्माण कार्यमा प्रत्यक्ष रूपमा अग्रपंक्तिमा रही साइटमा खटिने सम्पूर्ण निर्माण व्यवसायी र तिनका कामदार तथा श्रमिकलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि २८ जेठमा स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएर यातायात सञ्चालक, चालक, कर्मचारी, परिचालक र टिकट बुकिङ गर्ने कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको छ । महासंघका अनुसार देशभर सार्वजनिक र मालबाहक गरी ३ लाख ६० हजार सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेका छन् । ती सवारीसाधनमा सवारीधनी, कर्मचारी, चालक, परिचालक र टिकट बुकिङ गर्ने कर्मचारी गरी करिब १५ लाख संलग्न छन् । महासंघले दोस्रोपटक खोपका लागि मन्त्रालयलाई आग्रह गरेको हो । 

खोप उपलब्ध नगराएको भन्दै पेट्रोलियम ट्यांकरचालकले पेट्रोलियम पदार्थको ढुवानी नै ठप्प पारेका छन् । नेपाल पेट्रोलियम ट्यांकरचालक संघले चालकलाई खोप नदिएसम्म तेल ढुवानी नगर्ने अडान लिएको थियो । चालक आन्दोलनमा उत्रिएपछि नेपाल आयल निगमले जतिसक्दो चाँडो खोप उपलब्ध गराउन पहल थालेको छ । तेल बिक्री गर्ने पम्पका मजदुरहरूले पनि खोपको व्यवस्था नगरेको भन्दै पेट्रोलपम्प बन्द गर्ने चेतावनी दिइरहेका छन् ।

आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ ले पर्यटन व्यवसायी र कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकारका सामाजिक विकासमन्त्री उषाकला राईलाई पत्र लेखेका छन् । प्रदेश १ को होटेल व्यवसायी संघ, नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स, होमस्टे एसोसिएसन, ट्राभल एसोसिएसन अफ झापा, धरान एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स, विराट एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स, प्याराग्लाइडिङ एसोसिएसन धरान, र्‍याफ्टिङ एसोसिएसन धरानलगायत संघ–संस्थाले खोप उपलब्ध गराउन प्रदेश सरकारलाई अनुरोध गरेका हुन् ।