माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)ले कोरोना संक्रमण महामारी र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै विपत् राहत कोष’ खडा गरेको छ । कोरोना महामारीको दोस्रो लहरले आक्रान्त भएका पीडित र केही दिनयता मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण बिचल्लीमा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यले वाइसिएल नेपालको केन्द्रीय समितिले ‘विपत् राहत कोष’ खडा गरेको जनाएको छ ।
वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले कोषमा बिहीबार मात्रै देशभरका आन्तरिक संगठनबाट तीन लाख रकम जम्मा भएको बताए । उनले कोषमार्फत बाढी प्रभावित क्षेत्रमा सहयोग गर्ने काम सुरु भइसकेको बताए ।
वाइसिएलले देश तथा विदेशमा रहेका सहयोग गर्न चाहने शुभेच्छुकलाई प्रभु बैंकको कोटेश्वर शाखामा रहेको संगठनको खाता नम्बर ०२०००१००४३१७९००००००३ मा रकम जम्मा गर्न सकिने बताएको छ । सहयोगका लागि सार्वजनिक अपिल गर्दै वाइसिएलले सहयोगीको सहयोग विवरण र राहत तथा उद्धारको लागत विवरण पारदर्शी रूपमा सार्वजनिक गरिने जनाएको छ ।