मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कमल खत्री म्याग्दी
२०७८ असार २ बुधबार १२:२७:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

म्याग्दीमा बाढीको वितण्डा : सहर बन्यो बगर (फोटोफिचर)

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७८ असार २ बुधबार १२:२७:००

केही दिनयता परिरहेको लगातारको वर्षाका कारण म्याग्दीमा बाढी, पहिरोको कारण जनजीवन प्रभावित बनेको छ । सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी र म्याग्दी नदीको बहाब बढेर बजार र बस्तीतर्फ कटान सुरु भएको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ । नदीको किनार नजीक रहेको जेसिज भवनदेखि करिब एक सय मिटरमाथिसम्मको तटबन्धन नदी कटानका कारण भत्किएको छ । नदीले तटबन्ध भत्काएसँगै बजारतर्फ कटान गर्ने जोखिम बढेको छ । 

कालीगण्डकी नदीको कटानसँगै बेनी बजारको अस्पतालचोक, कालिपुललगायतका क्षेत्र बाढीको चपेटामा परेका छन् । बजारमाथि अर्थुंगे गाउँबाट झरेको बाढीले सहज निकास नपाएपछि अस्पतालचोक र कालिपुल क्षेत्रको सडक र बसपार्क बाढीले पुरिएको छ । 

बाढीले बसपार्क क्षेत्रमा पार्किङ गरेर राखेका सवारीसाधनहरूमा समेत क्षति पुर्‍याउन थालेको छ । बेनी बजारसँगै मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारसमेत नदी कटानको जोखिममा परेको छ । म्याग्दी नदीले बजार संरक्षणक लागि बनाएको तटबन्ध भत्काएर बजारतर्फ कटान गर्न थालेपछि बजार जोखिममा परेको छ । जिल्लाको सिंगा तातोपानी, गलेश्वर, पोखरेबगर, भुरुङ तातोपानीलगायतका नदीका तटीय क्षेत्रका बजार र बस्तीहरु नदी कटानको जोखिममा छन् । 

म्याग्दीमा वर्षाका कारण बाढी र पहिरोले सबै सडकहरू पूर्ण रूपमा बन्द भएका छन् । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मलढुंगा, बेनी–बागलुंगा, बेनी–जोमसोम सडक अवरुद्ध भएका छन् । पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मंगला गाउँपालिकाको तल्लो डडुवामा पहिरोबाट घरहरूमा क्षति पुगेको छ ।

पहिरोबाट अन्नपूर्ण ५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बेनी–२ बगरफाँटमा नौ र वडा नं ८ सल्लेरीमा चार घरपरिवार विस्थापित भएका छन् । यसैगरी बेनी–४ डाँडाखेतमा तीन परिवार विस्थापित भएका छन् । मङ्गला गाउँपालिका–२ तल्लो डडुवा (कुकुर बिसौना)मा पहिरोले कृष्णबहादुर दर्जीको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर भत्किएको छ । 

वर्षा नरोकिएको र नदीमा बहाब बढ्ने क्रम जारी रहेकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । नदीको तटीय क्षेत्रसँगै बाढी र पहिरोको जोखिममा रहेका स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरिएको र प्रकोपका सुचनाहरू सम्बन्धित निकायमा तत्काल दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए ।