मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ३ बिहीबार ०६:४७:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

सम्पादकीय : बाढीपहिरोको दीर्घकालीन समाधान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ३ बिहीबार ०६:४७:००

असारलाई नेपालमा खेतीपातीका दृष्टिले उत्सवमय महिना मानिन्छ । नेपालको मुख्य कृषि उत्पादनका रूपमा धानबाली रहेको र असार धान रोपाइँ गरिने महिना भएकाले यसको अलग्गै आर्थिक र सांस्कृतिक महत्व रहने गरेको छ । तर, यही महिना नेपालीका लागि दुःख र विपत्को महिना पनि बन्ने गरेको छ । अस्ति मात्र धान रोप्न गएका मध्यनेपाल नगरपालिका–७ का किसान मिदिम खोलाले थुनिएर रातभर भयग्रस्त भई खेतमै बसेको र भोलिपल्ट बिहान मात्र उद्धार गरिएका दृश्य देखिए । खेतीपाती केवल उत्सवमय हुँदैन, बरु यस्ता अनेक जोखिमसमेत व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ ।

अझै पनि योजनाबद्ध, व्यवस्थित र भरपर्दो बस्ती विकासको दिशामा अघि नबढ्ने हो भने हामी हरेक वर्ष बाढीले बगाएका र पहिरोले पुरिएका मानिसको संख्या गन्ने र दुईचार दिन दुःख मनाउने कार्यमै सीमित हुनेछौँ 

यसपालि १ असारमै गण्डकी प्रदेशका बाग्लुङ म्याग्दी, कास्की, मुस्ताङ, लमजुङ र मनाङमा बाढीले वितण्डा मच्चायो । लुम्बिनीको गुल्मी र पाल्पामा पनि बाढीले निकै क्षति पुर्‍याएको छ । उता बागमती प्रदेशको सिन्धुपाल्चोक पनि पहिरो र बाढीको चपेटामा परेको छ । बाढीपहिरोका कारण केही मानिसको ज्यानसमेत गएको छ । सयौँ घरपरिवार विस्थापित भएका छन् । घरको आँगनबाट बगिरहेका खोला, भत्किरहेका घर, बगाएका पुल, ध्वस्त भएका जलविद्युत् आयोजना, बगेका सडक, पुरिएका र बगरमा फेरिएका धानखेतका दृश्य मंगलबारदेखि नै सञ्चारमा छाएका छन् । यसपालिको बाढीले मुख्यतया हिमाली र पहाडी क्षेत्रका नदीकिनारका बस्ती प्रभावित भएका छन् । 

अहिलेसम्मका दृश्य हेर्दा बढी पानी परेकाले खहरे, खोला या नदी बढेर आएको बाढी मात्र यो विनाशको कारण देखिन्न । बरु, पहिरो यस्तो विनाशलीलाको मुहानमा देखिन्छ । डुबेका या भत्केका बस्ती र घरहरूमा बस्ने सयौँ मानिस तत्काल वासको खोजीमा होलान् र दीर्घकालका लागि उनीहरूलाई गाँस र वास दुवैको समस्या पर्ला । यो बाढी र पहिरोको कारण र प्रभाव हेर्दा दुईवटा मुख्य पक्ष देखा पर्छन् । पहिलो, हाम्रा कतिपय बस्ती जोखिमयुक्त क्षेत्रमा छन् । वनविनाश, भूसतहको भौगर्भिक अवस्था, भूक्षयको शृंखलाजस्ता पक्षले बस्तीलाई जोखिममा पारेका छन् । भूकम्पको प्रभावले हल्लेको जमिनको सतह कमसल र चिरा परेको छ । यसैगरी पछिल्लो समय विस्तारित सडक सञ्जालका कारण पनि यस्तो भूक्षयको खतरा बढेको छ । दोस्रो, जीविकाका परम्परागत साधन र स्रोतमा आश्रित परिवार यस्तो जोखिम थाहा हुँदा पनि बसाइँ सरेर सुरक्षित ठाउँमा जान सक्दैनन् । यता पछिल्लो समय कृषिमा आधारित परम्परागत बस्तीमा छरिएका परिवार गैरकृषि पेसाप्रति आकर्षित भएर या सडक पहुँचको खोजी गर्दै सकेसम्म बजारमा झर्ने प्रयासमा छन् । तिनले सडक छेउछाउ हुँदै ससाना पसल, होटेल, खाजाघर चलाउन सहरबजारका किनारमा भिरपाखो या नदीकिनारमा जोखिम उठाएरै घर या झुपडी बनाउने गरेका छन् । यस्ता दुवैथरि परिवार बाढी र पहिरोका जोखिममा छन् । 

हामी वर्षैपिच्छे बाढी र पहिरोका कारण हुने धनजनको क्षतिको हिसाब गर्न, उद्धार, राहत र पुनस्र्थापनाका पूरा नहुने प्रतिबद्धता र आश्वासनको राजनीति व्यहोर्न बाध्य छौँ । कसैलाई पनि नयाँ घर बनाउँदा सम्बन्धित निकायले जोखिम मूल्यांकन गरेर बस्न हुने ठाउँमा मात्र अनुमति दिने, बस्तीका लागि निश्चित क्षेत्र तोक्ने र भूक्षय बढाउने मानवीय क्रियाकलापमा रोक लगाउने गरेर मात्र यस्तो क्षतिबाट बच्न सकिन्छ । अझै पनि योजनाबद्ध, व्यवस्थित र भरपर्दो बस्ती विकासको दिशामा अघि नबढ्ने हो भने हामी हरेक वर्ष बाढीले बगाएका र पहिरोले पुरिएका मानिसको संख्या गन्ने र दुईचार दिन दुःख मनाउने कार्यमै सीमित हुनेछौँ ।